शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

फर्कियो सेयर बजारको उत्साह, डेभलपमेन्ट बैंक समूह चम्किदा झण्डै २६ अंकको वृद्धि

मङ्गलबार, १८ वैशाख २०८१, १५ : ३८
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । लगातार तेस्रो दिन पनि नेप्से सूचक बढ्दै २ हजार अंकमाथि उक्लिएको छ । तेस्रो लगानी सम्मेलनको पहिलो कारोबार दिन आइतबार १७ अंकमाथिले नेप्से सूचक बढेर उत्साहप्रद सुरुवात भएकोमा थप मंगलबार झण्डै २६ अंकले वृद्धि हुन पुगेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक २५.९३ अंकले बढ्दै २ हजार ६.२८ अंकमा उक्लिएको छ । 

उसो त यस दिन कारोबारमा समेत तीव्रता आउँदै ४ अर्ब ८० करोड रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

अघिल्लो दुई दिन १७ अंकले नेप्से सूचक बढेको बजारमा ५ अर्ब ६४ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको थियो । योसँगै मंगलबारसम्म १० अर्ब ४४ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । 

मंगलबार फाइनान्स समूहको उपसूचक बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.९० प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक २.५३ प्रतिशतले र नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक २.३९ प्रतिशतले बढेका छन् । 

यसैगरी हाइड्रोपावर समूहको उपसूचक १.६२ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समूहको उपसूचक १.४१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.१३ प्रतिशतले र बैंकिङ समूहको उपसूचक १.१० प्रतिशतले बढेका छन् । 

कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा मंगलबार २१५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको घटेको छ । ४ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । 

मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यता पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य ७.१८ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप