आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘ठमेल र दरबारमार्गमा त्रुटिरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ’

शुक्रबार, ३० चैत २०८०, १९ : ००
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । नयाँ वर्षको सुरुवातदेखि २४ सै घन्टा खुला गर्न लागिएको ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन त्रुटिरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले बताएको छ ।  

शुक्रबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले २०८१ साल वैशाख १ गतेदेखि काठमाडौँ जिल्लाको ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन समयमा समेत व्यवसाय सञ्चालन गर्नेगरी खुला गर्ने तयारी गरेकाले सोही अनुसारको सुरक्षा व्यवस्था मजबुत बनाइएको बताए । उनले जिल्ला सुरक्षा समितिले रात्रिकालिन समयमा मनोरञ्जनात्मक व्यवसायहरूको लागि विभिन्न समय तोकेर खुला राखेको स्थिति रहेपनि अब सबै किसिमका व्यवसायहरू सञ्चालन गर्नेगरी बजार नै खुला राख्ने बताए । 

प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसाय सञ्चालनका लागि पूर्ण समय व्यवसाय सञ्चालन गर्ने सम्बन्धी आचारसंहिता तथा मापदण्ड, २०८० स्वीकृत गरेको बताए । उनले आचारसंहितामा व्यवसायीहरूको पालना गर्नुपर्ने आचारसंहिता, उपभोक्ताहरूले पालना गर्नुपर्ने आचारसंहिता, त्यहाँ कार्यरत श्रमिकहरूले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाहरूको अधिकार र दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रियाहरू उल्लेख गरिएको बताए । उनले र विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित बनाइने बताए । उनले ठमेल क्षेत्रभित्र व्यावसायिक मात्रै नभई स्थानीयहरूको बसोबास रहेको क्षेत्र पनि भएकाले स्थानीय बासिन्दाहरूको अवसरलाई समेत असर नपर्नेगरी व्यवस्था मिलाइएको बताए ।  

रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने साउण्ड पोलुसनलाई व्यवस्थित गर्ने, पूर्ण साउण्ड पोलुसन हुन नदिने गरी व्यवस्था मिलाउने, खुला स्थानमा लाइभ म्युजिक गरेर मनोरञ्जनात्मक कार्यक्रमसहितका व्यवसाय निश्चित समयसम्मको लागि मात्रै लाइभ म्युजिक सञ्चालन गर्न पाउने र म्युजिक बन्द गरेर व्यवसाय सञ्चालन गर्नेकुरा आचारसंहितामा राखेको उनले बताए । उनले स्थानीयहरूले ध्वनि प्रदूषणको कुरा उठाएको भन्दै सो क्षेत्र भित्रको भगवान् बहालमा स्थानीयको बढी बसोबास भएकाले उक्त क्षेत्रलाई रात्रिकालीन पूर्ण रूपमा सञ्चालन गर्ने क्षेत्रबाट टाढा राख्ने बताए ।

उनले ठमेल र दरबारमार्ग क्षेत्रमा व्यवसाय खुला रहेको ठाउँमा प्रयोग गर्नका लागि अहिले प्रयोगमा रहेको शौचालयलाई निश्चित संकेत दिएर सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्नेगरी व्यवस्था गर्न लागिएको बताए । रात्रिकालीन समयमा यातायातको साधनहरू अभाव हुने र बजारबाट फर्किन्का लागि समस्या हुनेकुरालाई मध्यनजर गरी नगरबस, ट्याक्सी, अनलाइन सवारी साधन सञ्चालन गर्ने विषयमा गम्भीर भएर व्यवस्थापनमा लागेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप