सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

हात्तीपाइलेको औषधि यो वर्ष मात्रै खुवाइने

२०३० सम्म निवारण गरेरै छोड्ने सरकारी सङ्कल्प
आइतबार, १६ वैशाख २०८१, १५ : २३
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । नेपालमा हात्तीपाइले रोगको औषधि यो वर्षमात्रै खुवाइने भएको छ । नेपालबाट सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गरेरै छोड्ने सरकारी सङ्कल्प छ ।

वैशाख १६ गतेदेखि झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने छ । सम्भवतः हात्तीपाइलेको औषधि सेवन अभियान यो नै अन्तिम हुने स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. सङ्गीता कौशल मिश्राले बताइन् ।

सरकारले सन् २००३ देखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको थियो । सन् २००३ देखि २०२० सम्ममा हात्तीपाइले निवारण गर्न लागिपरेको सरकारले अन्ततः निवारण गर्न सकेन । नीतिगत रूपमै परिवर्तन गरी यसलाई सन् २०३० सम्म हात्तीपाइले निवारण गर्ने लक्ष्य राखेको मिश्राले सुनाइन् । डा. मिश्राले भनिन्, ‘राजनीतिक र अन्तर्राष्ट्रिय स्तरमा रणनीति परिवर्तन हुन्छ, हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारणले रणनीति परिवर्तन हुन्छ । हामी किन पूरा गर्न सक्दैनौँ भने हाम्रो रिसोर्स कम हुन्छ ।’

हात्तीपाइले रोगलाई सन् २०३० सम्म निवारण गरेरै छोड्ने सङ्कल्पका साथ अभियान सञ्चालन गरिएको उनले दाबी गरिन् ।

सात जिल्लाका १०१ स्थानीय तहमा ५० लाख ७८ हजार जनालाई हात्तीपाइलेको औषधि सेवन गराउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले बताए । सो क्षेत्रमा ६ हजार स्वास्थ्यकर्मी र ५८ सय महिला स्वास्थ्य स्वयंसेविका खट्ने छन् ।

रसुवा जिल्लामा रगत जाँच गरेर हेर्दा रोग देखिएकाले र बाँकी ६ जिल्लामा औषधि खान योग्य सबैले नखाइदिएकाले ती जिल्लामा हात्तीपाइले औषधि सेवन गराउन लागेको हो ।

  • १३ जिल्ला वैज्ञानिक रूपमा हात्तीपाइले मुक्त

नेपालका १३ जिल्ला हात्तीपाइले रोग मुक्त भएका छन् । नेपालका ५३ जिल्लामा हात्तीपाइलेको औषधि खुवाइने अभियान बन्द गरिसकिएको छ । ७ वटा जिल्लामा औषधि खुवाइने कार्यक्रम १६ गतेबाट जारी हुने महाशाखाका प्रमुख डा. मरासिनीले बताए । यस्तै, ४ वटा जिल्लामा हात्तीपाइले रोगको अनुसन्धान भइरहेको छ ।

  • हात्तीपाइले कस्तो रोग हो ?

महाशाखाका प्रमुख डा. मरासिनीका अनुसार हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ । हात्तीपाइले सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डा. मरासिनीको भनाइ छ ।

उनका अनुसार मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्रै रोगका असर शरीरमा देखिने गर्छ । यस रोगको लक्षण देखिइसकेपछि निको पार्न नसकिने भएकाले हात्तीपाइलेको औषधि अनिवार्य सेवन गर्न डा. मरासिनी सुझाव दिन्छन् । धेरैजसोमा यो रोग सङ्क्रमण लक्षणविनाको हुने भएकाले समुदायका अन्य व्यक्तिलाई समेत सर्ने सम्भावना बढी हुन्छ ।

  • हात्तीपाइले रोगको परजीवी मुक्त हुन के गर्ने ?

नेपाल सरकारले रोग प्रभावित जिल्लाहरूमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागी भई आफ्नो जिल्लामा सञ्चालनमा रहेसम्म लगातार हात्तीपाइले रोगको औषधि सेवन गर्ने तथा अरूलाई समेत सेवन गराउन चिकित्सकको सल्लाह छ ।

  • ‘हात्तीपाइलेको औषधि सुरक्षित छ’

डा. विमल चालिसेका अनुसार हात्तीपाइले रोगबाट बच्न प्रयोग हुने औषधिहरू तीन प्रकारका हुन्छन्, जुन पूर्ण रूपमा सुरक्षित छन् । यी औषधि विश्वभर नै प्रयोग हुने गरेका छन् । यी औषधिहरूको प्रयोगले हात्तीपाइले रोग लागिसकेकाहरूको प्रभावकारी रूप उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउने उनले बताए ।

यसले आन्द्रा र रगतका जुकाहरू मार्छ भने लुतो र जुम्राको उपचारमा पनि निकै सहयोगी हुन्छ । अध्ययन तथा अनुसन्धानबाट यी तीनै प्रकारका औषधि पूर्ण रूपमा सुरक्षित छन् । र यी औषधि विश्व स्वास्थ्य सङ्गठन (डक्लुएचओ) द्वारा मान्यता प्राप्त रहेको डा. चालिसेको भनाइ छ ।

  • हात्तीपाइलेको औषधि कसले सेवन गर्ने ?

आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरूमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नु पर्ने डा. मरासिनी बताउँछन् ।

  • हात्तीपाइलेको औषधि कसले सेवन गर्न मिल्दैन ?

सिकिस्त बिरामीहरू (रोगका कारण ओछ्यान परेका बिरामीहरू, अस्पताल भर्ना भएका) र त्यस्ता बिरामीहरू जो जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका (मिर्गौला रोगको डायलासिसका बिरामीहरू) हुन्छन्, उनीहरूले हात्तीपाइलेको औषधि सेवन गर्न नमिल्ने डा. मरासिनीले बताए ।

यस्तै, दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिन सम्मका सुत्केरीले हात्तीपाइलेको औषधि सेवन गर्न नहुने उनले बताए । छारे रोगको समस्या भएका व्यक्तिहरू र पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्तिहरूले हात्तीपाइलेको औषधि सेवन गर्न नहुने चिकित्सकले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप