शुक्रबार, २८ भदौ २०८१
ताजा लोकप्रिय

त्रिविमा सुधारको संकेत देखिएको भन्दै पूर्वशिक्षा मन्त्रीले गरिन् नेतृत्वको प्रशंसा

सोमबार, २८ साउन २०८१, १८ : ४३
सोमबार, २८ साउन २०८१

काठमाडौँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको प्रशंसा गरेकी छन् ।

तीन महिनामै तीन लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन गर्न सफल भएको बताउँदै उनले नेतृत्वको प्रशंसा गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले तीन महिनामै ३ लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन भएको खबरले आफूलाई मात्रै नभई हरेक विद्यार्थीलाई राहत पुगेको उनले बताएकी छिन् ।

त्रिविको मुख्य समस्या समयमा परीक्षा र नतिजा प्रकाशन नहुने रहेको बताउँदै उनले उत्तरपुस्तिका काठमाडौँ नै ल्याउनुपर्ने बाध्यताबाट मुक्त बनाउने उपकुलपति लगायत प्राज्ञिक नेतृत्वको कार्ययोजना रहेको बताइन् ।

उत्तरपुस्तिका काठमाडौँ ल्याउनुपर्ने बाध्यताबाट मुक्त गर्न सके पनि समयमा भर्ना खुल्ने, समयमा परीक्षा हुने र समयमा नतिजा निस्किने उनको भनाइ छ । यसका लागि त्रिविका पदाधिकारीहरूले गरेको गृहकार्यले परिणाम दिन थालेको उनले बताइन् ।

उनले त्रिविको पदाधिकारी टिमलाई धन्यवाद र थप सफलताको लागि शुभकामना समेत दिइन् ।

यो सबै सम्भव हुनुका पछाडि उनले उपयुक्तता र योग्यताका आधारमा निष्पक्ष र कुनै राजनैतिक दबाब बिना छनोट भएको नेतृत्व बताएकी छन् ।

अब हरेक डिन, क्याम्पस प्रमुख यसैगरी नियुक्त हुने हो भने नेपालको शिक्षा क्षेत्र कसो नसुध्रिएला भन्दै उनले प्रश्न गरेकी छन् ।

सबैले विद्यार्थीको भविष्य र देशको शैक्षिक गुणस्तर उकास्ने उद्देश्य राखेर निर्णय लिने प्रतिबद्धता गर्ने हो भने आजैदेखि शिक्षालयलाई राजनीतिक दलको भर्ती केन्द्र, परिचालन केन्द्र र रोजगार केन्द्र नबनाउन उनले आग्रह गरिन् ।

विश्वविद्यालयको नेतृत्व पूर्णतः प्राज्ञिक वर्गले गर्नुपर्नेमा उनको जोड छ । प्राज्ञिक नेतृत्व स्वतन्त्र र जिम्मेवार हुनुपर्ने उनले बताइन् । राजनीतिक नेतृत्वले प्राज्ञिक नेतृत्वलाई स्रोत व्यवस्थापन र हौसला प्रदान गर्ने हदसम्म मात्र सकारात्मक योगदान गरोस् भन्ने कामना गरिन् ।

अब छिट्टै नै क्याम्पस प्रमुख र डिनहरूको नियुक्ति प्रक्रिया सुरु हुन लागेको बताउँदै यसमा पनि मापदण्ड बमोजिम नै नियुक्ति हुनेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप