मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पहिरोले धानबालीसहितको खेत बगाएपछि कृषक चिन्तित

शनिबार, ०१ भदौ २०८१, ०८ : ०५
शनिबार, ०१ भदौ २०८१

खोटाङ । पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित भएका छन् । गत साउन १६ र १७ गतेको वर्षापछि पहिरोले खाल्लेमा धानबालीसहित खेत बगाएको थियो ।  

पहिरोले स्थानीय कोपिला बस्नेत र डम्बर केसीको धानसहितको १५÷१५ रोपनी खेत पुरेको छ । बर्सेनी १८ मुरी धान फल्ने खेत बगाएपछि गरिखाने खेत बाँकी नरहेको पीडित बस्नेतले बताए । उनको खेतको सिरानदेखि पहिरो गएको छ । 

“पहिरोले तीन भागमध्ये दुई भाग खेत बगाइसकेको छ । खेत बग्ने क्रम जारी छ”, उनले भने, “६ जनाको परिवार यही धानबालीले टार्दै आएकी थिएँ । पहिरोले खेत नै बगाएपछि कसरी परिवार चलाउने भन्ने पीर लागेको छ ।” 

पहिरोले बस्नेतको भन्दा माथिल्लो भेगमा रहेको भक्तबहादुर बस्नेतको पनि केही गरा बगाएको छ । पहिराका कारण उनको घर समेत जोखिममा परेको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए । खेतीयोग्य भूमि रहेको त्यस क्षेत्रको जमिन चर्किएको छ । 

आर्थिक वर्ष २०८०–८१ मा बाढी तथा पहिरोका कारण जिल्लामा तीन जनाले ज्यान गुमाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा बाढीले बगाएर एक तथा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।  पहिरोले पुरिएर गत साउन ३१ गते रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवार तथा जेठ २८ गते साकेला गाउँपालिका–२ रतन्छाका ५६ वर्षीय मधुराज राईको मृत्यु भएको थियो । 

यस्तै साउन २१ गते ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ७३ वर्षीया पदमकुमारी घिमिरेको बाढीले बगाएर मृत्यु भएको थियो । यस वर्षको बाढी तथा पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति गरेको छ । बाढी तथा पहिरोबाट हालसम्म जिल्लामा ६ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ । जिल्लामा मनसुनजन्य विपद् (बाढीबाट ८५ परिवार र पहिरोबाट चार सय ३९ परिवार) उच्च जोखिममा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप