जानकीदेवी मृत्यु प्रकरणमा प्रहरीले बनायो कमजोर मिसिल
विराटनगर । विराटनगर–४, इक्राही घर भएकी जानकीदेवी मण्डलको रहस्यम मृत्यु प्रकरणमा प्रहरीले कमजोर मिसिल बनाएर सरकारी वकिलको कार्यालयलाई दिएको पाइएको छ । प्रहरीले अभियुक्त भनिएका जानकीदेवीका श्रीमान दिलिप मण्डलसँग मिलेमतो गरेर मिसिल कमजोर बनाएको मृतक जानकीका आफन्तको दाबी छ ।
उता, जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सोही मिसिलको आधारमा मुद्दा दर्ता गर्न तदारुकता देखाएको छैन । प्रहरीले अनुसन्धानको कागजात सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको बताउने र जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नै नचलाउँदा पीडितहरु सशङ्कित बनेका छन् ।
सरकारी वकिलको कार्यालयले यसअघि नै सो विषयमा मुद्दा नचलाउने निर्णय गरेको थियो । तर, उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको सो निर्णय बदर गर्दै मुद्दा चलाउन आदेश गरे पनि जिल्ला वकिलको कार्यालयले अझै आनाकानी गरिरहेको छ ।
सोही कारण बुधबार जानकीदेवी मण्डलको रहस्यम मृत्यु प्रकरणमा अदालतमा मुद्दा दर्ता गराउन माग राख्दै पीडित पक्षले जिल्ला सरकारी वकिलको कार्यालय अगाडि धर्ना दिएका छन् । सुनसरी छिटाहा माइती घर भइ विराटनगर–४ इक्राही घर भएकी जानकी मण्डलको जेठ २९ मा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।
मृतकका माइती पक्षले भने श्रीमान् दिलिप मण्डलले हत्या गरेर आत्महत्या देखाउन शव झुण्ड्याएको आरोप लगाएका छन् । दिलिप र जानकीको १८ वर्ष अगाडि मागी विवाह भएको थियो । विवाह गरेको दुई वर्षमा उनीहरूका दुई छोरा जेठो १६ वर्षीय रुपेश मण्डल र अर्का ८ वर्षका छन् ।
दिलिपले उनकी प्रेमिका र प्रेमिकाको आमासँग मिलेर जानकीलाई मारेको आफन्तको आरोप छ । उनका छोरा रुपेश पनि बुबाले आमालाई मारेको दाबी गर्छन् । मृतककी माइती पक्षले मण्डलले हत्या गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा ‘आत्महत्या दुरूत्साहन’ मुद्दामा उजुरी दिएका थिए । जानकीको मृत्यु भएको ४४ दिन बितिसक्दा पनि उक्त मुद्दा अदालतमा दर्ता नै भएको छैन ।
उच्च सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन भनेपछि जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग अदालत लैजाने तयारी गरेको छ । पीडित पक्षले भने चाँडोभन्दा चाँडो अभियोग अदालत लैजान माग राखेका छन् । ‘यसअघि पनि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गर्यो ।
उच्चले बदर गरेर मुद्दा चलाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकिलप्रति हामीलाई शङ्का छ । त्यही भएर अभियोग अदालत बुझाउन हामीले माग राखेका हौँ,’ मृतकका आफन्त सन्तोष मण्डलले भने, ‘जे हुन्छ अदालतबाट न्याय निरुपण हुनेछ । त्यसैले चाँडो अभियोग लैजान हामी माग गर्दछौँ ।’
जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता सुवासकुमार भट्टराईले आइतबारसम्म अभियोग अदालतमा दर्ता गर्ने बताए । ‘आत्महत्या दुरुत्साहन मुद्दा हेर्ने जिल्ला सहायक न्यायाधिवक्ता बिदामा हुनुुहुन्छ । उहाँ बिहीबारसम्म कार्यालयमा हाजिर हुनुहुन्छ । त्यसपछि अभियोजन तयार गरेर आइतबारसम्म अदालतमा अभियोग लैजाने छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडिरहेको विमानमा यात्रुले खानामा जिउँदो मुसा भेटेपछि आकस्मिक अवतरण
-
तनहुँ, गोरखा र नवलपुरमा आज दिनभर विद्युत् अवरुद्ध हुने
-
तल्लो सेती जलविद्युत् : ईआईएउपर प्राप्त सुझाव विभाग र एडीबीमा बुझाइयो
-
५२ प्रतिशतले बढ्यो चिया निर्यात
-
गैरआवासीय नेपालीद्वारा कतारमा रक्तदान
-
सुनवलमा डेढ करोडभन्दा बढी लगानीमा बनेको पशु अस्पताल अलपत्र