बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

शुक्रबार, ०७ वैशाख २०८१, १३ : २५
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि एक सय २० रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पाली खेले । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ४० बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए । गुलसन झाले पनि २० रन बनाए । उनले १६ बलमा एक छक्का र एक चौका प्रहार गरे ।

करण केसीले टोलीको खातामा १७ रन थपे । उनले १२ बलमा दुई छक्का प्रहार गरे । नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ललित राजवंशी दुई र अविनाष बोहरा एक रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा ६ रन पायो । यूएईका बलर जुनैद सिद्दकी,अली नासिर र बासिल हमिदले दुई–दुई विकेट लिए ।

नेपालले आफ्नो पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । पहिलो ओभरको पहिलो बलमै ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर जुनैद सिद्धकीले विकेट किपर सैयद हैदरद्वारा क्याच गराएका थिए ।

नेपालले दोस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेट किपर ब्याट्सम्यान असिफ शेख ११ बलमा एक छक्काको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर ओमिद सफिक रहमानले एलबीडब्लूको धरापमा पारेका थिए । ३.३ ओभरमा उनी आउट हुँदा नेपालले केवल ११ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहित १८ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर अली नासिरले विकेटकिपर सैयद हैदरद्वारा क्याच गराएका थिए । सातौँ ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले ३८ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल पाँच बलमा तीन रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर बासिल हमिदले बोल्ड गरेका हुन् । ९.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ५० रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रुपमा अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्र आठ बलमा पाँच रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर आयान अफजल खानले एलबीडब्लूको धरापमा पारेका थिए । १३.२ ओभरमा उनी आउट हुँदा नेपालले ७५ रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका सन्दीपले पेभेलियन फर्किनुअघि अर्धशतकीय पाली खेलेका थिए । उनले ४० बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले ५० रन बनाएका थिए ।

सन्दीप जोरालाई यूएईका बलर मुहम्मद फारुकले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए । १४.४ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालले ८० रन बनाएको थियो । २२ वर्षीय सन्दीप जोराले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो अर्धशतक हो ।

नेपालले सातौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो । सोमपाल तीन बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर बासिल हमिदले मुहम्मद फारुकद्वारा क्याच गराएका थिए । १५.३ ओभरमा उनी आउट हुँदा नेपालले ८९ रन बनाएको थियो ।

नेपालले आठौँ विकेटका रुपमा करण केसीलाई गुमाएको थियो । नवौँ नम्बरमा क्रिज समाल्न आएका करण १७ रन बनाउँदै आउट भएका थिए । उनले पेभेलियन फर्किनुअघि १२ बलको सामना गरी दुई छक्का पनि हिर्काएका थिए । उनलाई यूएईका बलर अली नासिरले बोल्ड गरेका थिए । १८.४ ओभरमा उनी आउट हुँदा नेपालले एक सय १६ रन बनाएको थियो ।

नेपालले नवौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । उनी १६ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर जुनैद सिद्दकीले सुकुमारनद्वारा क्याच गराएका थिए । १९.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय १६ रन बनाएको थियो ।

नेपालका लागि यूएई पुरोना प्रतिद्वन्द्वी हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै सात विकेटले हराउँदै उपाधि चुमेको थियो । त्यतिबेला फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा पनि छनोट भएको थियो । प्रिमियर कपको त्यो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो ।

ओमानमा जारी एसीसी प्रिमियर कपको दोस्रो संस्करणमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपाली टोलीले समूहगत चरणमा आफूले खेलेको चारवटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।

त्यसपछि नेपालले समूहगत चरणको आफ्नो दोस्रो खेलमा कतारमाथि ३२ रनको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । नेपालले चौथो खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजयको स्वाद चखाएको थियो ।

अर्कोतिर, यूएई भने समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यूएईले समूहगत चरणमा आफूले खेलेको चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो । यूएईले आफ्नो पहिलो खेलमा कुवेतलाई सात विकेटले हराएको थियो ।

यूएईले दोस्रो खेलमा बहराइनमाथि ३७ रनको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा भने यूएईको टोली आयोजक ओमानसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । यूएईले चौथो खेलमा कम्बोडियालाई नौ विकेटले हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप