बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२०८० लाई फर्केर हेर्दा

२०८० सालमा खेलकुद : एसियाडमा ऐतिहासिक सफलतादेखि पलेशाको अन्तर्राष्ट्रिय उडानसम्म

बिहीबार, २९ चैत २०८०, ०६ : ४०
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । नेपाली खेलकुदका लागि २०८० साल अन्तर्राष्ट्रिय सहभागिता र उपलब्धिको हिसाबले सामान्य रह्यो । क्रिकेट, फुटबल, भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दोजस्ता खेलका नियमित गतिविधिले घरेलु खेलकुदलाई वर्षभरि नै व्यस्त बनाइरह्यो ।

तर, अन्तर्राष्ट्रिय स्तरका ठुला प्रतियोगितामा क्रिकेट, कराँते, एथलेटिक्सजस्ता केही खेलले मात्र देशलाई महत्त्वपूर्ण उपलब्धि दिलाउन सके । यसको विपरीत देशभित्र सुनौलो इतिहास बोक्दै आएको लोकप्रिय खेल फुटबलले वर्षभरि नै समर्थकको मन कुँड्याउने काममात्र गर्यो ।

विगतका वर्षजस्तै यो वर्ष पनि विभिन्न क्लबको सक्रियतामा देशभित्र फुटबलका थुप्रै नकआउट प्रतियोगिता आयोजना भए । तर, यो अवधिमा नेपाली फुटबलले अन्तर्राष्ट्रियस्तरमा गर्व गर्न लायक कुनै उपलब्धि हासिल गर्न सकेन ।

नेपाली फुटबलको नेतृत्वदायी निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारी वर्षभर आपसी विवादमै अल्झिरहे । फुटबल विकासभन्दा पनि एन्फा पदाधिकारी आन्तरिक कलह र एकपछि अर्को साधारणसभा गर्नमै व्यस्त बने ।

एन्फाभित्र आर्थिक अनियमितताको विषयले पनि यो वर्ष निकै चर्चा पायो । आर्थिक अनियमितताको विषयलाई लिएर एन्फा पदाधिकारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी पर्यो ।

वर्षको अन्त्यतिर पुग्दासम्म त युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबिचको जुहारीले पनि नेपाली खेलकुदलाई मजैले ततायो । बहराइनमा सम्पन्न एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोट फुटबलमा अनावश्यक पदाधिकारीलाई भ्रमणमा पठाएको भन्दै मन्त्रालयले एन्फामाथि कानुनी कारबाही गर्न राखेपलाई निर्देशन नै दियो ।

पटक–पटक दोहोरिइरहने यस्ता अप्रिय गतिविधिबाट मन खिन्न पारेका नेपाली खेलकुद समर्थकलाई कराँते खेलाडी एरिका गुरुङले विश्व च्याम्पियनसिपमा जितेको स्वर्ण पदक र एसियाली खेलकुदमा जितेको ऐतिहासिक रजत पदकले भने केही राहत दियो ।

एसियाली खेलकुदमा ऐतिहासिक सफलता
एसियाली खेलकुद प्रतियोगिताको १९औँ संस्करण सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनको हाङ्झोउमा आयोजना भएको थियो । उक्त प्रतियोगितामा नेपालकी कराँते खेलाडी एरिकाले महिला कुमुतेको ६८ केजीभन्दा माथिको तौलसमूहमा रजत पदक हात पारेकी थिइन् । एसियाली खेलकुद प्रतियोगिताको इतिहासमा कुनै पनि नेपाली कराँते खेलाडीले जितेको यो पहिलो रजत पदक हो ।

एरिकाले जितेको पदक एसियाली खेलकुदमा नेपालले हात पारेको तेस्रो रजत पदक पनि हो । नेपालले सन् १९५१ मा भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको छ । त्यस यता नेपालले एसियाली खेलकुदको हरेक संस्करणमा सहभागिता जनाउँदै आएको छ ।

नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउन थालेको ७२ वर्ष बितिसकेको छ । सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले पहिलो पटक नेपालका लागि रजत पदक जितेकी थिइन् ।

त्यसपछि सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेमबाङमा सम्पन्न १८औँ एसियाली खेलकुदमा नेपालको प्याग्लाइडिङ टोलीले रजत पदक जितेको थियो । रजत पदक जित्ने नेपाली प्याराग्लाइडिङ टोलीमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सहभागी थिए ।

चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले पनि ऐतिहासिक कांस्य पदक जितेको थियो । एसियाली खेलकुदको कबड्डीमा नेपालले जितेको यो पहिलो पदक हो । नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुदको पहिलो सहभागितामै पदक जितेको हो ।

नेपाली महिला कबड्डी टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त थिए ।

विश्व सितोरियो कराँतेमा एरिकालाई स्वर्ण
चीनमा एसियाली खेलकुद प्रतियोगिता सुरु हुनुअघि इन्डोनेसियाको राजधानी जकार्तामा १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसिप आयोजना भएको थियो । नेपाली कराँते टोली यही प्रतियोगितामा सहभागी भएर एसियाली खेलकुदमा सहभागी हुन चीन पुगेको थियो ।

सन् २०२३ सेप्टेम्बर २२ देखि २४ तारिखसम्म सम्पन्न विश्व सितोरियो कराँते च्याम्पियनसिपमा नेपाली खेलाडी एरिका गुरुङले स्वर्ण जितेकी थिइन् । सितोरियो कराँतेको विश्व च्याम्पियनसिपमा यसअघि कुनै पनि नेपाली खेलाडीले स्वर्ण पदक जित्न सकेका थिएनन् । त्यसैले नेपालका लागि यो पदक ऐतिहासिक बन्न पुगेको थियो । 

arika

यसैगरी एरिकाले सन् २०२४ को मार्च २६ देखि ३१ तारिखसम्म अमेरिकाको टेक्सासमा सम्पन्न यूएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पनि स्वर्ण र रजत पदक जितेकी थिइन् । उनले महिला ६८ केजीभन्दा माथिको तौलसमूहमा रजत पदक हात पारेकी थिइन् । उनी फाइनलमा अमेरिकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् ।

त्यसअघि उनले यूएसए ओपन इन्टरनेशनल कराँते च्याम्पियनसिपको सोही समूहको यू–२१ एलिट स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् । एरिकाले विश्व सितोरियो कराँते च्याम्पियनसिपमा स्वर्ण, एसियाली खेलकुदमा रजत तथा यूएसए ओपनमा स्वर्ण र रजत पदक जित्दा उनका प्रशिक्षक कुशल श्रेष्ठ थिए ।

पलेशा गोवर्द्धनको अन्तर्राष्ट्रिय उडान

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन यसै वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने पारा ओलम्पिक खेलकुद प्रतियोगितामा छनोट भएकी छन् । चीनमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगितामा स्वर्ण पदक जित्दै पलेशा पेरिस पारा ओलम्पिकमा छनोट भएकी हुन् । उनी पारा ओलम्पिक खेलकुदमा छनोट भएको यो लगातार दोस्रो पटक हो ।

पलेशाले चीनमा जारी एसियाली छनोटमा के ४४ अन्तर्गत महिलातर्फको ५७ केजीभन्दा मुनिको तौलसमूहमा स्वर्ण पदक जितेकी हुन् । उनले फाइनलमा इरानकी खेलाडीलाई हराएकी थिइन् ।

पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् । उनले यसअघि सन् २०२० मा जापानको टोकियोमा सम्पन्न पारा ओलम्पिक पनि खेलेकी थिइन् ।

त्यसअघि पलेशाले एसियाली पारा खेलकुद प्रतियोगितामा ऐतिहासिक पदक पनि जितेकी थिइन् । उनले चीनमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी हुन् । चीनको हाङझावमा जारी एसियाली पारा खेलकुदमा पलेशाले महिला के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौलसमूहमा कांस्य पदक जित्दै इतिहास रचेकी हुन् । पलेशाले एसियाली पारा खेलकुदमा जितेको उक्त कांस्य पदक नेपालकै लागि अहिलेसम्म पहिलो र एकमात्र पदक हो ।

नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करण चीनको ग्वाङझावमा सन् २०१० मा भएको थियो । तेक्वान्दो भने चौथो संस्करणदेखि मात्र समावेश गरिएको हो ।

चीनको हाङझावस्थित एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको क्वार्टरफाइनल खेलमा पलेशाले चीनकी लितिङ याङलाई १४–१ अङ्कले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा भने पलेशा कजाकिस्तानकी कामिल्या दास्मोलोभासंग १६–१० अङ्कले चुकिन् । सेमिफाइनलमा पराजित भए पनि उनले रिपेचेज चरणमा खेल्न पाउने अवसर पाएकी थिइन् । रिपेचेज चरणको पहिलो कांस्य पदक भिडन्तमा पलेशाले बाई पाएपछि कांंस्य पदक निश्चित भएको थियो ।

महिला वाफ च्याम्पियनसिपमा उपविजेता
पश्चिम एसियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको आठौँ संस्करण फेब्रुअरी १९ देखि २९ तारिखसम्म साउदी अरेबियामा सम्पन्न भएको थियो । प्रतियोगितामा नेपालले आमन्त्रित टोलीको रुपमा सहभागिता जनाउने अवसर पाएको थियो ।

समूह ‘बी’ मा परेको नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ गोलले हराएको थियो । दोस्रो खेलमा नेपालले इराकलाई ५–० गोलले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो ।

समूहगत चरणमा नेपाल नौ अङ्कसहित पहिलो र प्यालेस्टाइन ६ अङ्कसहित दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा नेपालले लेबनानलाई २–१ गोलले हराएको थियो । अर्को सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० गोलले पराजित गरेको थियो ।

फाइनलमा भने जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराएको थियो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपालकी प्रभावशाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ फाइनल खेलमा उपस्थित थिइनन् ।

व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्किएकाले सावित्राले फाइनल गुमाउनु परेको थियो । सावित्रा वाफ च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी थिइन् । उनले प्रतियोगितामा कुल ९ गोल गरेकी थिइन् । उनले समूहगत चरणमा प्यालेस्टाइनविरुद्ध २ गोल, इराकविरुद्ध ५ गोल र सिरियाविरुद्ध १ गोल गरेकी थिइन् । उनले सेमिफाइनलमा लेबनानविरुद्ध पनि १ गोल गरेकी थिइन् ।  

विश्वकप छनोट फुटबलमा निराशाजनक प्रदर्शन
नेपाली फुटबलको नेतृत्वदायी निकाय अखिल नेपाल फुटबल संघका पदाधिकारीहरू आपसी विवादमै अल्झिरहँदा यस वर्ष खेलिएको फिफा विश्वकप छनोट फुटबलमा नेपाली टोलीले निराशाजनक प्रदर्शन गर्यो ।

foodball nepal

एसियाली क्षेत्रको विश्वकप छनोट फुटबलको दोस्रो चरणको खेलमा नेपालले चारमध्ये एक खेल पनि जित्न सकेन । छनोट चरणको पहिलो खेलमा नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग ०–४ गोलले पराजित भएको थियो । उक्त खेल यूएईको घरेलु मैदानमा खेलिएको थियो ।

यसैगरी विश्वकप छनोटको दोस्रो खेलमा पनि नेपाली टोली यमनसँग ०–२ गोलले पराजित भएको थियो । उक्त खेल दशरथ रङ्गशालामा खेलिएको थियो । त्यसपछि नेपालले तेस्रो र चौथो खेल बहराइनको घरेलु मैदानमा खेलेको थियो ।

यमनविरुद्धको पहिलो खेलमा नेपाली टोली ५–० गोलले पराजित भएको थियो । बहराइनले दोस्रो खेलमा पनि नेपाली टोलीलाई ३–० गोलले हराएको थियो । बहराइनविरुद्धको एउटा खेल नेपालले घरेलु मैदान दशरथ रङ्गशालामा खेल्नु पर्ने थियो । तर, दशरथ रङ्गशालाको अवस्था सन्तोषजनक नरहेको भन्दै एन्फाले दोस्रो खेल पनि बहराइनकै घरेलु मैदानमा खेल्न सहमति जनाएको थियो ।

दोस्रो चरणको विश्वकप छनोटमा अब नेपालले दुई खेल खेल्न बाँकी छ । तर, नेपाली टोली छनोट प्रतियोगिताको तेस्रो चरणमा पुग्ने सम्भावना भने समाप्त भइसकेको छ । समूह ‘एच’ मा रहेका चारवटै टोलीले चार–चार खेल खेलिसक्दा शून्य अङ्कसहित नेपाल चौथो स्थानमा छ ।

लगातार चार खेलमा विजयी भएको यूएई विश्वकप छनोटको तेस्रो चरणमा पुगिसकेको छ । चारमध्ये तीन खेलमा जित हात पारेको बहराइन नौ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । चारमध्ये एक खेलमा जित हात पारेको यमन तीन अङ्कसहित तेस्रो स्थानमा छ । प्रत्येक समूहबाट दुई–दुई टोली छनोट प्रतियोगिताको तेस्रो चरणमा पुग्ने प्रावधान छ ।

यू–१६ साफ च्याम्पियनसिपमा खराब प्रदर्शन
यसै वर्ष घरेलु मैदानमा आयोजना भएको साफ यु–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले निराशाजनक प्रदर्शन ग¥यो । प्रतियोगिताको उपाधि भने बंगलादेशले जितेको थियो । एन्फा कम्प्लेक्स मैदानमा खेलिएको फाइनल खेलमा बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराएको थियो ।

समूहग चरणको खेलमा बंगलादेश पहिलो र भारत दोस्रो हुँदै प्रतियोगिताको फाइनलमा पुगेका थिए । घरेलु टोली नेपाल र भुटान भने समूहगत चरणबाटै बाहिरिएका थिए । समूहगत चरणको खेलमा बंगलादेशले तीन वटै खेलमा जित हात पारेको थियो ।

nepal-u16-women-football-team

आफ्नो पहिलो खेलमा बंगलादेशले घरेलु टोली नेपालमाथि २–० गोलको जित हासिल गरेका थियो । दोस्रो खेलमा बंगलादेशले भारतलाई ३–१ गोलले पराजित गरेको थियो । बंगलादेशले आफ्नो तेस्रो खेलमा भुटानमाथि ६–० गोलको सजिलो जित हासिल गरेको थियो ।

भारत भने समूहगत चरणमा तीनमध्ये दुई खेल जित्दै फाइनलमा पुगेको हो । भारतले समूहगत चरणको आफ्नो पहिलो खेलमा भुटानलाई ७–० गोलले पराजित गरेको थियो । अर्को खेलमा भारतले नेपाललाई १०–० गोलको फराकिलो अन्तरले हराएको थियो ।

घरेलु टोली नेपालले भने प्रतियोगिताको समूहगत चरणमा एक खेलमात्र जित्न सक्यो । नेपाली टोलीले भुटानलाई ३–० गोलले हराएको थियो । भुटान भने समूहगत चरणमा आफूले खेलेको तीन वटै खेलमा पराजित भएको थियो ।

बंगलादेशमा सन्तोषीलाई स्वर्ण
यसै वर्ष नेपाली एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले बंगलादेशको राजधानी ढाकामा सम्पन्न ‘बंगबन्धु शेख मजिब ढाका इन्टरनेसनल म्याराथन’ मा स्वर्ण पदक जितिन् । उनले म्याराथनको पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण पदक हात पारेकी हुन् ।

उक्त म्याराथनको दक्षिण एसियाली विधाको महिलातर्फ सन्तोषी पहिलो भएकी थिइन् । उनले निर्धारित दूरी दुई घण्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गरेकी थिइन् । सन्तोषी १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता खेलाडी पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप