सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाजा आक्रमणविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन

आइतबार, १३ साउन २०८१, २३ : ००
आइतबार, १३ साउन २०८१

काठमाडौँ ।  प्यालेस्टाइनमा निरन्तर भइरहेको इजरायली आक्रमणको विरुद्धमा काठमाडौँमा विरोध सभा सम्पन्न भएको छ । प्यालेस्टाइनी मुक्तिकामी जनताको पक्षमा ऐक्यबद्धता जनाउनका लागि राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले आइतबार माइतीघर मण्डलामा विरोध सभा आयोजना गरेको हो।

विरोध सभामा सहभागी वक्ताहरूले इजरायली आक्रमण, अमेरिका लगायत साम्राज्यवादी मुलुकहरूको उक्साहट र अस्पताल तथा विद्यालयहरूमा भइरहेको हमलाको कडा शब्दमा आलोचना गरे । कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता कमरेड परि थापाले दोस्रो विश्वयुद्धपछि तेस्रो विश्वका औपनिवेशिक मुलुकहरू मुक्त हुँदै गए पनि प्यालेस्टाइन चाहिँ साम्राज्यवादीहरूकै योजनामा खोसिएको सन्दर्भ उल्लेख गर्दै प्यालेस्टाइनी जनताले दुःखको ७५ वर्ष पार गरेको स्मरण गरे ।

उनले भने, ‘१४ मे १९४८ मा इजरायल नामको नक्कली राष्ट्र स्थापना गरेर प्यालेस्टाइनी जनतालाई दुई किनारमा विभाजित बनाउने काम साम्राज्यवादीहरूकै योजनामा भएको हो ।’ थापाले प्यालेस्टाइनी मुक्ति आन्दोलनका पक्षमा रहेका भए पनि त्यहाँका फरक–फरक समूहमा विभाजित सङ्गठनहरू हालै संयुक्त रूपमा आन्दोलन गर्ने सहमतिमा पुग्नु सकारात्मक कदम रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड लोकनारायण सुवेदीले आफ्नो मुलुकको स्वतन्त्रताको पक्षमा बहादुरीपूर्वक लड्ने प्यालेस्टाइनी जनताका पक्षमा संसारभरिका न्याय प्रेमी जनताले ऐक्यबद्धता जनाएको बताए ।

‘राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले यसअघि पनि इजरायल आक्रमणको विरोधमा यही ठाउँमा (माइतीघरमा) विरोध प्रदर्शन गरेको थियो । अहिले पनि हामी फेरि आफ्नो ऐक्यबद्धता प्रकट गर्न उभिएका छौँ’, सुवेदीले भने । उनले प्यालेस्टाइनका विभिन्न समूहहरू साझा उद्देश्यका लागि एकै ठाउँ हुने भनी यसै साता गरेको समझदारी स्वागतयोग्य भएको पनि चर्चा गरे ।

2

 अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समितिका सदस्य कमरेड मोहन खतिवडाले अमेरिकी साम्राज्यवादको उक्साहटमा प्यालेस्टाइनमाथि निरन्तर आक्रमण भएको भन्दै यसका विरुद्धमा सङ्घर्षशील प्यालेस्टाइनी जनताका पक्षमा ऐक्यबद्धता कार्यक्रमहरू गरिएको बताए ।

उनले क्रान्तिकारीहरूले यस प्रकारका कार्यक्रमलाई अझ सशक्त पार्नुपर्ने खाँचो पनि औँल्याए । विरोध सभामा प्यालेस्टाइनका राष्ट्रिय कविका रूपमा परिचित विश्वविख्यात अरबी स्रष्टा महमुद दार्विशको ‘परिचय पत्र’ शीर्षकको कविता वाचन गरिएको थियो । कविता कवि शैलज पौडेलले वाचन गरेका थिए ।

 राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालका संयोजक कमरेड सन्तबहादुर नेपालीले माइतीघरमा आज उभिएको जनपङ्क्तिलाई साम्राज्यवादविरुद्धको र अन्यायपूर्ण युद्धको विरुद्धको सन्देशका रूपमा अर्थ्याए । संयोजक नेपालीको अध्यक्षतामा भएको विरोध सभामा सहभागीहरूले साम्राज्यवाद, इजरायली अतिक्रमणकारी र अन्यायपूर्ण युद्धका विरुद्धमा नाराबाजी पनि भएको थियो । 

गत अक्टोबर ७, २०२३ मा हमासबाट आक्रमण सुरु भएपछि चलेको युद्धमा आजसम्म झन्डै ४० हजार जनाको ज्यान गइसकेको छ । झन्डै एक लाख घाइते अवस्थामा छन् । संयुक्त राष्ट्र सङ्घकै तथ्यांकअनुसार १ लाख ८० हजार भन्दा धेरै मान्छे यस बीचमा विस्थापित भएका छन् । पछिल्लो समय इजरायलले अस्पताल क्षेत्र, विद्यालय क्षेत्रमा पनि आक्रमण दोहोर्‍याइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप