मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली फिल्ममा डेब्यु गरेकी शान्तीलालाई १२ प्रश्न

हिन्दी फिल्ममा भन्दा नेपालीमा राम्रो गर्न सक्छु भनेर  यहाँ आएको हुँ : अभिनेत्री शान्तीला
बुधबार, १९ वैशाख २०८१, १५ : २४
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । शान्तीला तामाङ नेपाली फिल्म ‘खजुरे ब्रो’मा डेब्यु गरेकी अभिनेत्री हुन् । यसअघि भारतको दार्जिलिङमा निर्माण भएका ‘आरम्भ’, ‘आप्पा’ लगायतका फिल्म अभिनय गरेकी उनी पछिल्लो समय नेपाली चलचित्र ‘खजुरे ब्रो’ मा डेब्यु गरेकी हुन् । उसो त तामाङ दार्जिलिङ क्षेत्रमा बन्ने म्युजिक भिडियो र सर्ट फिल्ममा पनि चिनिएकी अनुहार हुन् । 

‘खजुरे ब्रो’ वैशाख २८ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै छ । सन् २०१५ को ‘मिस दार्जिलिङ डिभा’बाट कलायात्रा थालेकी तामाङ नेपाली फिल्मको पछिल्लो परिवर्तनले अभिनयमा लोभ्याएको बताउँछिन् ।  उनै अभिनेत्री तामाङलाई रातोपाटीले गरेको दर्जन प्रश्नः

  • नेपाली फिल्म डेब्यु अवसर कसरी प्राप्त भयो ?

– मेरो नेपालीमा डेब्यु फिल्म ‘खजुरे ब्रो’ हो । जसमा सङ्गीत अनमोल गुरुङले दिनु भएको छ । अनमोल दार्जिलिङमै रहने भएकोले उहाँँसँग चिनजान पहिले देखिनै थियो । यहाँबाट ‘खजुरे ब्रो’का टिम अनमोल दाइको सङ्गीतका लागि दार्जिलिङ आउनु भएको रहेछ । त्यो समय अनमोल दाइसँग दार्जिलिङबाट कलाकार पनि लिने सल्लाह भएछ । त्यसैले अनमोल दाइले मलाई अडिसनका लागि बोलाउनुभयो । त्यहाँ थुप्रैले अडिसन दिएका थियौ । म मात्र फिल्मका लागि छानिएँ ।

  • नेपाली फिल्म अभिनय अनुभव कस्तो रह्यो ?

– एकदमै राम्रो अनुभव लिन पाए । भाषा, संस्कृति धेरै मिल्ने भएकोले मलाई दार्जिलिङ र यहाँका फिल्ममा खासै फरक लागेन । अभिनयका लागि कठिनाइ पनि भएन । 

  • ‘खजुरे ब्रो’मा कस्तो चरित्रमा देख्न सकिन्छ ?

– फिल्ममा अभिनेता महेश त्रिपाठीको श्रीमती ‘तारा’ नामको चरित्रमा म देखिँदै छु । मेरो चरित्र अलिअलि एग्रेसिप, अलिअलि सिम्पल मिश्रित खालको छ । एउटा गृहिणीको दायित्व र त्यसले निर्वाह गर्नुपर्ने भूमिका मेरो चरित्रले बुझाउँछ ।

  • नेपाली फिल्म अभिनयमा निरन्तरता रहन्छ कि पुग्यो ?

– म एउटा मात्र गर्छु भनेर भित्रिएको होइन । अवसर आएसम्म उता र यता केही भन्दिन । नियमित काम गर्छु । मलाई नेपाली फिल्म धेरै मनपर्छ । ‘कबड्डी’ र ‘षडङ्ग’ निर्माणपछि नेपाली फिल्ममा केही परिवर्तन आएको छ । ती फिल्मका कारणले नेपाली फिल्म प्रति मेरो आकर्षण बढेको हो । यी फिल्मपछि दार्जिलिङमा पनि नेपाली फिल्म हेर्ने क्रम बढेको छ ।

  • नेपाल फिल्म अभिनयमा केही सपना देख्नु भएको छ कि ?

– अहिलेसम्म त्यस्तो केही सपना देखेकी छैन । प्यासनले म नेपाली फिल्ममा भित्रिएकी हुँ । निरन्तरता दिन पाउ, धेरै भन्दा धेरै फिल्म गर्न पाउँ यही हो  । अन्य ठुलो सपना केही देखेकी छैन ।

  • नेपाली फिल्मकर्मीसँगको सङ्गत कस्तो रह्यो ?

– मैले ‘खजुरे ब्रो’ बाहेक नेपाली फिल्मका युनिटसँग काम गर्ने अवसर पाएको छैन । यो टिमसँग काम गर्दाको अनुभव एकदमै पोजेटिभ पाए । सहयोगी, मायालु भेटे । म दार्जिलिङको भए पनि उहाँहरूले एक प्रकारको सम्मान दिनुभएको छ । मलाई यहाँको होइन भन्ने फिलिङ नै भएन ।

3

  • दार्जिलिङमा हुर्के बढेको तपाईँले बलिउड नरोजेर किन नेपाली फिल्म रोज्नुभयो ?

– मेरो मातृभाषा नेपाली हो । मेरो भावनाहरू पनि नेपालीसँग मिल्छ । हिन्दी फिल्ममा भन्दा नेपालीमा राम्रो गर्न सक्छु भनेर यहाँ आएको हुँ ।

  • अब कस्तो भूमिकामा अभिनय गर्न मन ?

– म एक कलाकार हो । त्यसैले हरेक फिल्ममा फरक फरक भूमिका गर्ने लोभ छ । 

  • कलाकारिता प्रति लुकेको भित्री इच्छा ?

– जीवनमा धेरै सकिन भने पनि एक फिल्म आफैले निर्देशन गर्ने सोच छ ।

  • फेसन प्रतिको रुचि कति छ ?

– फेसमा रुचि राख्छु । के फेसन आयो, के आउँदै छ सबै अपडेट राख्छु । तर मलाई एकदमै मन पर्ने पहिरन भनेको सारी हो । त्यसैले पनि फिल्म प्रमोसनको समय म सारीमा हिँडिरहेकी छु । राम्री र आकर्षक पनि सारीमै देखिन्छु ।

  • प्रेम त पक्कै होला ?

– अहिलेसम्म प्रेममा परेकी छैन । यो समय अध्ययन र करियरमा फोकस हुने समय हो । त्यसैले अरूतिर ध्यान छैन । 

  • ड्रिम ब्वाइको सोच त होला नि ?

– लुक्स हेरौँला व्यवहार नराम्रो होला, राम्रो व्यवहार भएको लुक्स राम्रा नभेटिएला । विवाहपछि जसले पनि कम्परमाइज गर्नुपर्छ । त्यो मैले आफन्त, साथीभाइबाट शिक्षा लिएकी छु । त्यसैले मन मिल्ने भए पुग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप