मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

गर्मी लागेसँगै कर्णालीमा आगलागीको जोखिम बढ्यो

प्रदेशभरका ४० सामुदायिक वनमा डढेलो
सोमबार, ०३ वैशाख २०८१, १४ : ४८
सोमबार, ०३ वैशाख २०८१

सुर्खेत । गर्मी सिजन लागेसँगै कर्णालीमा आगलागीका घटना बढ्न थालेका छन् । गाउँघरमा आगलागीदेखि लिएर वनमा डढेलो लागेर क्षति भइरहेको छ । गत बिहीबार डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–४,रङ्गु बस्तीका तीन जना बालकको सामुदायिक वनमा लागेको डढेलोका कारण मृत्यु भयो । च्याउ टिप्न गएका उनीहरू डढेलोको चपेटामा परेका थिए ।

गत मंगलबार डोल्पाकै ठुलोभेरी नगरपालिका–४, को मष्टा सामुदायिक वनमा लागेको आगलागीका कारण तीन जना नेपाली सैनिकको मृत्यु भयो । आगो नियन्त्रणमा खटिएका उनीहरूको जलेर मृत्यु भएको हो ।

कर्णालीमा फागुन यता ७ र एक सातामा ६ जनाले आगलागीमा परी ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार फागुन यता प्रदेशभरका ४० वटा राष्ट्रिय तथा सामुदायिक वन÷जङ्गल आगलागीबाट सखाप भएका छन् । कतिपय जङ्गलमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

surkhet-agalagi

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर ओलीका अनुसार सुर्खेतको सिम्ता गाउँपालिकाको देउती बज्यै सामुदायिक वनमा लागेको आगोले स्थानीय निमबहादुर बिसीको खरले छाएको घर जलेर पूर्ण नष्ट भएको छ भने सल्यानको कपुरकोट गाउँपालिका–६, को राष्ट्रिय वनमा लागेको आगोले ३ वटा घरलाई क्षति पुर्याएको छ । सल्यानमै छत्रेश्वरीमा वनमा लागेको आगोले २ वटा गोठ र ७ वटा घरहरु पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

जुम्लाका ७ वटा सामुदायिक वन/जङ्गलमा डढेलो लागेको छ । यस्तै डोल्पाका ३, कालिकोटका ६, सुर्खेतका ६, जाजरकोटका ५, रुकुम पश्चिमका ५, सल्यानका ३,  दैलेखका ३, मुगुको एक र हुम्लाको एउटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भएको छ ।

वन, घर तथा बस्तीमा लागेको आगोले ठुलो धनजनको क्षति हुँदै आएको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भयो । राजधानीजस्तो सुविधा सम्पन्न ठाउँमै आगलागी हुँदा पनि आगो नियन्त्रण गर्न घण्टौँ लाग्यो ।

भौगोलिक विकटता रहेको कर्णालीमा प्राकृतिक विपद् पूर्वतयारीको अवस्था नाजुक छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विपद् शाखा प्रमुख कृष्णबहादुर रोकाया आगो नियन्त्रणका लागि सचेतना नै मुख्य कुरा रहेको बताउँछन् ।

‘तत्काल हुने भनेको सचेतनाका कार्यक्रम नै हो, जनशक्तिलाई तालिमहरू दिइ दक्ष बनाउन सकेको भए हुन्थ्यो,’ उनले रातोपाटीसँग भने, ‘साधनस्रोत प्रदेश सरकारसँग त्यत्ति छैन ।’ रोकायाका अनुसार मंगलबार र शनिबार डोल्पाका आगलागी पीडितको समयमै उद्धार हुन नसक्दा ज्यान गयो । ‘साधनस्रोतहरू भएको भए उनीहरूको ज्यान जाने थिएन होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप