सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा १२ हजार विद्यार्थी भर्ना लिन सकिने

वैशाख २ देखि ७ गतेसम्म विद्यार्थी भर्ना कार्यक्रम
शुक्रबार, ३० चैत २०८०, १९ : ४१
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा आगामी शैक्षिक शत्रमा १२ हजारभन्दा बढी विद्यार्थी भर्ना लिन सकिने भएको छ । महानगरभित्रका ८७ वटा सामुदायिक विद्यालयहरूमा २०८१ शैक्षिक सत्रमा हालको भन्दा १२ हजार ८० थप विद्यार्थी भर्ना गर्न सकिने भएको हो ।

नयाँ शैक्षिक सत्रमा प्रारम्भिक बाल विकासदेखि कक्षा १० सम्म ४७ हजार ६९४ विद्यार्थी अध्ययन गराउन सकिनेगरी क्षमता विस्तार भएको हो ।

सामुदायिक विद्यालयको सङ्ख्या ८९ हो । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ । यीमध्ये ३ वटा कारागारभित्र छन् । ४ वटा विशेष विद्यालय हुन् । एउटा रात्रि विद्यालय र एउटा संस्कृत छन् । रात्रि र संस्कृत विद्यालयमा कक्षा ६ देखि मात्र भर्ना गर्ने गरिएको छ । गएको शैक्षिक सत्र २०८० मा करिब ३९ हजार ९५२ जना विद्यार्थीले अध्ययन गरे । यस वर्ष प्रारम्भिक बाल विकास कक्षाहरूमा ५ हजार ५१४ जना, कक्षा १ देखि कक्षा ९ सम्म थप ६ हजार ५६६ जना गरी १२ हजार ८० जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ ।

विद्यालयमा उपलब्ध भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको सङ्ख्यालगायत सूचकका आधारमा विद्यालयहरूबाट माग गरिएको विवरणका आधारमा यो क्षमता निर्धारण गरिएको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले बताए । 

पूर्व प्राथमिक बाल विकास कक्षामा २०८० को शैक्षिक सत्रमा ४ हजार ९२५ जना विद्यार्थीहरूले अध्ययन गरे । यस कक्षामा ५ हजार ५१४ जना विद्यार्थीलाई भर्ना लिने क्षमता छ । गएको वर्ष क्षमतामा पुग्न ७९४ जना कम विद्यार्थी भर्ना भए । यी क्षमतालाई पूर्ण बनाउने यस वर्ष प्रयास हुनेछ । 

३ हजार ४२९ जना विद्यार्थी अध्ययन गर्ने क्षमतामा गएको वर्ष कक्षा १ मा २ हजार ६५३ जना विद्यार्थीले अध्ययन गरे । यस कक्षको पूर्ण क्षमताका लागि चालु शैक्षिक सत्रमा थप ७७६ जना विद्यार्थी भर्ना हुनुपर्छ ।

गएको वर्ष २ हजार ५७८ जना विद्यार्थीले अध्ययन गरेको कक्षा २ को क्षमता ३ हजार ३२७ जनाको हो । यो कक्षामा शैक्षिक सत्र २०८१ मा ७४९ जना थप विद्यार्थी भर्ना गर्नुपर्छ ।

२ हजार ६४३ जनाले गएको वर्ष कक्षा ३ मा अध्ययन गरेका थिए । यो कक्षाको क्षमता ३ हजार ३५९ जना हो । कक्षाको पूर्ण क्षमताका प्रयोग गर्न चालु शैक्षिक सत्रमा ७१६ ले बढी विद्यार्थी भर्ना गर्नुपर्छ ।

कक्षा ४ मा गएको वर्ष २ हजार ९६१ जना विद्यार्थीले अध्ययन गरेका थिए । यो कक्षाको क्षमता ३ हजार ६ सय हो । यो कक्षामा ६३९ जना थप विद्यार्थी भर्ना गर्नुपर्छ ।

कक्षा ५ को क्षमता ३ हजार ८ सय हो । गएको वर्ष यस कक्षामा ३ हजार १४४ विद्यार्थीले अध्ययन गरेका थिए । यस कक्षामा थप ६५६ जना विद्यार्थी भर्ना लिन सकिन्छ ।

गएको वर्ष ३ हजार ५४२ जना विद्यार्थीले अध्ययन गरेको कक्षा ६ को क्षमता ४ हजार ४०५ जनाको हो । यस कक्षामा ८६३ जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ ।

कक्षा ७ को क्षमता ४ हजार ५३८ जनाको हो । यस कक्षामा गएको शैक्षिक सत्रमा ३ हजार ९४४ विद्यार्थीले अध्ययन गरेका थिए । यो वर्ष थप ५९४ जना विद्यार्थी भर्ना हुँदा कक्षा पूर्ण क्षमताको हुन्छ ।

कक्षा ८ को क्षमता ५ हजार २१० जना विद्यार्थीको हो । यस कक्षामा गएको वर्ष ४ हजार ६५१ जना विद्यार्थीले अध्ययन गरेका थिए । यस कक्षामा ५५९ जना थप विद्यार्थीको भर्ना गर्न सकिन्छ ।

कक्षा ९ मा गएको वर्ष ४ हजार ९५८ जना विद्यार्थीले अध्ययन गरेका थिए । यस कक्षाको क्षमता ५ हजार २५६ जनाको हो । यस वर्ष २९८ जना थप विद्यार्थी भर्ना गरे कक्षा पूर्ण क्षमतामा उपयोग हुनेछ ।

कक्षा १० मा गएको वर्ष ३ हजार ९५३ जना विद्यार्थीले अध्ययन गरेका थिए ।

शैक्षिक सत्र २०८१ भर्ना अभियान

शैक्षिक सत्र २०८१ का लागि महानगरपालिकाले वैशाख २ गतेदेखि ७ गतेसम्म ‘करले होइन रहरमा – हाम्रा बालबालिका सामुदायिक विद्यालयमा’ र ‘शैक्षिक रूपान्तरण अभियानमा सिर्जनात्मक सिकाइ, सामुदायिक विद्यालय अभिभावकको पहिलो रोजाइ’ नारासहित भर्ना अभियान गर्ने भएको छ । वैशाख ९ गतेबाट कक्षा सञ्चालन हुनेछन् । शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलकाअनुसार भर्ना अगाडि विद्यालयहरूमा पुस्तक, विद्यालय भवन तथा कक्षा कोठाहरूको मर्मत, प्रयोगशालाहरूको व्यवस्थापनका काम भइरहेका छन् ।

शैक्षिक गुणस्तर सुधारका लागि सिकारुहरूलाई तयार र स्वतःस्फूर्त रूपमा सिक्ने क्रियाकलापप्रति लाग्ने वातावरणका लागि महानगरपालिकाले भौतिक संरचनाको सुधार, प्रयोगशालाहरूको उपलब्धता, दिवा खाजाको व्यवस्था गरेको छ । विद्यालय नर्स कार्यक्रमबाट स्वास्थ्य आचरण सुधार तथा विद्यालयमै प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।

प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ हुनेछ । हरेक शुक्रबार ‘पुस्तकरहित’ कार्यक्रमअन्तर्गत कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ क्रियाकलाप हुनेछन् । कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम नियमित हुनेछन् । विद्यालयका क्रियाकलापहरूलाई सीसीटिभी क्यामराबाट निगरानी गरिनेछ । कक्षा कोठाहरूमा स्मार्ट बोर्डबाट सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप गरिनेछ ।

शिक्षकको क्षमता बढाउन शिक्षक तालिम सञ्चालन भएका छन् । सहरी योजना आयोगका झाका अनुसार शैक्षिक सुधारका लागि लगानी बढाउँदै लगिएको छ । यस वर्षका लागि करिब २ अर्ब ७५ करोड रुपैयाँ विनियोजित छ । यसमा नियमित ९२ करोड २९ लाख रुपैयाँ, ५० करोड शिक्षातर्फका महानगर गौरव योजनाका लागि, ५ करोड रुपैयाँ स्वर्णिम योजनाका लागि १ अर्ब ४७ करोड आन्तरिकतर्फ र सङ्घबाट प्राप्त हुने १ अर्ब २७ करोड रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप