मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षित आन्तरिक रोजगारी पहिलो प्राथमिकता : श्रममन्त्री अर्याल

बुधबार, २८ चैत २०८०, १६ : ३७
बुधबार, २८ चैत २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन्। 

डेमोक्रेसी मिडिया नेटवर्कले बुधबार काठमाडौँमा आयोजना गरेको श्रम बजार, आप्रवास र चुनौतीहरू विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले देश बन्नका लागि मुलुकभित्रै रोजगारी सृजना हुनुपर्ने बताएका हुन्। 

रोजगारी सृजना गर्नका लागि निजी क्षेत्रलाई संरक्षण सहित प्रोत्साहन गर्नुपर्ने बताउँदै उनले भने, ‘सरकारले अनुमति दिएर सञ्चालन भएका निजी क्षेत्रलाई सरकारले नै संरक्षण गरी प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुन्छ ।,’ त्यसैले निजी क्षेत्रसँग सहकार्य गरी अगाडी बढ्न मन्त्रालय सधैँ तयार रहेको पनि उनले स्पष्ट पारे। 

त्यस्तै, आन्तरिक रोजगारीका लागि मन्त्रालयले तालिमलाई जोड दिइएको बताए। ‘मन्त्रालय अन्तर्गत भैँसेपाटीमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान छ । जहाँ हामीले ६ महिना भन्दा कम अवधिको भोकेशनल तालिम प्रदान गर्ने योजना बनाएका छौं । त्यस्तै, शिक्षा मन्त्रालय अन्तर्गत रहेको सिटिईभिटीसँग पनि समन्वय गरी हरेकलाई सिप सिकाउनु पर्छ भन्नेमा हामी छौ,’ उनले भने। 

आगामी दिनमा कोही वैदेशिक रोजगारीमा जान चाहन्छ भने पनि सीप सिकेर मात्रै जानुपर्ने अवस्थाको सृजना गर्ने कार्यमा बहस चलाउन सबैलाई आग्रह गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप