आइतबार, ३० भदौ २०८१
ताजा लोकप्रिय

शिक्षकको विषयमा विवाद बढेपछि वडाध्यक्ष र नगरप्रमुखबिच घम्साघम्सी

मङ्गलबार, २९ साउन २०८१, २१ : १०
मङ्गलबार, २९ साउन २०८१

बारा । जीतपुरसिमरा उपमहानगर शिक्षा समितिले सरुवा गरेको शिक्षकलाई वडाध्यक्षले हाजिर गराउन रोकेपछि नगरप्रमुख र वडाध्यक्षबिच घम्साघम्सी भएको छ ।

उपमहानगरको नगर शिक्षा समितिको गत जेठ १७ गते निर्णय गरेर सरुवा भएकी शिक्षिका सीता अधिकारीलाई वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले हाजिर गर्न नदिएर रजिष्टर लुकाएपछि मंगलबार जनप्रतिनिधिबिच घम्साघम्सी भएको हो ।

सरुवा भएका शिक्षकलाई हाजिर गर्न अवरोध गरिएपछि जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेल आफैँ विद्यालयमा पुगेका थिए । त्यतिबेला वडा अध्यक्ष श्रेष्ठले कुनै पनि हालतमा शिक्षिका अधिकारीलाई हाजिर हुन नदिने अडान राखेपछि दुई पक्षबिच केहीबेर घम्साघम्सी भएको हो ।

नगरप्रमुख संयोजक रहेको शिक्षा समितिले गत जेठ १७ गते ९५ शिक्षकको दरबन्दी मिलानको निर्णय गरेको थियो । अधिकांश शिक्षक सरुवा निर्णय कार्यान्वयन हुँदा माध्यमिक तहमा नेपाली विषयका २ जना शिक्षकलाई हाजिर गराउने विषय भने लामो समयदेखि कार्यान्वयन हुन सकेको छैन ।

उपमहानगरले नेपाली विषयका शिक्षक मेघराज बराललाई सिमराबाट जीतपुर र अधिकारीलाई जीतपुरबाट सिमरामा सरुवा गरेको हो ।  वडाध्यक्ष श्रेष्ठले हाजिर गर्न रोक लगाएपछि सरुवा पत्र बुझेर लामो समयदेखि सिमरा माविमा धाइरहेकी शिक्षिका अधिकारी दिनभर कक्षाकोठा बाहिर बसेर समय कटाउँदै आएकी छन् ।

यता नेरा मावि सिमराबाट राजेश्वर गिरी, फकिरा गिरी मावि जितपुरमा सरुवा भएका शिक्षक मेघराज बराललाई वडाध्यक्षको दबाबमा विद्यालयले रमाना नदिँदा माध्यमिक तहको नेपाली विषय पठनपाठन ठप्प प्रायः छ ।

नेरा मावि सिमराका प्रधानाध्यापक शंकर आचार्यले शिक्षिका अधिकारीलाई हाजिर गराउन खोज्दा वडाध्यक्षले रोक लगाएको बताए  । ‘नगर शिक्षा समितिले गरेको शिक्षक सरुवाको निर्णय कार्यान्वयन नगरेर हाजिर रोक्ने अधिकार वडाध्यक्षलाई छैन तर विद्यालयको चेकमा वडाध्यक्षको हस्ताक्षर हुने भएकाले हामी विद्यालय प्रशासन चेपुवामा परेका छौँ,’ प्रधानाध्यापक आचार्यले भने, ‘वडाध्यक्षले रोक भनेपछि मान्नुपर्ने बाध्यात्मक अवस्थामा छौँ ।’

यता नगरप्रमुख राजन पौडेलले भने वडाध्यक्षको दबाबमा नपरी कानुनले दिएको अधिकारलाई टेकेर काम गर्न विद्यालय प्रधानाध्यापक आचार्यलाई निर्देशन दिएका छन् । ‘यसरी शिक्षा समितिले गरेको निर्णयलाई मजाक बनाएर २ वटा विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूले दायरा नाघेर शैक्षिक संस्थामा दादागिरी गरेर बसिरहेका छन्,’ नगरप्रमुख पौडेलले भने, ‘नगरपालिकाले विधिसम्मत ढंगले गरेका निर्णय कार्यन्वयन गर्न कोही वडाध्यक्षसँग डराउनु पर्दैन ।’

जीतपुर सिमरा वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ता एमालेबाट निर्वाचित हुन् । यसअघि नगरसभामा कुर्ची तोडफोडमा संग्लन रहेका दुवैले नगरप्रमुख संयोजक रहेको समितिको निर्णय अवज्ञा गर्दै आएका छन् ।

उपमहानगरभित्रका अधिकांश सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा वडाध्यक्षहरू छन् । त्यतिमात्रै होइन,  विद्यालयको बैंक खातामा समेत वडाध्यक्षको हस्ताक्षर अनिवार्य गरेपछि अहिले धेरै विद्यालयका प्रधानाध्यापक वडाध्यक्षले भनेअनुसार काम गर्न बाध्य भएको नेरा मावि सिमराका प्रधानाध्यापक शंकर आचार्यले जनाए ।

जेठ १७ गते शिक्षा सिमितिले गरेको निर्णयमा संयोजक (नगरप्रमुख) पौडेलसहित सदस्यहरूमा भोलाप्रसाद अधिकारी (उपप्रमुख), उर्मिला काफ्ले (प्रमुख प्रशासकीय अधिकृत), चयन गुरुङ,(एमाले), हिरा बहादुर गुरुङ (कांग्रेस), हरिदेव खरेल (एमाले) शंकर कुमार आचार्य, श्याम प्रसाद भट्टराई, श्याम सुन्दर पासवान, नविन मैनाली, पवित्र माया कार्की, सुरेश प्रसाद यादव, शिक्षा शाखा प्रमुख शिवजी प्रसाद लगायतले हस्ताक्षर गरेका छन् ।

नगर शिक्षा समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को  परिच्छेद ३ को दफा ११ को उपदफा २ अनुसार सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान सम्बन्धी व्यवस्थाका साथै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिक्षक दरबन्दी कार्यविधि २०७६ र उपमहानगरको शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७९ बमोजिम शिक्षक सरुवा गरिएको निर्णयमा उल्लेख ।

समितिको निर्णय अवज्ञा गर्दै आएका वडा नं २ का वडाध्यक्ष श्रेष्ठले शिक्षिका अधिकारीलाई हाजिर गर्न नदिने जनाएका छन् । यता शिक्षिका अधिकारीले भने नगरप्रमुख र वडाध्यक्षको जुधाइका कारण आफू चेपुवामा परेको र समग्र शिक्षकहरूको मनोबल कमजोर बनाउने काम भएको बताएकी छन् ।

उनले आज विद्यालयमा हाजिर गर्न खोज्दा वडाध्यक्षले रजिष्टर खोसेर आफूमाथि दुर्व्यवहार गरेको गुनासो गरेकी छन् । नेपाल शिक्षक संघ जीतपुरसिमराका अध्यक्ष जयप्रकाश रायले अधिकारीलाई हाजिर गर्न रोक लगाए पठनपाठन बन्द गरेर वडाध्यक्षविरुद्ध शिक्षकहरू आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप