लाइसेन्स प्राप्त हतियारहरूको प्राविधिक परीक्षण गराउन सिफारिस
काठमाडौँ । गृह मन्त्रालयले बनाएको छानबिन समितिले अनुमति पत्र (लाइसेन्स) लिएर प्रयोग गरिएका हतियारको प्राविधिक परीक्षण गराउन सिफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ)बाट अनुमति पत्र लिएर खरिद गरिएका हतियार पनि घातक हुनसक्ने निष्कर्ष सहित समितिले त्यस्ता हतियारको प्राविधिक परीक्षण गराउन सिफारिस गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाउँदै सो सिफारिस गरेको हो । शंकास्पद हतियार नेपाली सेना वा सशस्त्रको प्राविधिक टिमबाट ‘भेरिफाइ’ गराउन भनिएको छ । ती अधिकृतले भने, ‘अनुमति पत्र भएका हतियार अब प्रमुख जिल्ला अधिकारीहरूले सेना र सशस्त्र प्रहरी बलको हतियार विशेषज्ञ मार्फत परीक्षण गराउनुपर्ने छानबिन समितिको सिफारिस छ ।’
अहिले देशभर करिब ३६ हजार अनुमति प्राप्त हतियार प्रयोगमा छन् । छानबिनबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंबाट प्रहरीले बरामद गरेको हतियार इजाजत दिन मिल्ने खालको नदेखिएको देखिएको छ । समितिले बुझाएको प्रतिवेदन गृह मन्त्रालयले अध्ययन गरिरहेको छ ।
प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा लिएको हतियारको इजाजत पत्र र निर्णयमा फरक विवरण फेला परेको छ । इजाजत पत्रमा प्रसाईंलाई नेपाल राज्यभर जुनसुकै अवस्थामा लिएर हिँड्न पाउने साथै प्रयोग गर्न पाउने अनुमति भएको उल्लेख छ । उनलाई प्रदान गरिएको लाइसेन्समा लेखिएको छ, ‘हातहतियार खरखजाना राख्न पाउने (इलाका)ः नेपाल राज्य भर जुनसुकै अवस्थामा लिएर हिँड्न पाउने साथै प्रयोग गर्न पाउने ।’
तर, निर्णय पुस्तिकामा झापा जिल्लाभर मात्रै प्रयोग गर्न मिल्ने विवरण उल्लेख भएको समितिका एक सदस्यले जानकारी दिए । हातहतियार खरखजाना ऐन अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउने गरी इजाजत पत्र दिने व्यवस्था छ ।
ती सदस्यले भने, ‘लाइसेन्स र निर्णयमा फरक विवरण भेटिएको छ । उनले लिएको हतियारको इजाजत पत्र (लाइसेन्स) नम्बर १०१३१ हो । झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुद्धशान्ति–३ झापा घर भएका दीपक खड्कालाई बाहक तोकेर प्रसाईंको नाममा हतियार इजाजत पत्र दिएका थिए ।’ खड्का दुर्गा प्रसाईंका व्यक्तिगत सुरक्षा गार्ड हुन् ।
मोडल नम्बर ५ र सिरियल नम्बर ए–३५४७५२ नम्बरको २२ बोर बन्दुको इजाजत पत्र लिएका प्रसाईंका सुरक्षा गार्डको साथबाट प्रहरीले जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ र १ सय राउन्ड गोली बरामद गरेको थियो । सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन सहित पक्राउ परेपछि त्यसबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका थिए । सो हतियार अहिले प्रहरीको नियन्त्रणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण