१० बजे, १० समाचार
आज २०८१ साउन ३० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- ब्रह्मलुट
आकासिँदो सुनचाँदीको मूल्यका बिच व्यवसायीले जथाभावी विभिन्न नाममा अतिरिक्त शुल्क लिँदा उपभोक्ताहरू मर्कामा पर्दै आएका छन् । सुनचाँदी व्यवसायीहरूले संगठित रूपमै अवैधानिक ढङ्गले ‘निर्माण क्षति’ र ज्यालाको नाममा अतिरिक्त असुली गरिरहँदा राज्यका जिम्मेवार निकाय बेखबरझैँ बनेका छन् ।
- जहाज खरिद प्रक्रिया
नेपाल वायुसेवा निगमले अघि बढाएको तीन वटा ट्वीनअटर जहाज खरिद प्रक्रिया बिचमै रोकिन पुगेको छ । खासगरी यसअघिको वाइडबडी जहाज खरिदमा करिब डेढ अर्ब भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै निगमको नयाँ जहाज खरिद प्रक्रिया बिचमै प्रभावित बन्न पुगेको हो ।
- रोगको ‘ककटेल’
अस्मिताले जस्तै ज्वरोलाई सामान्य ठान्दा पछि विभिन्न सङ्क्रमण देखिन सक्ने चिकित्सक बताउँछन् । बर्खायाममा देखापर्ने ज्वरोलाई सामान्य रूपमा नलिन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसे सुझाउँछन् ।
- महत पनि पुगे सर्वोच्च
कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका अभियुक्तहरू धमाधम सर्वोच्च अदालत पुग्न थालेका छन् । कर फर्छ्यौट आयोग मार्फत करोडौँ राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेपछि उनीहरू थुनामै बसेर सर्वोच्चमा पुनरावेदन गर्न थालेका हुन् ।
- ओली सरकारको एक महिना
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको छ । असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको ७ बुँदे सहमतिको जगमा ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
- टीआरसी विधेयक पारित
प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा उक्त विधेयकमाथि छलफल गरेर पारित गरिएको हो । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) सभामा प्रस्ताव गरेका थिए ।
- पदाधिकारी चयन
साउन १८ गते केन्द्रीय कमिटीलाई पूर्णता दिएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आगामी भदौ ९ गते बाँकी पदाधिकारी चयन गर्ने भएको छ । असारमा १० औँ महाधिवेशन सम्पन्न गरेको सो पार्टीले केन्द्रीय कमिटीलाई किस्ताबन्दीमा पूर्णता दिएर दुई महिनापछि पदाधिकारी पनि किस्ताबन्दीमै चयन गर्न लागेको हो ।
- कर्मचारी व्यवस्थापन भद्रगोल
कोशी प्रदेशको राजनीतिक नेतृत्व र सिङ्गो प्रदेश सभाका सदस्यहरूको असक्षमताका कारण प्रदेशको कर्मचारी व्यवस्थापन दिन प्रतिदिन अव्यवस्थित र भद्रगोल हुँदै गएको छ । प्रदेशमा लागु भएको प्रदेश निजामती सेवा ऐन पटकपटक संशोधन हुनु र संशोधन भएको ऐनको पनि सफल कार्यान्वयन हुन नसक्दा कर्मचारी व्यवस्थापन भद्रगोल हुँदै गएको कर्मचारीहरू बताउँछन् ।
- अड्चनै अड्चन
समयमा आवश्यक जग्गा प्राप्त नहुँदा गण्डकी प्रदेश सरकारले बनाउने भनेको प्रदेश स्तरीय औद्योगिक ग्रामको काम अलपत्र परेको छ । नवलपुरको लोकाहाखोला र कास्कीको पुँडीटारमा प्रदेशस्तरीय औद्योगिक ग्राम निर्माणको योजना सरकारको छ ।
- विद्यार्थी भर्ना गर्न रोक
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका तीन वटा कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, मध्य बानेश्वरमा रहेको ग्लोबल इन्टरनेशनल कलेज, खुमलटारमा रहेको नेपाल एजुकेसन फाउन्डेसन कन्र्सोटियम अफ कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि काठमाडौँमा ‘दोस्रो राष्ट्रिय चलचित्र कन्फरेन्स’ हुने
-
लेबनान : सञ्चार उपकरण विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, ६०८ जना घाइते
-
पर्वतीय उडान सकेर काठमाडौँको स्काइवाकमा ‘डली चायवाला’
-
आइतबारसम्मका लागि धरहराको टिकट बुक
-
शीतल निवासमा सांस्कृतिक कार्यक्रम, तस्बिरहरु
-
संविधान अनुसार पटकपटक सत्तामा पुगेका दलले पनि मनाए ‘कालो दिन’