आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल

रोमाञ्चक खेलमा कोलकाताले बैंगलुरुलाई एक रनले हरायो

आइतबार, ०९ वैशाख २०८१, १९ : ५९
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको छ । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय २२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बैंगलुरुले भने निर्धारित ओभरमा आफ्नो सबै विकेट गुमाएर दुई सय २१ रनमात्र बनाउन सक्यो । 

महत्त्वपूर्ण जितसँगै कोलकाता १० अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हालसम्म सात खेल खेलेको कोलकाताले पाँच खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । सात खेल खेलेको राजस्थान रोयल्स भने १२ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।

आईपीएलको १७औँ संस्करणमा बैंगलुरुले भने आफ्नो निराशाजनक प्रदर्शन जारी राखेको छ । हालसम्म आठ खेल खेलेको बैंगलुरुले सात खेलमा हार भोगिसकेको छ । एक खेलमा मात्र बैंगलुरु विजयी भएको छ । बैंगलुरु दुई अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा छ । 

पहिले ब्याटिङ गरेको कोलकाताका लागि कप्तान श्रेयष ऐयरले अर्धशतकीय पाली खेलेका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ३६ बलको सामना गरी एक छक्का र सात चौकाको मद्दतले ५० रन बनाएका हुन् । 

ओपनर ब्याट्सम्यान फिल साल्टले पनि टोलीको खातामा ४८ रन थपेका थिए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल १४ बलको सामना गरी तीन छक्का र सात चौका हिर्काएका थिए । 

आन्द्रे रसेलले अविजित २७ र रमणदीप सिंहले अविजित २४ रन बटुले । रिंकु सिंहले पनि टोलीको खातामा २४ रन थपेका थिए । कोलकाताले अतिरिक्त रुपमा पनि २० रन पाएको थियो । बैंगलुरुका बलर यश दयाल र क्यारुन ग्रिनले दुई-दुई विकेट लिए । 

जवाफी ब्याटिङमा ओर्लिएको बैंगलुरुका लागि दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । बैंगलुरुका लागि तेस्रो नम्बरका ब्याट्सम्यान विल ज्याक्स र चौथो नम्बरका ब्याट्सम्यान रजत पाटिदारले अर्धशतक बनाएका थिए । 

विल ज्याक्सले ५५ रन बनाए । उनले केवल ३२ बलको सामना गरी पाँच छक्का र चार चौका हिर्काएका थिए । रजतले पनि टोलीको खातामा ५२ रन थपे । उनले केवल २३ बलमा पाँच छक्का र तीन चौका प्रहार गरेका थिए । 

बैंगलुरुका लागि विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले २५, सुयष प्रभुदेसाईले २४, करण शर्माले २० र ओपनर विराट कोहलीले १८ रन बनाएका थिए । कप्तान फाफ डु प्लेसिस भने सात रन बनाउँदै पेभेलियन फर्किएका थिए । 

कोलकाताका बलरले पनि उत्कृष्ट प्रदर्शन गरे । आन्द्रे रसेलले तीन विकेट लिए । हर्षित राणा र सुनिल नारिनले पनि दुई-दुई विकेट हात पारे । मिचेल स्टार्क र वरुण चक्रवर्तीले पनि एक-एक विकेट लिएका थिए । कोलकाताका बलरले अतिरिक्त रुपमा केवल नौ रन खर्चिएका थिए । 

बैंगलुरुलाई अन्तिम दुई बलमा जितका लागि तीन रन आवश्यक थियो । त्यतिबेलासम्म बैंगलुरुले आफ्नो आठ विकेट गुमाइसकेको थियो । त्यसपछि कोलकाताले अन्तिम ओभरको दुई बलमा लगातार दुई विकेट लिएको थियो । 

यसरी बैंगलुरु जितको अत्यन्तै नजिक पुगेर पनि सफलता हात पार्नबाट चुकेको थियो । अन्तिम ओभरको पाँचौँ बलमा कोलकाताका बलर मिचेल स्टार्कले करण शर्मालाई आफ्नो बलिङमा आफैले उत्कृष्ट क्याच लिँदै पेभेलियन फर्काएका थिए । अन्तिम ओभरको अन्तिम बलमा बैंगलुरुका ब्याट्सम्यान लोकी फर्गुसन रन आउट भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप