आइतबार, ३० भदौ २०८१
ताजा लोकप्रिय
नाउपा विवाद

रेशम चौधरीको नेतागिरी : कार्यकर्तालाई मौवाको रक्सी लिएर घरमै बोलाउने अनि चोरीको आरोप लगाउने

शुक्रबार, २५ साउन २०८१, १३ : २१
शुक्रबार, २५ साउन २०८१

बुटवल । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता रेशम चौधरीले बर्दियामा आफ्नो लाइनअनुसार पार्टीभित्र काम नगर्ने कार्यकर्तालाई चोरीको आरोपमा फसाउने प्रयास गरेको खुलेको छ ।

बर्दिया जिल्लाको राजपुर गाउँपालिका, नागरिक उन्मुक्ति पार्टीकी उपाध्यक्ष लक्ष्मी चौधरीलाई मौवाको रक्सी लिएर घरमै बोलाएका रेशमले पछि चोरीको आरोप लगाउँदै प्रहरी पठाएपछि बर्दियामा पार्टीका कार्यकर्ता असन्तुष्ट भएका छन् ।

लक्ष्मीलाई मौवाको रक्सी लिएर गुलरियाको तुलापुरस्थित आफ्नो घरमा चौधरीले बोलाएका थिए, जहाँ रेशम कान्छी श्रीमती आशा चौधरीसँग बस्ने गर्दछन् । 

साउन १८ गते साँझ रक्सी लिएर पुगेकी लक्ष्मीलाई रेशमले आज मासु खाने, यतै बस्ने भन्दै आग्रह गरे । उनीहरूले सुँगुर, ब्रोइलर कुखुराको मासु र मःमः समेत बनाएर खाए ।

खानपिनपछि केही राजनीतिक छलफलसमेत समेत भयो । सोही क्रममा लक्ष्मीले रेशमको लाइनभन्दा फरक विचार राखेकी थिइन् । अर्को दिन बिहानै रेशम घोडाघोडीको कार्यक्रमका हिँडेका थिए भने लक्ष्मी अघिल्लो दिनका भाँडा सफा गरेर आफ्नो घरमा फर्केकी थिइन् ।

लक्ष्मी घर फर्किएको केही समयपछि रेशमकी कान्छी श्रीमती आशाले जिल्ला प्रहरी कार्यालय बर्दियामा फोन गरेर लक्ष्मीमाथि चोरीको आरोप लगाउँदै पक्राउ गर्न भनेकी थिइन् ।

अझै रेशमका बुबा तथा बर्दिया क्षेत्र नं २ मा निर्वाचित सांसद लालवीर चौधरीका स्वकीय सचिवको रूपमा काम गरेका झग्गु चौधरी आफैँ गएर प्रहरीलाई लक्ष्मीको घर देखाएका थिए ।

इलाका प्रहरी कार्यालय राजपुरका डीएसपी सागर बोहराले जिल्ला प्रहरी कार्यालयमा रेशमकी श्रीमती आशाले केही सामान हराएको जानकारी गराएपछि जिल्लाले दिएको निर्देशन अनुसार लक्ष्मीलाई प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरेको रातोपाटीलाई बताए ।

सोधपुछ गर्दा केही नभेटिएपछि लक्ष्मीलाई अभिभावकको जिम्मा लगाएको उनले खुलाए । यता लक्ष्मीले आफ्नो प्रतिष्ठामा धक्का दिने काम रेशम र उनकी श्रीमती आशाले गरेको रातोपाटीलाई बताइन् ।

नागरिक उन्मुक्ति पार्टी राजापुर नगरपालिका अध्यक्ष लखन थारु पनि साउन १९ गते लक्ष्मीलाई प्रहरीले लगेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय राजापुर पुगेका थिए । उनले पार्टी नगर उपाध्यक्षजस्तो मान्छेलाई प्रहरी लगाएर फसाउन खोज्नु गलत भएको रातोपाटीलाई बताए ।

उनले भने, ‘म अचम्ममा परेको छु । पार्टीको नगर उपाध्यक्षजस्तो मान्छेलाई यस्तो गराउनु व्यक्तिगत या गुटगत आधारमा हुनुपर्छ । अन्यथा अरू केही होइन ।’

रेशम जेठी श्रीमती रञ्जिता श्रेष्ठसँग विवाद बढ्दै गएपछि पछिल्लो समय बर्दियामै धेरैजसो बस्ने गरेका छन् । पार्टीभित्र रञ्जिता र रेशम चौधरीको फरकफरक लाइन देखिएपछि कार्यकर्ता पनि दुई धारमा विभाजन हुन थालेका छन् । जसको असर तलसम्म पर्न थालेको देखिन्छ ।

अझै बर्दियाबाट सङ्घीय सांसदमा जितेका रेशमका बुबा लालवीर चौधरी पछिल्लो समय राजापुर क्षेत्र नजाने र कार्यकर्ताहरूसँग सम्पर्कमा पनि नरहने गर्दा हैरान भएको राजपुरका स्थानीय चनकबहादुर थारुले रातोपाटीलाई बताए ।

उनले भने, ‘उहाँ संसदमा एक पटक पनि बोल्ने होइन । बर्दियामा पनि कार्यक्रममा कतै देखिहुन्न । अझै हामीले गरेको फोनसमेत उठाउनुुहुन्न, जसले गर्दा हामी हैरान भएका छौँ ।’

लक्ष्मी के भन्छिन् ?

लक्ष्मीका अनुसार दिउँसो ३ बजेतिर रेशम चौधरीले फोन गरेर उनलाई मौवाको रक्सी लिएर आउन आग्रह गरे । 

साँझ लक्ष्मी रक्सी लगेर रेशम बस्ने घर तुलापुर पुगिन्, जहाँ श्रीमती आशा, रेशमकी आमा र एक जना घरमा काम गर्ने बालिका बस्ने गर्दछन् । रेशम पनि जेलबाट छुटेपछि प्रायः यहीँ बस्ने गर्दछन् ।

रेशमले लक्ष्मीलाई आज यतै बस्ने, मासु खाने भने । तर लक्ष्मीले राति घरै फकर्ने बताइन् । अनि सुँगुर र ब्रोइलर कुखुराको मासु पकायौँ । केही मःमः पनि तयार भयो । राति १० बजेको थियो ।

आफूले अब घर जान्छु भन्दा रेशमले यति राति किन जाने ? भोलि जानू भनेर बस्न आग्रह गरेको लक्ष्मी बताउँछिन् ।

कुराकानीकै क्रममा केही राजनीतिक प्रसङ्ग निस्किएको उनको भनाइ छ । लक्ष्मीले यो क्षेत्रबाट धर्म बहादुर चौधरीलाई अगाडि सानुपर्ने बताएकी थिइन् । धर्म अहिले प्रदेश सभा सदस्य हुन् ।

लक्ष्मीले रातोपाटीसँग भनिन्, ‘धर्म सरले राजापुरमा धेरै विकास गर्नु भएको छ । उहाँलाई संघको निर्वाचनमा उठाउनु पर्ने मेरो भनाइ थियो ।’

लुम्बिनी प्रदेश नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेतासमेत रहेका धर्म चौधरी रञ्जितासँग नजिक मानिन्छन् ।

‘सायद त्यो कुरा रेशम र उनकी कान्छी श्रीमती आशालाई मन नपरेको हुन सक्छ,’ लक्ष्मीले भनिन्, ‘अर्को दिन बिहानै रेशम चौधरी घोडाघोडीको कार्यक्रमका सहभागी हुने भन्दै घरमा चिया पनि नखाइकन हिँडे । मैले अघिल्लो दिनको जुठो भाडा माँझेँ । रेशमकी श्रीमती आशाले भिनाजु (रेशम)को गाडी आउँछ, अनि तिमीलाई पु¥याइदिन्छ समेत भनेकी थिइन् ।’

तर लक्ष्मीले आफै जान्छु भन्दै ११ बजेतिर हाइस चढेर घरमा आइन् । घरमा आएर आराम गरेको केही समय पछि रेशमका फुपाजु झग्गु चौधरी लक्ष्मीको घरमा आए । अनि प्रहरी पनि आयो । लक्ष्मीलाई प्रहरीले चोरीको आरोपबारे जानकारी गरायो ।

प्रहरीले गाडीमा हालेर इलाका प्रहरी कार्यालय राजापुरमा लैजाँदै थियो । त्यही बेला रेशमकी श्रीमती आशाले प्रहरीलाई फोन गरेर रिसको बेला बोलेको हुँ, केही नगर्नु, छाड्नु भनेकी थिइन् । तर फिल्डमा खटिएका प्रहरीले जिल्ला प्रहरी कार्यालयको निर्देशनमा ल्याएकाले बिचमा छाड्न नमिल्ने भन्दै प्रहरी कार्यालयमा पु¥याएका थिए ।

लक्ष्मीका अनुसार प्रहरीले उनलाई हतकडी भने लगाएको थिएन । इलाका प्रहरी कार्यालयमा लगेर डीएसपीले आफूसँग सामान्य सोधपुछ गरेको उनले रातोपाटीलाई बताइन् ।

उनी रेशम चौधरीको घरमा तीन पटक पुगेकी थिइन् । ‘रेशमको घरको बास यो नै पहिलो पटक हो,’ उनले भनिन्, ‘तर पछि मलाई धर्म सरको कुराले हो कि, के कारणले यस्तो चोरीको आरोप लगाउने काम भयो ? मैले बुझ्न सकेकी छैन ।’

इलाका प्रहरी कार्यालय लगेपछि पार्टीको नगर अध्यक्ष, वडा अध्यक्षहरू आएर सोधपुछ गर्न थालेपछि प्रहरीले आफूलाई छाडेको लक्ष्मीले बताइन् । ‘मलाई यस्तो व्यवहार गरिएकोमा पार्टीभित्र पनि छलफल चलेको छ । मेरो मानहानि भएको मलाई महसुस भएको छ ।’

पछि रेशमले उनलाई फोन गरेर घरभित्र कै सामान्य कुरा भएकाले अन्यथा नलिन आग्रह गरेका थिए । उनले भनिन्, ‘तर मेरो प्रश्न– घरकै विषय भएको भए किन मलाई चोरीको आरोप लगाउँदै मेरो घरमा प्रहरी पठाएको हो ? अहिले मैले रेशमको नम्बर ब्लक गरिदिएको छु । विनाकारण बेइज्जत गराउँदा दुःख लाग्ने रहेछ ।’

यसैबिच रेशम चौधरीले आफूलाई लक्ष्मी चौधरीको विषयमा केही थाहा नभएको दाबी गरेका छन् । लक्ष्मीको विषयमा रातोपाटीले सोध्नेबित्तिकै उनले अंग्रेजीमा भने, 'आई डन्ट नो अबाउट लक्ष्मी चौधरी (मलाई लक्ष्मी चौधरीबारे थाहा छैन) !' यति भनेर उनले फोन काटिदिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप