बुधबार, ०२ असोज २०८१
ताजा लोकप्रिय
आयात/निर्यात

धान र चामलको आयात घट्दो तर कारण पहिल्याउन समस्या

ठुलो सङ्ख्यामा नेपाली बिदेसिएका कारण खाद्यान्न आयात घटेको हो ?
मङ्गलबार, २२ साउन २०८१, ०६ : २९
मङ्गलबार, २२ साउन २०८१

काठमाडौँ । नेपालमा केही वर्ष यता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्कले देखाउँछ । तीन वर्ष यता धान र चामलको आयात घट्टै गएको सरकारी तथ्याङ्क छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०-०८१ मा ९० हजार मेट्रिक टन चामल आयात भएको छ । यसका लागि १० अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष २०७९-०८० मा २ लाख ३५ हजार मेट्रिक टन चामल आयात भएको थियो । यो वर्ष १६ अर्ब ६६ करोड रुपैयाँ चामल आयातमा खर्च भएको विभागको तथ्याङ्क छ ।

त्यसको अघिल्लो आर्थिक वर्ष ५ लाख ८३ हजार मेट्रिक टन चामल आयात भएको थियो । यस बापत ३१ अर्ब ४५ करोड रुपैयाँ बाहिरिएको थियो ।

नेपालमा केही वर्ष यता धान आयात पनि घटेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०-८१ मा ३ लाख १९ हजार मेट्रिक टन धान आयात हुँदा १२ अर्ब ५ करोड रुपैयाँ खर्च भएको थियो ।

वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जाने नेपालीको सङ्ख्या बढ्दा खाद्यान्नको आयात घटेकाे कृषिविज्ञ तथा खानाका लागि खेतीपातीका अभियन्ता डा. कृष्णप्रसाद पौडेलको अनुमान छ ।

यस्तै, आर्थिक वर्ष २०७९-८० मा ५ लाख ५५ हजार मेट्रिक टन धान आयात भएको थियो, जसका लागि १९ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको थियो ।

आर्थिक वर्ष २०७८-७९ मा ५ लाख ४५ हजार मेट्रिक टन धान आयात हुँदा १६ अर्ब १२ करोड रुपैयाँ खर्च भएको थियो ।

धान र चामल आयातमा गिरावट आउनु विभिन्न पक्ष हुन सक्ने विज्ञ बताउँछन् । तथ्याङ्कमा गडबडी हुन सक्ने, नेपालको उत्पादन वृद्धि, भातमात्रै नखाएर अन्य खाद्यान्न उपभोग बढेको जस्ता कारणले पनि धान र चामल आयात घटेको हुन सक्ने उनीहरूको अनुमान छ । यस्तै, वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जाने नेपालीको सङ्ख्या बढ्दा पनि खाद्यान्नको आयात घट्ने कृषिविज्ञ तथा खानाका लागि खेतीपातीका अभियन्ता डा. कृष्णप्रसाद पौडेलको अनुमान छ ।

आर्थिक वर्ष २०७९-०८० को तुलनामा आर्थिक वर्ष २०८०-०८१ मा धानको क्षेत्रफल घटे पनि उत्पादन भने वृद्धि भएको सरकारी तथ्याङ्क छ । आर्थिक २०८०-०८१ मा धानको कुल उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन र त्यसको अघिल्लो आर्थिक वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको थियो ।

सरकारी तथ्याङ्कले तुलनात्मक हिसाबले धानको उत्पादन केही वृद्धि भए पनि धान र चामलको आयात अप्रत्यासित रूपमा घट्नु नपर्ने डा. पौडेलको भनाइ छ । ‘सरकारी तथ्याङ्कले ८ देखि ९ लाख मेट्रिक टन धान–चामल नपुग्ने भनिएको छ, यसलाई आधार मान्दा पनि घट्ने कुरा अस्वाभाविक मानिन्छ,’ उनले भने, ‘एकखालको धान चामल बाहेक अन्य खाद्यान्न खाने चेतना पनि बढेको छ । यसले पनि घटेको हुनसक्छ ।’

वार्षिक एक व्यक्तिले १३८ के.जी. चामल खपत गर्नुलाई नै आधार मान्ने हो भने बिदेसिएका ८ लाख ५३ हजार जनाले चामल खपत नगर्दा पनि धान र चामल आयातमा गिरावट भएको अनुमान लगाउन सकिन्छ । सो सङ्ख्याका आधारमा १ लाख १७ हजार मेट्रिक टन चामल खपत घटेको देखिन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरि बहादुर केसीको एक लेखमा विगत ४२ वर्षमा नेपालीको प्रतिव्यक्ति चामल खपत ७४ के.जी. प्रतिवर्षबाट झण्डै दोब्बर १३८ के.जी. पुगेको उल्लेख छ ।

आर्थिक वर्ष २०८०-०८१ मा वैदेशिक रोजगार वा अध्ययनका लागि बाहिर जानेको सङ्ख्या ८ लाख ५३ हजारको हाराहारीमा रहेको सरकारी तथ्याङ्क छ ।

वार्षिक एक व्यक्तिले १३८ के.जी. चामल खपत गर्नुलाई नै आधार मान्ने हो भने बिदेसिएका ८ लाख ५३ हजार जनाले चामल खपत नगर्दा पनि धान र चामल आयातमा गिरावट भएको अनुमान लगाउन सकिन्छ । सो सङ्ख्याका आधारमा १ लाख १७ हजार मेट्रिक टन चामल खपत घटेको देखिन्छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष ७ लाख ४१ हजार वैदेशिक रोजगारीका लागि बिदेशिएका छन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार गत वर्ष १ लाख १२ हजार जना अध्ययनका लागि विदेश गएका छन् । गत वर्ष अध्ययन र रोजगारीका लागि जम्मा ८ लाख ५३ हजार जना बाहिरिएका छन् ।

तीन वर्षमा चामल र धान आयातको विवरणः

data

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप