बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

चिसापानी–वीरेन्द्रनगर ३३ केभी प्रसारण लाइनको विवाद समाधान

आइतबार, ०९ असार २०८१, २० : १०
आइतबार, ०९ असार २०८१

सुर्खेत । स्थानीयको अवरोधको कारण अवरुद्ध भएको चिसापानी–बावियाचौर– बड्डीचौर वीरेन्द्रनगर ३३ केभी विद्युत् प्रसारण लाइनको समस्या समाधान भएको छ । 

मुख्यमन्त्री यामलाल कँडेलको रोहवरमा सरोकारवाला र बिद्युत् प्राधिकरणबिच ६ बुँदै सहमति भएसँगै आइतबारदेखि काम पुनः सुचारु भएको हो । 

बराहताल गाउँपालिका–५, बड्डीचौरका स्थानीयहरूले विभिन्न मागहरू राख्दै अवरोध गरेका थिए । स्थानीयहरूले गाडेका पोल उखालेर फालिदिएका थिए । विद्युत् पोलका कारण जमिनको प्रभाव मुल्यांङकन कम हुने, मूल्य पनि कम हुने र बिक्री गर्दा पनि समस्या हुने भएकाले स्थानीयले उक्त स्थानबाट विद्युत् लाइन बिस्तार नगर्न आग्रह गरिरहेका थिए ।

स्थानीयको अवरोधका कारण चिसापानी–बाचियाचौर–बड्डीचौर हुँदै वीरेन्द्रनगर आउने उक्त ३३ केभी प्रसारण लाइनको काम रोकिएको थियो ।

आइतबार सरोकारवालाहरूसँग छलफलले बिद्युत् प्राधिकरणले प्रसारण लाइन क्षेत्रका बस्तीमा कालो तार लगाउने, ३ फेसको लाइन उपलब्ध गराउनेदेखि स्थानीयको कम क्षतिमा बिद्युत् पोल विस्तार गर्ने लगायतका सहमति भएका छन् ।

मुख्यमन्त्री कँडेलले प्रसारण लाइनको विवाद समाधानपछि द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिए । स्थानीय सरोकारवालाहरूको माग सम्बोधनमा आफ्नो पनि खबरदारी रहने उनको भनाइ छ । 

उक्त ३३ केभिए प्रसारण लाइन केही दिनमा सम्पन्न हुने र वीरेन्द्रनगरसहित यस क्षेत्रमा देखिएको बिद्युत् समस्या केही रूपमा समाधान हुने अपेक्षा गरिएको छ । उता कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनले लोड धान्न नसक्दा वीरेन्द्रनगरमा विद्युत् सेवा अनियमित हुने गरेको छ । उक्त लाइनमा पश्चिमबाट आएको ३३ केभी थपिएपछि अहिलेको समस्या केही रूपमा हल गर्ने बताइएको छ ।

उक्त वडाका वडाध्यक्ष धिमराज जोल्मीले आफूहरू विकास विरोधी नभएको तर नागरिकको ज्यान जोखिममा परेपछि बाध्य भएर प्रसारण लाइनलाई अवरोध गरेको बताए । 

उक्त क्षेत्रबाट प्रदेशसभा सदस्य रहेका पूर्वमन्त्री विन्दमान विष्टले पनि विवाद समाधानमा भूमिका खेलेका छन् । यस्तै जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, बराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारी पनि विवादित क्षेत्रमै पुगेर स्थानीयसँग छलफल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप