मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पौडीका भीमबहादुरले पारा ओलम्पिकको छनोट खेल्ने

शुक्रबार, २८ वैशाख २०८१, १५ : १४
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस पारालिम्पिक–२०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन् । पेरिस पारालिम्पिकका लागि छनोटको आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा गर्न लागेका हुन् । 
सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म हुने उक्त प्रतियोगितामा भीमले पुरुष ५० मिटर र १०० मिटर फ्रिस्टायल स्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन् । दुवै स्पर्धामा भीमकै नाममा राष्ट्रिय कीर्तिमान पनि रहेको छ । ५० मिटरमा ३३.३४ सेकेन्ड र १०० मिटरमा एक मिनेट २१ सेकेन्डको भीमको व्यक्तिगत उत्कृष्ट टाइमिङनै राष्ट्रिय कीर्तिमान हो ।

सिंगापुरमा हुने प्रतियोगिताका लागि भीमले विगत दुई महिनादेखि कालोपुलस्थित वेस्ट भेन्यूमा नियमित प्रशिक्षण गरिरहेको नेपाल पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । श्रेष्ठ पनि अफिसियलका रुपमा सिंगापुर जाँदैछन् । गोर्खा जिल्लाको नारेश्वर बेनीखोला निवासी भीमले आफ्नो करियरमा तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले खेलेको पछिल्लो प्रतियोगिता चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद हो । 

त्यसअघि उनले सन् २०१८ मा इन्डोनेसियामा भएको तेश्रो एसियाली पारा खेलकुद र सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गरेका थिए । ४१ वर्षीय भीम एम्पुटी फुटबलका खेलाडी पनि हुन् ।

भीमले पेरिस पारा ओलम्पिकमा छनोट हुने लक्ष्य रहेको बताउँदै भने, ‘एउटा खेलाडीको मुख्य उद्देश्य ओलम्पिक खेल्नु रहेको हुन्छ । मेरो लागि पनि यो एउटा सुनौलो अवसर हो । सक्दो प्रयास गर्नेछु ।’

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबिच बिदाइ गरे । भीम र अफिसियल श्रेष्ठ मे १५ तारिख सिंगापुर जानेछन् । प्रशिक्षक विजेनमान श्रेष्ठ भने आइतबार जाँदैछन् । विदाइका अवसरमा सदस्यसचिव घिसिङले पेरिस पारालिम्पकमा छनोट हुने दोश्रो खेलाडी बन्न भीमलाई शुभकामना दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप