बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्री यादवसँग बिरामी र कुरुवाको गुनासो

शुक्रबार, ३२ जेठ २०८१, २२ : ५०
शुक्रबार, ३२ जेठ २०८१

चितवन । पदभार सम्हालेको एक महिनापछि भरतपुर अस्पताल अनुगमनमा आएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई बिरामी र कुरुवाहरुले गुनासो राखेका छन् । 
 
अस्पतालका आकस्मिक कक्षमा उपचार गराइ रहेका राप्ती नगरपालिका–९ का हिमाल राईले डायलासिसका बिरामीको समस्या मन्त्रीसमक्ष सुनाए । उनले भने, “हामीलाई उपचारमा समस्या भयो । छुट्टै वार्डको व्यवस्था गरिदिनुपर्यो ।” उनले डायलासिस गर्ने बिरामीको वार्ड एउटै भएमा उपचारमा सहज हुने भएकोले उक्त व्यवस्था गरिदिन मन्त्री यादवलाई अनुरोध गरे ।
 
ज्वरोका कारण बिहीबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका भरतपुर महानगरपालिका–१४ का कृष्ण पराजुलीले भर्ना हुनका लागि शय्या पाउनै मुस्किल भएको गुनासो गरे । उनले भने, “हिजो बेलुकीदेखि शय्या खोजेको अहिले बल्ल एउटा खाली भयो । यसरी कसरी उपचार गर्न सकिन्छ ?”
 
बिरामीका कुरा सुनिसकेपछि मन्त्री यादवले भने, “तपाईहरुको कुरा जायज हो, सेवा पाउनुपर्छ । यसका लागि म अस्पताल प्रशासनसँग कुरा गर्छु ।”  औषधि किन्नका लागि अस्पतालको फार्मेसी अगाडि बसेका बिरामी र कुरुवाले बीमाबाट आवश्यक औषधि नपाउने गरेको गुनासो गरे ।

सस्तो औषधि फार्मेसीमा पाए पनि महँगो औषधि बाहिरबाट किन्नुपर्ने उनीहरुको गुनासो थियो । गुनासो सुनिसकेपछि मन्त्री यादवले फार्मेसीका कर्मचारीले खाजा खान तालिका मिलाएर जान र औषधि पर्याप्त मात्रामा राख्न निर्देशन दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप