सबै मधेसवादी दलहरू नयाँ सत्ता गठबन्धनमा !
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार उथलपुथल हुने गरी बनेको नयाँ सत्ता गठबन्धनमा मधेस केन्द्रित सबै दलहरू सामेल हुने सम्भावना देखिएको छ ।
एक अर्काबिच तिक्ततापूर्ण राजनीति गरिरहेका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीले नयाँ सत्ता साझेदारीमा सामेल हुने सङ्केत गरेसँगै यस्तो सम्भावना देखिएको हो ।
यादवले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सहमति भई बनेको नयाँ गठबन्धनलाई साथ दिने घोषणा गरिसकेका छन् ।
रातोपाटीसँग कुरा गर्दै उनले परिवर्तित अवस्थामा बनेको गठबन्धनलाई साथ रहने बताए । यसअघि जसपाले कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा आबद्ध थियो ।
डा.सीके राउत नेतृत्वको जनमत अहिलेको नयाँ गठबन्धनमा जोडिने भएको छ । मधेस प्रदेशको सरकारलाई निरन्तरता दिन यो दल सत्ता गठबन्धनसँग मिल्नेछ ।
यसअघि माओवादी–एमाले गठबन्धनमा रहेर मधेस प्रदेशको मुख्यमन्त्री पद पोल्टामा पारेको जनमत आफ्नो शक्ति कायम राख्न चाहन्छ ।
जनमतका उपाध्यक्ष ई.दीपक साहले आफ्नो दलको नेतृत्वमा रहेको मधेस सरकारलाई निरन्तरता दिनेबारे कुरा भइरहेको बताए ।
‘कांग्रेस–एमाले गठबन्धनमै पार्टी रहने लगभग निश्चित छ’, उनले रातोपाटीसित भने । यद्यपि पार्टीमा यसबारे छलफल हुन बाँकी रहेको उनले बताए ।
यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले कांग्रेस–एमाले गठबन्धनलाई सघाउने भएका छन् । लोसपाका महासचिव मनिष मिश्रले बदलिँदो परिस्थितिबारे पार्टीमा छलफल हुन बाँकी भए पनि कांग्रेस–एमाले गठबन्धनप्रति आफ्नो दल सकारात्मक रहेको रातोपाटीलाई बताए ।
लोसपा पछिल्लो समय कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा थियो । कांग्रेसले प्रचण्ड सरकार विस्थापन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने समझदारी गरेसँगै यो दल स्वतः नयाँ गठबन्धनमा आबद्ध हुने देखिएको छ ।
राई नेतृत्वको जसपा कांग्रेस–एमाले गठबन्धनप्रति सकारात्मक देखिएको छ । पार्टी महासचिव इस्तियाक राईले बदलिँदो नयाँ राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न पार्टीमा छलफल चलिरहेको बताए ।
यसले पहिलो पटक सबै मधेस केन्द्रीकृत दलहरू एउटै गठबन्धनमा अट्ने सम्भावना बलियो बनेको हो ।
कांग्रेस–एमालेबिच मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने समझदारी भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण