मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

विभिन्न जिल्लाबाट लागु औषधसहित पाँच जना पक्राउ

शुक्रबार, १८ साउन २०८१, १२ : २३
शुक्रबार, १८ साउन २०८१

काठमाडौँ । विभिन्न जिल्लाबाट लागु औषधसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, मकवानपुर, झापा लगायतका जिल्लाबाट पाँच जना पक्राउ परेका हुन् । 

मोरङको विराटनगर महानगरपालिका–१६ यादव टोल बस्ने ४३ वर्षीया भोलिमाया यादवलाई  १ किलो ८० ग्राम   गाँजा र नगद २ लाख ४१ हजार ५ सय रुपैयाँसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र

लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरीमाई नजिकै पिपल चौतरास्थित सडकबाट १० किलो २ सय ५० ग्राम चरेससहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम रामग्राम नगरपालिका–८ बस्ने ४३ वर्षीय अनिलभर चौधरी र पर्सा सखुवा प्रसौनी गाउँपालिका–१ सथवल बस्ने २७ वर्षीय हरि गौरव रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ५८३९ नम्बरको बसलाई बिहीबार जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त चरेससहित पक्राउ गरेको हो ।

उता, झापाको शिवसताक्षी नगरपालिका–८ रत्नचोक बस्ने २४ वर्षीय फुर्वा तामाङलाई १ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बिहीबार राति उनको घर तलासी गर्दा उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी पर्साको ठोरी गाउँपालिका–२ सुन्दरबस्ती बस्ने ३० वर्षीया अनिता गुरोलाई पनि करिब ५० किलोग्राम गाँजा  सहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले बिहीबार राति उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

हाल फरार अनिताको श्रीमान् नन्दु गुरोको प्रहरीले खोजी भइरहेको जानकारी दिएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप