परराष्ट्रमन्त्री राणाको भारत भ्रमण : हवाई रूट र पञ्चेश्वर परियोजनाबारे छलफल
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा (देउवा)को भारत भ्रमणका क्रममा हवाई रूट र पञ्चेश्वर परियोजनाबारे छलफल भएको छ । परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी एस जयशंकरबिच सोमबार भएको भेटवार्तामा हवाई रूट, पञ्चेश्वर परियोजना, सीमा सुरक्षा, ऊर्जा लगायतका विषयमा छलफल भएको हो ।
छलफल गरिएका विषयमा दुई देश द्धिपक्षीय संयन्त्र निर्माण गर्न सहमत भएका छन् । भेटमा व्यापार तथा पारवहन, लगानी र पूर्वाधार निर्माणका विषयमा समेत छलफल भएको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
भेटमा नेपालले अब करिब १००० मेगावाट विद्युत निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गर्नेबारे चर्चा समेत भएको थियो । साथै दुवै पक्षबिच ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिकाबारे पनि कुराकानी भएको थियो ।
सोमबारै भारत सरकारले नेपालका १२ वटा जलविद्युत परियोजनाको थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति प्रदान गरेको थियो ।
भेटवार्तामा नेपाल र भारतबिच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको थियो ।
भेटमा द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरुबारे पनि छलफल भएको बताइएको छ । भेटलगत्तै विदेशमन्त्री जयशंकरले नेपाली समकक्षी राणाको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए ।
त्यसलगत्तै मन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी थिइन् । हैदरावाद हाउसमा सोमबार साँझ भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको मन्त्री राणाले जानकारी दिएकी छन् ।
भेटमा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएकी छन् । भारतका विदेशमन्त्रीको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेकी मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण