बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बजेट

वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोड ४८ लाखको बजेट

शनिबार, ०८ असार २०८१, १७ : १३
शनिबार, ०८ असार २०८१

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि करिब ३ अर्बको हाराहारीमा बजेट ल्याएको छ । शनिवार वीरगन्जको एक होटलमा आयोजित नगर सभामार्फत उपमेयर इम्तेयाज आलमले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट प्रस्तुत गरेका हुन् ।   

चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि महानगरपालिकाले ६२ करोड कम बजेट ल्याएको छ । चालू आर्थिक वर्षमा महानगरले ३ अर्ब ५१ करोडको बजेट ल्याएको थियो । 

बजेट प्रस्तुत गर्दै उपमेयर आलमले भने, ‘चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ पच्चिस प्रतिशत रोक्का छ, घरजग्गा रजिस्ट्रेसन आयस्रोत समेत घटेको छ । यी समस्याहरूका कारण आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको हो । ’ 

नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख अर्थात ७०.७ प्रतिशत राखिएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, सङ्घीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब, २७ करोड ९० लाख, सङ्घीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख छुट्ट्याएको छ ।

त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको उपमेयर आलमले बताएका छन् ।

नगरसभामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरू र कर्मचारीहरूको उपस्थिति थियो । मेयर राजेशमान सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

बजेटको पूर्णपाठ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप