सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
काठमाडौँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
सोमबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीशहरु राम बहादुर थापा र रितेन्द्र थोपाको इजलासले झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोगमा पौडेललाई दोषी ठहर गरेको हो ।
विशेषले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा अनुसार कसुर गरेको ठहर गर्दे १ वर्ष कैद र १० हजार जरिवाना हुने फैसला सुनाएको छ । विकलले आफ्नो अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र रहेको कुरा ढाँटेर नेपालमा सरकारी सेवामा कार्यरत रहेको ठहर गर्दै उक्त सजाय सुनाएको हो ।
पौडेललाई भ्रष्टाचार निवारण ऐन अनुसार ६ महिना र सार्वजनिक संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत रहेकाले भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप ६ महिना कैद सजाय हुने भन्दै एक वर्ष कैद हुने विशेषको फैसलामा उल्लेख छ ।
कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति पत्र प्राप्त गरेको व्यक्ति उल्लिखित पदमा नियुक्तिको लागि अयोग्य हुने स्पष्ट प्रावधान हुँदा हुँदै ढाँटेर नियुक्ति लिएको फैसलामा उल्लेख छ।
‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशको स्थायी आवासीय अनुमति पत्र लिएको नेपालको नागरिक यस संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुनेछैन’, भन्ने संवैधानिक व्यवस्था गरिएको भएपनि उनी झुटा विवरण पेस गरेर सञ्चार मन्त्रालय अन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रका कार्यरत रहेको विशेषको ठहर छ ।
यसअघि उनी २ वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए । विशेषमा उनका विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको मुद्दा बाँकी नै छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण