मुलुकको अर्थतन्त्र सुधार गर्ने नेतृत्व कांग्रेसले लिनुपर्छ : विनोद चौधरी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले कांग्रेसले दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने बताएका छन् । सोमबार कांग्रेस पार्टीको केन्द्रीय समिति बैठकमा राखेको धारणाबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले मुलुकको अर्थतन्त्र सुधार गर्ने नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका हुन् ।
चौधरीले कांग्रेसको इतिहास र विगतका अर्थतन्त्रका सुधारका कामले पनि मुलुकको दोस्रो चरणको अर्थतन्त्र सुधारको नेतृत्व लिन चुकको बताए । उनले संकुचनमा गएको अर्थतन्त्रको दोस्रो चरणको सुधार गर्नेगरी कांग्रेसले पार्टीको स्पष्ट दृष्टिकोण बनाएर जान आवश्यक रहेको बताए । उनले कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अहिलेसम्म अस्पष्ट रहेको बताए । अब कांग्रेसको आर्थिक दृष्टिकोणलाई फेरि एकपटक नयाँ ढंगले परिभाषित गर्ने बेला आएको चौधरीको धारणा थियो । अब कांग्रेसले राजनीतिक आन्दोलन मात्रै नभई आर्थिक नीति र दृष्टिकोणमा रहेका अस्पष्टता हटाउन जरुरी रहेको उनले बताए । उनले कांग्रेसले दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिने कुरामा अलमलिन नहुने उल्लेख गरे ।
उनले भने,‘मुलुकको अर्थतन्त्र सजिलोसँग हेरे पनि अवस्था त्यस्तो छैन । नेपाली काँग्रेसले २०४८ सालमा गरेको नयाँ उदार अर्थतन्त्र निजी क्षेत्र निर्देशित अर्थतन्त्रबाट राज्यले परिवर्तन भोग्यो । त्यसैको भरमा अहिले राज्य चलिरहेको छ । अब सधैँभरि त्यसैको भरमा राज्य चल्न सक्दैन । त्यो कामको इतिहासमा नेपाली काँग्रेसलाई हेर्ने हो २००८ सालमा पहिलो बजेटमा बैक खोल्ने कुरा गरेको रहेछ । २००८ साल देखि अर्थतन्त्रलाई रूपान्तरण गर्ने क्रान्ति गर्ने पार्टीले अहिले आएर दोस्रो चरणको अर्थतन्त्र सुधार गर्न किन उदासीन देखिएको छ ।’
चौधरीले ८० प्रतिशतभन्दा बढी लगानीको अभिभारा बोकेको निजी क्षेत्र यतिबेला निराश र त्रसित रहेको बताए । उनले कुन पार्टीले निजी क्षेत्रको आकांक्षा, सपना र भोलिको नेतृत्व गर्छन् भन्ने कुरामा समेत अन्योल रहेको बताए । उनले अब निजी क्षेत्रको लिड गर्ने पार्टी कांग्रेस बन्ने अवसर गुमाउन नहुने बताए ।
चौधरीले कृषिसँग प्रत्यक्ष जोडिएको मल समयमै नपाउनुपर्ने परिस्थिति आउनु दुर्भाग्य भएको बताए । उनले मलको अभाव कहिल्यै हुन नदिन पेट्रोलियम पदार्थमा जस्तै सिधै जिटुजीमार्फत आयात गर्ने व्यवस्था गरी मलको अभाव हुन दिन नहुने बताए ।