बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सांस्कृतिक कूटनीति

नेपालमा सांस्कृतिक कूटनीति : जनसम्पर्क बढाउन महोत्सव र मेला

शुक्रबार, ०७ वैशाख २०८१, १४ : १४
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा गत जेठ १९ गते मध्य प्रदेशको उज्जैनस्थित महांकालेश्वरमा पूजापाठ गरेको विषयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सांस्कृतिक कूटनीतिसँग जोडेर व्याख्या गरिएको थियो ।

भारतीय जनता पार्टीका विदेश विभागका प्रमुख डा.विजय चौथाइवाले २०७८ भदौ ६ गते नेपाल आउनासाथ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यहाँ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले चौथाइवालेलाई राखी बाँधेकी थिइन् । सो घटनालाई पनि भारतको सांस्कृतिक कूटनीतिका रुपमा विश्लेषण गरिएको थियो ।

सांस्कृतिक कूटनीतिका लागि भारत निकै अगाडि देखिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जानकी मन्दिर, लुम्बिनी, मुस्ताङको मुक्तिनाथ, काठमाडौँको पशुपतिनाथ दर्शन गरेर सांस्कृतिक कूटनीतिक सम्बन्ध बनाएको टिप्पणी भएको थियो ।

नेपालीको चाडपर्वका अवसरमा आफैँ सहभागी भएर सांस्कृतिक कूटनीतिमार्फत दुई देशका जनताबिचको सम्बन्धलाई प्रगाढ बनाउने प्रयास विभिन्न देशले गरेको देखिन्छ । नेपालमा यस्तो शैली अपनाउनेमा अमेरिका भारत, चीन, इजरायल, बेलायत अगाडि देखिन्छन् । तीमध्ये पनि भारत र चीनले प्रत्यक्ष देखिने गरी नै यस्ता गतिविधि गर्दै आएका छन् ।

परराष्ट्र विज्ञ दिनेश भट्टराईले कूटनीतिक सम्बन्ध विस्तार र बलियो बनाउने विभिन्न माध्यममध्ये सांस्कृतिक कूटनीति नै मुख्य रहेको बताए ।

उनले भने, ‘सांस्कृतिक कूटनीतिले विदेशीहरूलाई जनस्तरसम्म पुग्न सजिलो हुने गरेको छ । ‘पिपुल टु पिपुल’ सम्बन्ध बनाउनका लागि सबैभन्दा उत्तम उपाय भनेकै सांस्कृतिक कूटनीति रहेको उनले प्रस्ट पारे ।

पछिल्लो समय विभिन्न देशले यसमा विशेष जोड दिएको देखिन्छ, तर नेपाल भने यो मामिलामा धेरै पछाडि रहेको भट्टराईले बताए । नेपालले पनि विदेशमा गएर आफ्नो संस्कृतिको प्रचार गर्दा हुने भए पनि त्यसतर्फ ध्यान नदिइएको उनको भनाइ छ ।

चीनले नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिकासँग मिलेर गत असार ७ गते पोखरामा ड्रागन बोट महोत्सव आयोजना ग¥यो । चीनले गत माघमा आफ्नो नयाँ वर्षको अवसरमा नेपालमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना ग¥यो । पोखरा, काठमाडौँको ठमेल, हाँडीगाउँको गहनापोखरी, भक्तपुरको दरबार स्क्वायर, पाटन दरबार स्क्वायरमा चीनले सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । गत चैत २३ गते मात्र चीनले लुम्बिनीमा दुई दिने शान्ति महोत्सव आयोजना गरेको थियो ।

WhatsApp-Image-2024-04-13-at-17.41.47

भारतले वैशाख १ गते जनकपुरमा दोस्रो जनकपुरधाम सांस्कृतिक महोत्सव आयोजना गरेको छ । अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा पोखरा तथा लुम्बिनीमा भारतले विभिन्न कार्यक्रम आयोजना गरेको थियो । काठमाडौँमा भारतको तर्फबाट कुनै न कुनै सांस्कृतिक कार्यक्रम नियमित भइरहेका हुन्छन् ।

अमेरिकाले फागुन ११ गते नेपालमा हिप हप मेला आयोजना गरेको थियो । नेपाल र अमेरिकाबिचको हिप–हप संस्कृतिको जगेर्नाका लागि आयोजना गरिएको मेलामा नेपाल तथा अमेरिकाका कलकारहरूले भाग लिएका थिए ।

अमेरिकाले हालै नेपालमा पर्यटन वर्ष २०२४ अभियान शुभारम्भ गरेको छ । युएसएड नेपाल र नेपाल पर्यटन बोर्डबिचको सहयोग तथा स्टेलरसँगको साझेदारीमा सांस्कृतिक तथा पर्यटनका लागि कार्यक्रम गर्ने घोषणा गरिएको छ । अमेरिकाले पिस कोर्पमार्फत विभिन्न सांस्कृतिक तथा पर्यटन सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।

hiphop_mela

त्यसबाहेक अमेरिकाले दसैँ, तिहारजस्ता ठुला पर्वहरूमा विभिन्न कार्यक्रम आयोजना गर्दछ । नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालको विभिन्न ठाउँ घुम्दा त्यहाँको संस्कृति अनुसारको पहिरन, पूजापाठ गरेको फोटो तथा भिडियोहरू सार्वजनिक गरेका हुन्छन् । दसैँको टीका लगाएर नेपाली पोसाकमा नाच्दै गरेको भिडियोहरू उनले सार्वजनिक गरिरहेका हुन्छन् ।

यसरी अमेरिका, भारत, चीनलगायतका देशले नेपालमा यहाँका सांस्कृतिक परम्परा अनुसार विभिन्न कार्यक्रम गरी सांस्कृतिक कूटनीतिलाई अगाडि बढाइरहेका हुन्छन् । ती देशहरूले सांस्कृतिक कार्यक्रम आयोजना गरेर नेपाली समाजमा घुलमिल गर्न चाहेको परराष्ट्र विज्ञ भट्टराईले बताए ।  

समाजमा घुलमिल हुनका लागि सबभन्दा उत्तम उपाय नै त्यसको भाषा, संस्कृति, पहिरनलाई अपनाउनु हो । कसैको भाषा र उसको संस्कृतिलाई महत्त्व दिएको खण्डमा सम्बन्धित समुदायले पनि चाँडै ऊप्रति अपनत्व प्रदर्शन गर्दछन् ।

नेपाली समाजमा छिटै घुलमिल हुनका लागि विभिन्न देशले विभिन्न नाममा यहाँ कार्यक्रम गरिरहेका हुन्छन् । टानका पूर्व अध्यक्ष एवं पर्यटन व्यवसायी दीपकराज जोशीले विदेशीहरू नेपाली समाजसँग आफ्नो सम्बन्ध बनाउनका लागि यस्ता महोत्सव तथा कार्यक्रम गर्न उद्यत हुने बताए ।

उनले भने, ‘विभिन्न देशले अहिले जसरी नेपालमा विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रम गरिरहेका छन्, त्यसले पर्यटन प्रवर्द्धनमा सहायोग पुग्दैन, बरु नेपालले पनि यस्तो कार्यक्रम विभिन्न देशमा गर्दा त्यसले विदेशी नागरिकलाई नेपालतर्फ आकर्षित गर्न मद्दत पुग्छ ।’

CN 5

विदेशीहरूले कूटनीतिक सम्बन्ध विस्तारका लागि नै नेपालमा सांस्कृतिक कार्यक्रम र महोत्सव गर्ने गरेको जोशी बताउँछन् । उनले भने, ‘सिधै र प्रस्ट कुरा छ– नेपालमा आफ्नो जनसम्पर्क बढाउनका लागि सांस्कृतिक कार्यक्रम तथा महोत्सवलाई विभिन्न देशले टुलको रुपमा प्रयोग गरिरहेका छन् र नेपालले पनि त्यस्तै गर्नुपर्छ ।’

पर्यटन बोर्डका पूर्व सीइओ एवं पर्यटन व्यवसायी धनञ्जय रेग्मीले विभिन्न देशले गर्ने सांस्कृतिक कार्यक्रमले दुई देशको सम्बन्ध झन् बलियो हुने बताए । उनले भने, ‘कूटनीतिक रुपमा यसले के सन्देश जान्छ, त्यो थाहा भएन तर सांस्कृतिक हिसाबले यो निकै नै राम्रो काम भइरहेको हो । यसले के बुझिन्छ भने विभिन्न देशले नेपालको संस्कृतिलाई अपनाएको हो ।’

यस्ता कार्यक्रमले विभिन्न देशलाई यहाँका समाजसँग घुलमिल हुन सजिलो हुने भएकाले पनि सांस्कृतिक कार्यक्रम तथा महोत्सवहरू हुने गरेको उनले बताए ।

आफू पर्यटन बोर्डमा हुँदा विदेशीले नेपालमा अहिलेजस्तो खुलेआम सांस्कृतिक कार्यक्रम नगरेर विदेशमै हुने सांस्कृतिक कार्यक्रम तथा महोत्सवहरू हेर्नका लागि नेपालबाट जाने चलन रहेको उनले प्रस्ट पारे । तर पछिल्लो समय अमेरिका, चीन, भारतलगायतका देशले आ–आफ्नो देशका संस्कृति नेपालमै ल्याएर देखाउने गरेको र नेपालका लागि निकै सकारात्मक कुरा रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप