बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र ‘मेयर’का मेयरविरुद्ध भ्रष्टाचार मुद्दा : अब के होला फिल्म ?

बुधबार, २८ चैत २०८०, १५ : ५१
बुधबार, २८ चैत २०८०

काठमाडौँ । दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म हो ‘मेयर’ । सर्लाहीको बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन सङ्घर्षलाई आधार मानेर फिल्म निर्माण हुन लागेको हो ।

गत फागुनबाट छायाङ्कन सुरु भएको फिल्म सर्लाहीमा छायाङ्कनरत छ । मेयर थापाको कथा भएकोले फिल्मको छायाङ्कन सर्लाहीमा चलिरहेको हो । फिल्मको अझै १०, १५ दिन चल्ने छ ।

तर, मेयर थापाको कथामा फिल्म निर्माण भइरहँदा उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । थापाको पाँच करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ ६६ सम्पत्तिको स्रोत नखुलेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

मेयर थापाको विषयमा फिल्म छायाङ्कन भइरहँदा थापा बिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि फिल्म मेयर अब बन्छ वा बन्दैन ? यो सबैको चासोको विषय हो ।

मेयर थापा विरुद्ध दायर भ्रष्टाचार मुद्दाले फिल्म निर्माण नरोकिने निर्देशक दीपेन्द्र के खनालले बताए । मेयरको यस अगाडि पनि धेरै मुद्दा भएको त्यसले फिल्मलाई केही असर नगर्ने खनालको भनाइ छ ।

‘हामीले राम्रो कथा देखेकाले भन्नुपर्छ भनेर फिल्म बनाएको हो । यस अगाडि पनि धेरै परेको छ भन्ने सुनेको थिएँ’, निर्देशक खनालले भने, ‘त्यसमा दोषी भए कारबाही होला । नभए सफाइ होला ।’ उनी कानुनी झमेलामा फस्दैमा फिल्म भने नरोकिने खनालले सुनाए । ‘उहाँको यस अगाडि पनि धेरै अक्तियारमा मुद्दा परेको रहेछ । त्यो विषय फिल्ममै राखेका छौँ,’ खनालले थपे ।

फिल्ममा अभिनेता खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन् । फिल्ममा खगेन्द्रको अलावा वर्षा राउत, अनुप बराल, रमेश बुढाथोकी, ऋचा शर्मा, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, अर्विशा थापा, सन्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायत थुप्रै कलाकारले अभिनय गरिरहेका छन् ।

फिल्मबाट श्रृष्टिमाँ खनाल र अर्विशा थापा कलाकारको रुपमा डेब्यु गर्दैछन् ।

फिल्मको कार्यकारी निर्माता पनि निर्देशन दीपेन्द्र के. खनाल नै हुन् । शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल निर्माता रहेको फिल्ममा  पटकथा महेश दवाडीले लेखेका छन् । कृष्ण बहादुर थापाको छायाङ्कन रहने फिल्ममा जयन जे वाइवा र कल्याण सिंहको सङ्गीत रहने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप