सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
२२औँ कृष्णसेन इच्छुक स्मृति दिवस

जनपक्षीय पत्रकारिता र साहित्यका आदर्श नायक कृष्ण सेन ‘इच्छुक’

आइतबार, १३ जेठ २०८१, १५ : ००
आइतबार, १३ जेठ २०८१

आज जेठ १३ गते सहिद कृष्णसेन इच्छुक (२०१३–२०५९) को २२औँ स्मृति दिवस । आजभन्दा २२ वर्षअघि आजकै दिन जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका आदर्श व्यक्तित्व र क्रान्तिकारी नेता इच्छुकको हत्या भएको थियो । 

माओवादी जनयुद्धका बेला नेकपा माओवादीले सञ्चालन गरेको मुखपत्र जनादेश साप्ताहिक र जनदिशा दैनिकका सम्पादक इच्छुकको जन्म २०१३ कात्तिक ३ गते भारतको देहरादुनमा भएको थियो । 

शोषित पीडित बहुसंख्यक जनताको मुक्तिका लागि समर्पित भएर लाग्ने राजनीतिक विचारक तथा आदर्शवान् व्यक्तित्व इच्छुक आफ्नो वर्ग र विचारप्रति सधैँ समर्पित थिए । 

सेनको पुख्र्यौली थलो अर्घाखाँची जिल्लाको जलुके हो । उनले आफ्नो प्रारम्भिक शिक्षा दाङको लालमटियामा लिए । सामान्य लाहुरे परिवारमा जन्मेका इच्छुकले आफ्नो जनसाहित्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । 

बहुआयामिक व्यक्तित्वका धनी इच्छुक एक जुझारु जनपत्रकार थिए । प्रगतिशील साहित्यको क्षेत्रमा इच्छुकले छुट्टै छाप समाजलाई छाडेका छन् । उनको साहित्यिक रचनाले तत्कालीन नेपाली समाजको मथिंगल हल्लाइदिएको थियो भने शासकको निदहराम गरिदिएको थियो । 

दाङको जेलमा बस्दा विद्यार्थी नेता मित्रपणि आचार्यको हत्या भएपछि उनकै सम्मान र सम्झनामा इच्छुकले ‘शोकाञ्जलि’ काव्य लेखे, जुन २०४८ सालमा उनको पहिलो कृतिको रूपमा प्रकाशित भयो । इतिहासको यस घडीमा (२०५६), बन्दी र चन्द्रागिरी (२०५८) आदि इच्छुकका कृति चर्चित छन् । उनले लेखेको ‘पर्खालभित्रका बन्द आवाजहरू’ प्रकाशनमा आइसकेको छैन । 

जुझारु क्रान्तिकारी योद्धा कृष्णसेन इच्छुक मूलतः नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो छुट्टै स्थान निर्माण गर्न सफल भए । निरन्तर जनताका पक्षमा कलम चलाउने इच्छुकको पत्रकारिताबाट त्यति बेलाका शासकको मन–मुटु हल्लिन्थ्यो भने जनताले ऊर्जा प्राप्त गरेको महसुस गर्थे । 

क्रान्तिकारी योद्धा इच्छुकको भूमिकालाई तत्कालीन निरङ्कुश शासकले रुचाएनन् । इच्छुकलाई तत्कालीन सत्ताले पटक–पटक गरी दश वर्षसम्म जेलमा यातनापूर्वक थुन्यो । अन्त्यमा जनयुद्धकैबिचमा इच्छुकलाई २०५९ जेठ ६ गतेका दिन गिरफ्तार गरी काठमाडौँको भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबको हिरासतमा राखिएको थियो । त्यहीँ अमानवीय ढङ्गले निर्मम यातना दिएर २०५९ जेठ १३ गते उनको हत्या गरियो । 

विचार र व्यवहारको तादात्म्यता, उच्च आदर्शयुक्त जनपक्षीय जीवनशैली, आस्था र निष्ठाप्रति समर्पित जीवन नै इच्छुकबाट सिक्नुपर्ने विषयवस्तु हुन् । हामी जे भन्छौँ, त्यही जीवन व्यवहारमा लागु गर्न सक्नु नै इच्छुकप्रतिको सच्चा सम्मान हुनेछ ।

यसरी इच्छुकले ४६ वर्षको उमेरमा देश र जनताको मुक्तिका लागि आफ्नो जीवन आहुति दिए तर कहिल्यै झुकेनन् । प्रगतिवादी साहित्य र जनपत्रकारिताका माध्यमबाट समाजको आमूूल परिवर्तन गर्नका लागि उनले पु¥याएको योगदान अतुलनीय छ । 

उनको त्यागबाट आजको नेपाली समाजले धेरै कुरा सिक्न जरुरी छ । अझ आफूलाई जनपक्षीय राजनीतिज्ञ भन्नेहरूले उनको आदर्शलाई व्यवहारमा लागु गर्न सक्नुपर्छ । उनको जस्तै सबैले त्याग गर्न सके आज पनि नेपाली समाजलाई रूपान्तरण गर्ने समय लाग्दैन । 

उनले आफ्नो जीवनकालभरि जहिल्यै त्यागको प्रतीकका रूपमा भूमिका निर्वाह गरे । उनले आफ्नो व्यक्तिगत लाभ, प्रतिष्ठा र सुविधामातर्फ कहिल्यै ध्यान दिएनन् । सबै कुरा अरूलाई दिनुपर्छ, मलाई त छँदै छ नि भन्ने महान् भावना हामीले लिन जरुरी छ । 

इच्छुक आम जनपक्षीय पत्रकारिताको मार्गदर्शक थिए । नेपाली जनपक्षीय पत्रकारिताका एक आदर्श, जनयुद्धका आदर्श नायक इच्छुकका योगदानलाई थप स्थापित गर्न आवश्यक छ । इच्छुकका वीरता, बलिदान र आदर्श नायकत्वबाट धेरै कुरा सिक्दै जीवन व्यवहारमा लागु गर्न सक्नुपर्छ । अनि मात्र इच्छुकप्रतिको सच्चा सम्मान हुन जान्छ । समाज रूपान्तरण अभियानमा निरन्तर खट्न सक्ने इच्छुक आस्था र निष्ठामा सतिसाल थिए । उनले जनपक्षीय पत्रकारिताको क्षेत्रमा निर्वाह गरेको ऐतिहासिक भूमिका र देखाएको बाटोलाई आजको सन्दर्भमा जनपक्षीय पत्रकारले अनुसरण गर्न भुल्नु हुँदैन । 

विचार र व्यवहारको तादात्म्यता, उच्च आदर्शयुक्त जनपक्षीय जीवनशैली, आस्था र निष्ठाप्रति समर्पित जीवन नै इच्छुकबाट सिक्नुपर्ने विषयवस्तु हुन् । हामी जे भन्छौँ, त्यही जीवन व्यवहारमा लागु गर्न सक्नु नै इच्छुकप्रतिको सच्चा सम्मान हुनेछ । देशको मुक्ति र जनताको पक्षमा कमल चलाउँदा जेलनेल हुँदै अन्ततः जीवन नै बलिदान गर्न तयार हुने इच्छुकको जीवनबाट त्याग र समर्पण र जनपक्षीय पत्रकारिताको मूल्य सिक्न सक्नुपर्छ । 

कतिपय मान्छे मरेर पनि सधैँ बाँचिरहेका छन् । हो, कृष्ण सेन ‘इच्छुक’ यस्तै एउटा महान् मान्छे थिए, जो मरेर पनि सधैँ बाँचिरहेका छन् । जनपक्षीय पत्रकारिता, प्रगतिवादी साहित्य र राजनीतिक क्षमताको एकीकृत व्यक्तित्व इच्छुक आफ्नो आस्था र विचारप्रति सधैँ अडिग थिए । समाजमा हुने अन्याय, अत्याचारविरुद्ध कलममार्फत गर्जने जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आदर्श व्यक्तित्व ‘इच्छुक’प्रति हार्दिक श्रद्धासुमन !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सागर पन्त
सागर पन्त
लेखकबाट थप