बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

आज रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपालतिर सर्दै, यी जिल्लामा भारी वर्षाको सम्भावना

बुधबार, २६ असार २०८१, २१ : २६
बुधबार, २६ असार २०८१

काठमाडौँ । पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको मनसुन न्यून चापीय रेखा आज रातिबाट अझ नेपालतिर सर्ने  सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि  नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको हो । 

यी दुवै प्रणालीहरूको प्रभावले बुधबार रातिदेखि शनिबार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको महाशाखाले बताएको छ। शनिबार बिहानसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा  र  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ । 

आज रातिदेखि शनिबार बिहानसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको,  सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने बताइएको छ ।

यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आग्रह गरिएको छ ।

mausam

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप