प्रिमियर लिग इतिहासकै सबैभन्दा कान्छा प्रमुख प्रशिक्षक हर्जेलर, जो आफ्नै खेलाडीभन्दा सात वर्ष कान्छा छन्
काठमाडौँ । जर्मन नागरिक फाबियन हर्जेलर इङ्लिस प्रिमियर लिग क्लब ब्राइटनका प्रमुख प्रशिक्षक हुन् । उनी यही सिजन ब्राइटनको प्रशिक्षक बनेका हुन् । यसअघि उनी जर्मन क्लब एफसी सेन्ट पाउलीका प्रशिक्षक थिए ।
उनले विभिन्न जर्मन क्लबबाट व्यावसायिक फुटबल पनि खेलेका थिए । प्रिमियर लिग क्लब ब्राइटनको प्रमुख प्रशिक्षक बनेपछि उनी निकै चर्चामा छन् । उनी इङ्लिस प्रिमियर लिगको इतिहासकै सबैभन्दा कान्छा स्थायी प्रशिक्षक हुन् ।
उमेरले उनी भर्खर ३१ वर्ष पुगेका छन् । फाबियन हर्जेलर इङ्लिस प्रिमियर लिग सुरु भएपछि जन्मिएका हुन् । सन् १९९२ पछि इङ्ल्यान्डको घरेलु लिग फुटबलको नाम इङ्लिस प्रिमियर लिग राखिएको थियो । त्यसअघि यो लिगलाई इङ्लिस फुटबल लिग भनिन्थ्यो ।
प्रिमियर लिग नामाकरण भएपछि जन्मिएर प्रिमियर लिगको प्रशिक्षक बन्ने पनि हर्जेलर पहिलो व्यक्ति हुन् । हर्जेलरको जन्म सन् १९९३ को फेब्रुअरी २६ तारिखमा भएको हो । उनी ब्राइटनका वर्तमान टोलीमा रहेका कतिपय खेलाडीभन्दा पनि कम उमेरका छन् ।
ब्राइटनको वर्तमान टोलीमा रहेका मिडफिल्डर जेम्स मिलनर प्रमुख प्रशिक्षक हर्जेलरभन्दा सात वर्ष जेठा छन् । प्रिमियर लिगको नयाँ सिजन पनि सुरु भइसकेको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा हर्जेलरको प्रशिक्षकत्वमा रहेको ब्राइटनले एभर्टनलाई उसैको मैदानमा ३–० गोलले हराएको थियो ।
फाबियन हर्जेलर जर्मनीको दोस्रो श्रेणीको क्लबमा पनि सबैभन्दा कम उमेरको प्रशिक्षक बनेका थिए । उनी सन् २०१६–१७ सिजनदेखि प्रशिक्षणको भूमिकामा सक्रिय भएका थिए । सन् २०२२ मा दोस्रो श्रेणीको क्लब सेन्ट पाउलीको प्रमुख प्रशिक्षक बन्दा उनको उमेर केवल २९ वर्ष थियो ।
उनको प्रशिक्षण शैली पनि गजबको छ । सेन्ट पाउलीको प्रशिक्षक बन्दा उक्त क्लब रेलिगेसनको खतरामा थियो । तर, उनले प्रमुख प्रशिक्षकको जिम्मेवारी समालेपछि सेन्ट पाउली रेलिगेसनमा पर्नबाट जोगिएको थियो ।
यतिमात्र होइन, त्यसपछिको सिजनमा प्रशिक्षक हर्जेलरले सेन्ट पाउलीलाई जर्मनीको सबैभन्दा माथिल्लो डिभिजनको लिगमा प्रमोसन दिलाएका थिए । प्रिमियर लिगको पहिलो खेलमा समेत उनले आफ्नो टोलीलाई जित दिलाइसकेका छन् ।
सेन्ट पाउलीमा हर्जेलरको क्षमतालाई देखेर नै ब्राइटनका मालिक टोनी ब्लुमले उनलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी सुम्पिएका हुन् । हर्जेलरको जन्म भने अमेरिकाको टेक्सासमा भएको थियो । उनका पिता स्विट्जरल्यान्डका र आमा जर्मनमूलकी हुन् ।
हर्जेलर केवल दुई वर्षको हुँदा उनको परिवार पुनः जर्मनी फर्किएको थियो । त्यसपछि उनको बाल्यकाल म्युनिखमा बितेको थियो । उनले आफ्नो शिक्षा पनि म्युनिखबाट पुरा गरेका हुन् । उनी केवल १० वर्षको उमेरमा चर्चित जर्मन फुटबल क्लब बायर्न म्युनिखको एकेडेमीमा भर्ना भएका थिए ।
उनले जर्मनीको विभिन्न उमेर समूहको टोलीबाट पनि अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए । तर, उनले आफ्नो खेलजीवनलाई लामो समय निरन्तरता दिएनन् । त्यसपछि उनी खेलजीवन छाडेर प्रशिक्षकको भूमिकामा सक्रिय भएका थिए । हाल उनीसँग जर्मनी, स्विट्जरल्यान्ड र अमेरिका गरी तीनवटै राष्ट्रको नागरिकता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण