सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
म सक्छु

ईखले सगरमाथाको चुचुरोमा पुगेकी निमा

‘मैले आफ्नो यही बेहोराले उचाइलाई हराएकी छु’
मङ्गलबार, २७ चैत २०८०, १२ : १८
मङ्गलबार, २७ चैत २०८०

‘अझै कति समय लाग्छ, चुचुरोमा पुग्न ?’ सगरमाथा बेस क्याम्पदेखि तीन दिनसम्म हिउँमाथि हिँडेर थाकेकी निमा ल्हामु शेर्पाले आफ्ना माहिलादाइ पेम्बालाई सोधिन् । 

पेम्बाले भने, ‘यही त हो, सगरमाथाको चुचुरो ।’

निमालाई पत्यार लागेन, दाइले ढाँटेजस्तो लाग्यो । 

सगरमाथा ‘क्याम्प २’ मा पुग्दा नै उनी थाकेकी थिइन् । केही आरोहीले पेम्बालाई भनेका थिए, ‘फर्काइदेऊ, निमाले सक्दिनन् ।’ 

उनीहरूले निमाको हितकै लागि भनेका थिए तर निमाले ईख लिइन् । ईख लिएकै कारण यी नकारात्मक शब्दले उनलाई सकारात्मक ऊर्जा दिए । 

IMG_5088

‘आई बिट अल्टिच्युड विद दिस एट्टिच्युड । अर्थात्, मैले आफ्नो यही बेहोराले उचाइलाई हराएकी छु,’ त्यो प्रतिकूल समयमा आफूले लिएको सङ्कल्प सम्झन्छिन् निमा, ‘पेम्बा दाइलाई अरूले दिएको सुझावले म हर्ट भएँ र जसरी पनि शिखरमा पुग्ने अठोट गरेँ ।’

उनले यति ईख र अठोट लिएकी रहिछन्, सगरमाथाको चुचुरोमा पाइला राखिसकेको पनि पत्तै पाइनन् ।

‘यही त हो सगरमाथाको चुचुरो !’ त्यो घमाइलो बिहानमा दाइका मुखबाट निस्केको यस वाक्यले उनलाई झसङ्ग बनायो, एउटा बेग्लै खुसीको दुनियाँमा पुर्‍यायो । 

‘वरिपरि हेरेँ, शिखरहरू मात्रै थिए,’ मुहारमा जिज्ञासुभाव झल्काउँदै निमा भन्छिन्, ‘मैले आफैँसँग प्रश्न गरेकी थिएँ— मान्छेहरू यहीँ आउन ज्यानको बाजी थाप्छन् ! यही हो इभरेस्ट ?’

उनले यति सोच्दा नसोच्दै उनका दुई दाइहरू र एक चिनियाँ नागरिकले आ–आफ्नो साथमा लगेको झन्डा र ब्यानर फहराउन थाले । उनले पनि आफ्नो देशको झन्डा फहराइन्, यही नै उनको आजसम्मकै सबैभन्दा खुसीको क्षण हो । 

IMG_4846

‘हामी करिब १० मिनेट त्यहाँ बस्यौँ, फोटोहरू खिच्यौँ । सुरक्षित रूपमा पुगेकामा म निकै खुसी थिएँ,’ शेर्पा लबजमा भन्छिन् निमा, ‘जब त्यहाँ पुग्छ, बाटोमा भएका दुःखहरू सबै बिर्सिन्छ । मैले आमा–दिदीहरूलाई सम्झेँ । त्यसपछि भने मलाई टेन्सन हुन थाल्यो, अब फर्कने कसरी !’

‘खुम्बु आइसफलको यात्रा मेरा लागि सबैभन्दा जोखिमपूर्ण थियो । हिँड्दाहिँड्दै थाकेर मैले पाइला गन्न थालेकी थिएँ । दाइहरूको विश्वासलाई बचाउनु थियो र वर्षौँदेखि दाइहरूले हिँड्दै आएको बाटो पछ्याउनु थियो । त्यसैले गनेरै पाइला चालिरहेँ ।’

हिमालसँग उनको गहिरो नाता र सम्झना गाँसिएको छ, सबैभन्दा दुःख र सबैभन्दा खुसीको । हिमालसँग उनका पितापुर्खाले विभिन्न सङ्घर्ष गर्दै आए । हिमाल चढ्ने क्रममै उनका सबैभन्दा जेठा दाजु (फुर्वा थुन्डु शेर्पा)को निधन भयो । खुसीको कुरा, उनको परिवारबाट मात्रै आठजनाले सर्वोच्च शिखरमा देशको झन्डा फहराइसकेका छन् । 

२०७८ वैशाख २९ गतेको बिहान निमासँगै चारजनाले सर्वोच्च शिखरमा पाइला राखे । दाइहरू (पेम्बा दोर्जे शेर्पा र निमा ग्याजेम शेर्पा), ग्रिस (चिनियाँ नागरिक) र उनले चुचुरोमा पाइला राख्न सफल भएको त्यस आरोहणमा भरियासहित १२ जनाको टोली थियो । निमाको परिवारबाट मात्रै पाँचजना थिए, उनी र चार दाजुहरू । दुई दाजुहरू भने अन्य आरोहीलाई सम्हाल्नुपरेकाले शिखरसम्म पुग्न पाएनन् । 

दोलखाको रोल्वालिङ उपत्यकामा आमा किन्जुम शेर्पा र बुवा छिरिङ नोर्बु शेर्पाको कोखबाट जन्मेकी निमा आठ भाइ छोरा र चार बहिनी छोरीमध्ये कान्छी हुन् । १२ छोराछोरीलाई पालनपोषणका लागि खेतीपातीले नपुग्ने भएपछि उनका बुवाले ‘ट्रेकिङ’सँग सम्बन्धित काम समेत गर्थे । पछि उनका दाजुहरूले ‘ट्रेकिङ’लाई व्यवसाय बनाए । यतिखेर उनका पाँच दाइहरू ट्रेकिङ व्यवसायमा सफल छन् । 

निमालाई सानैदेखि जिज्ञासा हुन्थ्यो— दाइहरू कसरी हिमाल चढ्छन् ? 

कुनै दिन आफैँले सगरमाथाको चुचुरोमा पाइला राखौँला भनी उनले सोच्न भ्याएकी थिइनन् । एक दिन उनलाई दाइ पेम्बाले सोधे, ‘सगरमाथा चढ्छ्यौ ?’ 

20210507_132118

दाइले यसो भन्दा उनलाई सपनाजस्तै लागेको थियो । काठमाडौँमा स्नातक पढ्दै गरेकी, जीवनको २०औँ वसन्तमा हिँड्दै गरेकी निमालाई घरीघरी अनेक सपना र रहरले जिस्क्याइरहन्थे । यही बेला उनको मनमा दाइले सपनाको बीज छरेका थिए । सगरमाथाको जोखिमपूर्ण र रोमाञ्चकारी आरोहण सम्झेरै उनी उत्साहित हुन थालिन् । यो उनका लागि ठुलो अवसर र चुनौती दुवै थियो । 

‘आई बिट अल्टिच्युड विद दिस एट्टिच्युड,’ त्यो प्रतिकूल समयमा आफूले लिएको सङ्कल्प सम्झन्छिन् उनी, ‘पेम्बा दाइलाई अरूले दिएको सुझावले म हर्ट भएँ र जसरी पनि शिखरमा पुग्ने अठोट गरेँ ।’

त्यसको एक महिनापछि अर्थात् २०७७ चैत २७ गते उनी लुक्ला एयरपोर्ट पुगिन्; त्यसपछि उनको तालिम सुरु भयो । 

हिमाल चढ्न कस्तो तयारी चाहिन्छ त ? यस प्रश्नमा उनको सटीक जवाफ छ— सबैभन्दा पहिले त म सक्छु भन्ने आत्मविश्वास हुनुपर्‍यो । 

उनले आफ््ना दाइ पेम्बाको कथनलाई मन्त्र बनाएकी रहिछन् । ‘दाइले भन्नुभयो— हिमाल आरोहणमा तीन एस एकदमै महत्त्वपूर्ण हुन्छन्— सेफ्टी (सुरक्षित), सेटिसफेक्सन (सन्तुष्टि) र सेकुरिटी (सुरक्षा),’ उनी भन्छिन्, ‘अर्को कुरा हिमालको प्रकृतिलाई बुझेको हुनुपर्छ । हिमालको स्वभावलाई नबुझी हिमाल चढ्न सकिँदैन ।’

सुरुमा उनलाई दाइहरूले एक महिनाजति ‘हाइकिङ’, ‘आइस क्लाइम्बिङ’जस्ता अभ्यास गराए । अभ्यासका क्रममै उनले २०७८ वैशाख ८ गते ६,११९ मिटर अग्लो ‘लोबुचे पिक’को सफल आरोहण गरिन् । यस आरोहणमा उनलाई ‘अल्टिच्युड सिकनेस’ भयो ।

३५०० मिटर उचाइको क्षेत्रमा जन्मे–हुर्केकी उनलाई ५००० मिटरदेखि माथि लागेपछि टाउको दुख्न, रिँगटा लाग्न र बान्ता हुन थालेको थियो । यो समस्याको सामना गरेपछि उनीमा थप आत्मविश्वास बढ्यो । 

सगरमाथाको शिखरसम्म पुग्न चारवटा क्याम्प निर्धारण गरिएको छ । निमाका अनुसार, ‘अल्टिच्युड सिकनेस’को सामना गर्न प्रायः आरोहीले बेस क्याम्पबाट क्याम्प १, २ र ३ सम्म पुगेर फर्कने गर्छन् । ‘तर मैले यस्तो अभ्यास गरिनँ, सिधै सगरमाथाको आरोहण गरेँ,’ उनी भन्छिन्, ‘लोबुचे चढेकाले मलाई सजिलो भयो ।’ 

वैशाख २६ गते रातको साढे १ बजे उनीहरूले सगरमाथा बेस क्याम्पबाट आरोहण आरम्भ गरेका थिए । उनका अनुसार, त्यहाँदेखि क्याम्प २ सम्म पुग्न रातमै यात्रा गर्नुपर्छ । किनभने बिचमा ‘खुम्बु आइसफल’ छ । दिनमा यात्रा गर्दा घाम र हावाहुरीका कारण यहाँ हिउँ पग्लने र बग्ने जोखिम बढ्छ ।

‘खुम्बु आइसफल’ पार गर्दा उनलाई फर्कन मन नलागेको होइन, दाइहरूले पटकपटक हिमाल आरोहण गरेको सम्झिइन् र हिम्मत जुटाइन् । ‘खुम्बु आइसफलको यात्रा मेरा लागि सबैभन्दा जोखिमपूर्ण थियो । हिँड्दाहिँड्दै थाकेर मैले पाइला गन्न थालेकी थिएँ,’ निमा त्यो सकसपूर्ण क्षण र आफ्नो अठोट सम्झन्छिन्, ‘दाइहरूको विश्वासलाई बचाउनु थियो र वर्षौँदेखि दाइहरूले हिँड्दै आएको बाटो पछ्याउनु थियो । त्यसैले गनेरै पाइला चालिरहेँ ।’

क्याम्प १ मा नबसी एकैपटक उनीहरू क्याम्प २ मा पुगेका थिए, उनी बेसरी थाकेकी थिइन्, उनको अवस्था देखेरै केही आरोहीले उनलाई फर्कन सुझाएका थिए ।

IMG_20210427_183550_983 (1)

क्याम्प २ बाट बिहानको साढे ६ बजे उनीहरू अगाडि बढे । दिनको यात्रा भएकाले उनलाई ‘क्याम्प ३’ मा पुग्न त्यति सकस महसुस भएन । त्यहाँ एक रात बास बसेर बिहान ६–७ बजेतिर अगाडि बढेका उनीहरू साँझ ५–६ बजेतिर क्याम्प ४ मा पुगे । त्यहाँ एक रात बास बस्ने कुरा थियो । 

लगातारको आरोहणले थाकेका उनीहरूका निम्ति आराम जरुरी थियो । तर सुत्न लागेका बेला अचानक पेम्बा आएर भने, ‘अहिले नै शिखरतर्फ जानुपर्छ, तयार होऊ ।

दाइले यसो भनेपछि उनी सम्झेरै आत्तिइन्, उनीसँगै रहेकी चीनकी साथी त रुन थालिन् । भोलि मौसम बिग्रने आकलन गरेर पेम्बाले रातारात शिखरतर्फको यात्रा गर्ने निर्णय गरेका थिए । नचाहेरै पनि उनीहरू अगाडि बढ्नैपर्थ्यो  । 

साँझको ७ बजेतिर हिँडेका उनीहरूले भोलिपल्ट बिहान ५ बजेतिर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला राखे । रातको यात्रा भएकाले यो बिचमा निमाले वरपरका दृश्य नियाल्न पाइनन् । हिउँमाथि कसरी पाइला चाल्ने भन्नेमै उनको ध्यान केन्द्रित थियो । 

उनीहरू सुरक्षित रूपमा क्याम्प ४ मा फर्के । उनीहरू फर्केलगत्तै मौसम बिग्रियो । 

IMG_5059

निमा आफ्नै लबजमा भन्छिन्, ‘हामी लक्की थियो । क्याम्प ४ मा फर्किसकेपछि हिउँ पर्‍यो, हावा चल्यो । जे होस्, हाम्रो आरोहण सफल भयो ।’

सगरमाथाको चुचुरो यस्तो ठाउँ हो, जहाँ पुग्न मात्रै होइन, फर्कन पनि कठिन छ तर सफल आरोहणपछि मनोबल बढ्ने निमाले अनुभव गरेकी छन् । 

‘चुचुरोमा ५–१० मिनेटको बसाइले सोच नै परिवर्तन हुने रहेछ,’ उनी भन्छिन्, ‘साह्रै दुःखकष्ट गरी संसारकै उच्च स्थानमा पुगेपछि मनोबल नै अर्कै भएको छ । त्यत्रो दुःख गरेँ, अब हरेक दुःखसँग लड्न सक्छु भन्ने हुँदो रहेछ ।’

अब उनको एक मात्र लक्ष्य छ— देश तथा विदेशका थुप्रै अग्ला हिमाल चढ्ने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप