सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
टी-२० क्रिकेट

नेपालसामु जितका लागि १ सय ६१ रनको लक्ष्य

आइतबार, १६ वैशाख २०८१, १३ : ४०
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङ गर्दै सात विकेट गुमाएर एक सय ६० रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरले ४३ रनको योगदान गरे । उनले केवल ३६ बलको सामना गरी तीन छक्का पनि हिर्काए । तल्लो क्रमका ब्याट्सम्यान गुडाकेश मोटीले पनि अविजित ३३ रनको योगदान गरे ।

आक्रामक रुपमा प्रस्तुत भएका गुडाकेशले केवल आठ बलको सामना गरी चार छक्का र दुई चौका पनि हिर्काए । कप्तान रोस्टन चेजले पनि टोलीको खातामा २३ रन थपेका थिए । म्याथ्यू फोर्ड ११ रनमा अविजित रहे ।

ओपनर जोन्सन चार्लिसले ११ र केसी कार्टीले १० रन बटुले । वेस्ट इन्डिजले अतिरिक्त रुपमा केवल ६ रन पाएको थियो । नेपाली टोलीका बलर सागर ढकाल र कुशल भुर्तेलले दुई–दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले पनि एक–एक विकेट हात पारे ।

वेस्ट इन्डिजको पहिलो विकेट सागर ढकालले लिएका थिए । उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान एलिक अथान्जलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । २.२ ओभरमा २५ वर्षीय अथान्ज आउट हुँदा क्यारेबियन टोलीले १७ रन बनाएको थियो ।

एलिक अथान्ज वेस्ट इन्डिजको सिनियर टोलीबाट टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । उनले वेस्ट इन्डिजका लागि चार टेस्ट खेल्दै कुल एक सय ६८ रन र १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल कुल दुई सय ८८ रन बनाएका छन् ।

वेस्ट इन्डिजको दोस्रो विकेट पनि सागर ढकालले नै लिएका थिए । उनले वेस्ट इन्डिजका अर्का ओपनर जोन्सन चार्लिसलाई ११ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । सागरले लिएको यो दोस्रो विकेट थियो । २.५ ओभरमा ३५ वर्षीय जोन्सन आउट हुँदा वेस्ट इन्डिजले १८ रन बनाएको थियो ।

जोन्सन चार्लिस वेस्ट इन्डिजको सिनियर टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । उनले सिनियर टोलीबाट ५८ एकदिवसीय खेल्दै एक हजार पाँच सय ३७ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा भने उनले ४८ खेल खेल्दै एक हजार ८५ रन बनाएका छन् ।

वेस्ट इन्डिजको तेस्रो विकेट कुशल भुर्तेलले लिएका थिए । उनले क्यारेबियन टोलीका कप्तान रोस्टन चेजलाई बोल्ड गरेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका रोस्टनले पेभेलियन फर्किनुअघि २२ बलमा एक छक्का र दुई चौकाको मद्दतले २३ रन बनाएका थिए ।

१० औँ ओभरमा अन्तिम बलमा रोस्टन आउट हुँदा वेस्ट इन्डिजले ६४ रन बनाएको थियो । ३२ वर्षीय रोस्टनले वेस्ट इन्डिजको सिनियर टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले ४९ टेस्टमा कुल दुई हजार दुई सय ६५ रन, ४५ एकदिवसीयमा कुल सात सय ८३ रन र ११ टी–२० अन्तर्राष्ट्रियमा एक सय ११ रन बनाएका छन् ।

वेस्ट इन्डिजको चौथो विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । उनले क्यारेबियन टोलीका पाँचौँ नम्बरका ब्याट्सम्यान केसी कार्टीलाई १० रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए ।

कुशल भुर्तेलले लिएको यो दोस्रो विकेट थियो । १३.२ ओभरमा केसी कार्टी आउट हुँदा वेस्ट इन्डिजले ७९ रन बनाएको थियो । २७ वर्षीय केसी कार्टीले पनि वेस्ट इन्डिजको सिनियर टोलीबाट २२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल पाँच सय ७८ रन बनाएका छन् ।

वेस्ट इन्डिजको पाँचौँ विकेट सोमपाल कामीले लिएका थिए् । उनले वेस्ट इन्डिजका छैटौँ नम्बरका ब्याट्सम्यान किमो पललाई आठ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । १६.१ ओभरमा किमो पल आउट हुँदा क्यारेबियन टोलीले एक सय चार रन बनाएको थियो ।

२६ वर्षीय किमो पलले पनि वेस्ट इन्डिजको सिनियर टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले तीनवटा टेस्ट खेल्दै कुल ९६ रन, ३० वटा एकदिवसीय खेल्दै कुल तीन सय २० रन र २३ वटा टी–२० खेल्दै एक सय ८७ रन बनाएका छन् ।

वेस्ट इन्डिजले छैटौँ विकेटका रुपमा ह्याडेन वाल्सलाई गुमाएको थियो । उनी रनआउट हुँदै पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले नौ रन बनाएका थिए । १७.२ ओभरमा उनी आउट हूँदा वेस्ट इन्डिजले एक सय १३ रन बनाएको थियो ।

३२ वर्षीय ह्याडेनले पनि वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनले २३ एकदिवसीय खेल्दै कुल एक सय ७५ रन बनाएका छन् भने २८ विकेट पनि लिएका छन् । ३८ टी–२० मा उनले एक सय ५० रन बनाएका छन् भने ३१ विकेट लिएका छन् ।

वेस्ट इन्डिजको सातौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई लोकेश बमद्वारा क्याच गराएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका फ्लेचरले पेभेलियन फर्किनुअघि ४३ रन बनाएका थिए । उनले ३६ बलको सामना गरी तीन छक्का पनि हिर्काए । १७.५ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले एक सय १५ रन बनाएको थियो ।

३६ वर्षीय आन्द्रे फ्लेचरले पनि वेस्ट इन्डिजको सिनियर टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले २५ एकदिवसीयमा कुल तीन सय ५४ रन र ५४ टी–२० मा कुल नौ सय ५० रन बनाएका छन् ।

यसअघि शनिबार खेलिएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो । जारी भ्रमणका क्रममा वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग पाँचवटा टी–२० खेलको शृंखला खेल्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजको ‘ए’ टोलीमा रहेका अधिकांश खेलाडीले सिनियर टोलीबाट विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी–२० विश्वकप खेल्दैछ ।

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

वेस्ट इन्डिज भने टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् । यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ ।

सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । सो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो । नेपालले टी–२० विश्वकपको अन्तिम तयारी पनि वेस्ट इन्डिजमै गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप