सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

कारबाहीको निर्णयबाट ब्याक भए राजेन्द्र लिङ्देन

सोमबार, १४ जेठ २०८१, ११ : १७
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीका तीन जना नेतामाथि भएको कारबाहीसम्बन्धी निर्णयबाट ब्याक भएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्ने बहुमत केन्द्रीय सदस्यहरुले प्रेम बलायर, ऋद्दि राणा र निराजन बमलाई चार वर्षको लागि निलम्बन गर्ने अध्यक्षको निर्णय गलत भएको भन्दै तीव्र आलोचना गरेका थिए । 

साढे दुई महिनाअघि पार्टी कार्यालयमा नेता ठाकुर मोहन श्रेष्ठमाथि हातपातमा संलग्न भएको भन्दै पार्टीको अनुशासन समितिको सिफारिसमा अध्यक्ष लिङ्देनले तीनै जनालाई चार वर्षका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।
 
तर, यो निर्णयसँगै पार्टीभित्र तीव्र मतान्तर हुँदै आएको अवस्थामा हाल आएर भने समस्या नै समाधानतिर पुगेकाले निर्णय फिर्ता लिन लिङ्देन तयार भएका हुन् । सोमबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैकठकमा कुटपिटको घटनासम्बन्धी विषय समाधान भएकाले तीनै जनाको निलम्बन फिर्ता लिने सहमति बनेको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।

‘समस्या नै समाधान भइसकेको छ भने अब अरु विषय पनि बाँकी रहने कुरा भएन’, उनले भने । उनीहरुको कारबाही फिर्ताको विषय केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।

राप्रपाको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक सोमबार सम्पन्न हुँदैछ । बैठक आइतबार नै सकिने भनिएपनि छलफल नसकिएकाले आज एक दिन लम्बिएको हो।

के हो विवाद ?

फागुन २७ गते उपाध्यक्ष बिक्रम पाण्डसँग भएको विवादपछि नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा कुटपिट भएको थियो । यसपश्चात राप्रपाले घटनामा संलग्न भएको भन्दै बलायर, राणा र बमलाई चार वर्षको लागि निलम्बन गर्दै मुद्दा चलाउने निर्णय गरेको थियो । 

तीन जनासहित उपाध्यक्ष विक्रम पाण्डे उपर समेत ज्यान मार्ने उद्योगको उजुरी दायर गरेको थियो । तर, प्रमाण नपुगेको भन्दै महान्यायधिवक्ताको कार्यालयले सो मुद्दा दर्ता नगरी फिर्ता पठाएको थियो ।

कानुनी प्रक्रियाबाट आरोपित तीन युवा मुक्त भएपनि राप्रपाले निलम्बन फिर्ता लिएको थिएन । यहीबीचमा कार्य सम्पादन समितिको ९५ प्रतिशतले निलम्बन फिर्ता लिनुपर्छ भने पनि लिङ्देनले करिव तीन महिना आलटाल गरिरहेको नेताहरु बताउँछन् । 

यहीबीच केन्द्रीय कार्य समितिको पहिलो दिन वैठक आरम्भ भएलगत्तै महामन्त्रीहरु धवलशम्शेर राणा र कुन्ती शाहीलगायत तीन दर्जन केन्द्रीय सदस्यहरुले तीन युवा नेतामाथि भएको अन्यायप्रति वैठकको ध्यानाकर्षण गराएका थिए । लिङ्देनले कार्यपत्र प्रस्तुत गरुन्जेल उनीहरुले उठेर अर्थपूर्ण विरोध र दवाब दिएका थिए ।

कानुनी प्रक्रियाबाट निर्दोष साबित भइसक्दा कारवाही कायम राख्नु अन्यायपूर्ण भएको, पार्टीले आफ्नै नेता कार्यकर्तामाथि ज्यान मार्ने मुद्दा लगाउनु पड्यन्त्रमूलक भएको भनेर केन्द्रीय सदस्यहरुले अध्यक्षको पूर्ण आलोचना गरेका थिए ।

लिङ्देन निकट केन्द्रीय सदस्यहरुले पार्टी सरकारमा जानु पर्ने, अध्यक्षले एकल तजबीजमा पार्टी संचालन गर्न रोकटोक गर्न नहुने भन्दै आवाज उठाएका थिए । बैठकमा तीव्र दवाव उत्पन्न भएपछि आइतबार नै पूर्वअध्यक्षहरु पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले बहुमत केन्द्रीय सदस्यहरुको भावना कदर गर्नुपर्दछ भनेर अध्यक्षलाई प्रजातान्त्रिक विधी सम्मान गर्न सुझाएका थिए । सोही अनुसार आज पदाधिकारी बैठकमा कारबाही फिर्ता लिने सहमति भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप