कर्णालीका सांसदको माग– हामीलाई बेरोजगार नबनाइयोस्

सुर्खेत । कर्णाली प्रदेशका सांसदहरूले सरकार र सदनले काम नदिँदा बेरोजगारजस्तै बस्नु परेको भन्दै गुनासो पोखेका छन् ।
सोमबार बसेको प्रदेश सभा बैठकमा सांसदहरूले छलफल र बहस गर्नुपर्ने धेरै विषय भए पनि सांसदहरूलाई बेरोजगार बनाइएको बताएका हुन् ।
सांसद भीमप्रकाश शर्माले सांसदहरूलाई यसरी बेरोजगार बनाइनु उपयुक्त नभएको बताए । ‘हामीलाई लाग्छ, बिजनेस धेरै छ, विभिन्न नियमावली, ऐन, नियमहरू प्रस्तुत भइरहेका छन्,’ उनले भने, ‘अब महिनौँ दिनपछि संसद् बस्ने भन्ने कुरा छ । यसरी सांसदहरूलाई बेरोजगार नबनाइयोस् ।’
शर्माले सांसदद्वारा उठाइएका विषयको जवाफ समय घर्किसकेपछि दिने कुरा राम्रो नभएको पनि बताए ।
सांसद देवेन्द्रबहादुर शाहीले सांसदहरू पूर्ण बेरोजगार भएको बताए । यो विषयमा सरकार तथा सभामुखले गम्भीर रूपमा ध्यान दिन आवश्यक रहेको बताउँदै शाहीले भने, ‘सांसदलाई काम दिने जिम्मेवारी पनि सरकारको हो जस्तो लाग्छ । विधेयक आउन थुप्रै बाँकी छन्, केही आएर थुप्रेका छन् ।’
शाहीले अझै पनि कतिपय समिति गठन नभएको र सभापति चयन नभएको भन्दै सभामुखमाथि प्रश्न उठाए । ‘सांसदलाई बेरोजगार बनाइराख्ने, गफ सुशासनका चुट्ने अनि छलाङ मार्ने विकासका कुरा गर्ने, यो कसरी हुन्छ ?’ उनले प्रश्न गरे, ‘सभामुख र सरकारले छिटो समितिहरू गठन गर्नुपर्यो । सभापति चयन गर्नुपर्यो, सदन सुचारु गर्नपर्यो । विधेयकहरू ल्याउनपर्यो ।’
योजना आयोग बल्ल गठन भएको भन्दै आयोगका पदाधिकारीलाई पनि सांसदजस्तै बेरोजगार नबनाई काम दिन उनले आग्रह गरे । धेरैजसो सांसदले आफूहरूले काम नपाएको भन्दै संसद्लाई नियमित सञ्चालन गर्नुपर्ने बताएका थिए ।
सांसद कलबहादुर हमालले संसद्लाई अझै व्यवस्थित बनाइनुपर्ने र सांसदले उठाएका कुरा कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली