बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

गण्डकीका मन्त्री देवकोटाको गुनासो– यति धेरै राजनीति प्रतिशोध नराखेको भए हुन्थ्यो

शुक्रबार, ३२ जेठ २०८१, १७ : ३६
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको सिफारिसमा कारबाहीमा परेका गण्डकी प्रदेशका ऊर्जामन्त्री तथा नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले आफूमाथि प्रतिशोध राखिएको प्रतिक्रिया दिएका छन् । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको जानकारी गराएका थिए । 

आजै बसेको माओवादी संसदीय दलले उनलाई कारबाही गरेको सूचना संसद् सचिवालयलाई गराएको छ । तर मन्त्री देवकोटाले आफूमाथिको कारबाही प्रतिशोधपूर्ण भएको प्रतिक्रिया दिएका हुन् । सत्ता गठबन्धन दल र पार्टीभित्र छलफल गरेर कानुनी उपचारका लागि अदालत जाने सङ्केत गरेका छन् । 

‘म राजनीतिक, कानुनी र संवैधानिक प्रक्रिया अन्तर्गत नै प्रदेशसभामा निर्वाचित भएर आएको हो । यी सबै प्रक्रिया मिचेर राजनीतिक प्रतिशोधका आधारमा प्रहार भयो । अब कानुनी उपचारका लागि अगाडि बढ्छु’, मन्त्री देवकोटाले रातोपाटीसँग भने, ‘पहिला विषयवस्तु बुझ्छु । सत्ता गठबन्धनसँग र पार्टीभित्र छलफल गर्छु । त्यसपछि म आफ्नो कुरा लिएर अगाडि बढ्छु । मेरो पार्टी नेपाल समाजवादी पार्टी हो । माओवादीले कारबाही गर्न सक्दैन । राजनीतिक प्रक्रियामा यस्ता घटना नहुने थियो भयो । उहाँ (माओवादी) ले यतिसम्म राजनीतिक प्रतिशोध नसाँधेको भए हुन्थ्यो ।’

जेठ २८ गते देवकोटाले माओवादी संसदीय दलको ह्विप उलङ्घन गरी मुख्यमन्त्री सुरेन्द्रकुमार पाण्डेलाई विश्वासको मत दिएका थिए । ह्विप उलङ्घनको आरोपमा देवकोटालाई बिहीबार स्पष्टीकरण सोधेको थियो । 

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बिहान देवकोटालाई कारबाही गरेको सूचना माओवादी संसदीय दलले संसद् सचिवालयमा जानकारी गराएको थियो । सोही पत्रको आधारमा सभामुख धितालले प्रदेशसभा बैठकमा पदमुक्त भएको जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप