भैरहवाको सेजमा ६८ प्लटमध्ये ३० वटामा मात्रै उद्योग स्थापना
बुटवल । रुपन्देहीको भैरहवास्थित ‘विशेष आर्थिक क्षेत्र’ (सेज)मा अपेक्षा गरिएअनुसार उद्योग स्थापना हुन सकेको छैन । उदघाटन भएको करिब १० वर्ष बित्दा पनि सेजले पूर्ण क्षमतामा उद्योग पाएको छैन ।
२०७१ मंसिर २ गते तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले सेजको उदघाटन गरेका थिए । निर्यात प्रवर्द्धन गर्दै व्यापार घाटा कम गर्ने योजनासहित सञ्चालनमा ल्याइएको सेजमा आधाजसो प्लट अझै खाली छन् ।
रुपन्देहीको रोहिणी गाउँपालिका–१, बगहामा ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा ६८ प्लट छन् ।
सेजका सहायक निर्देशक एवं इन्जिनियर सुमित डुम्रेका अनुसार ३० वटा प्लटमा उद्योग स्थापना भएका छन् । बाँकी ३८ प्लटमा उद्योगीसँग सम्झौता भए पनि अझै उद्योग स्थापना भएको छैन ।
सेजमा एक हजार चार सयदेखि तीन हजार सात सय वर्गमिटरसम्मका प्लटमा विभिन्न उद्योगीले सम्झौता गरे पनि सेजको अवधारणा अनुसार सरकारले उद्योगमैत्री नीति र आवश्यक सुविधा नदिएका कारणले उद्योग स्थापना गर्न ढिलाइ भएको उद्योगी सुरेश पन्थले रातोपाटीलाई बताए ।
‘सेजको अवधारणा अनुसार भौतिक संरचना र उद्योग सञ्चालनको प्रक्रिया झन्झटिलो छ । त्यस कारणले उद्योग स्थापना गरेका साथीहरू पनि सेजबाट अन्यत्र जान खोज्दै छन् । हामीले साथीहरूको देखेर पनि ढिलाइ गरेका हौँ,’ उनले भने ।
सेजभित्र स्थापना भएका उद्योगको ६० प्रतिशतसम्म सामान अन्य देशमा पठाउनुपर्ने, सेजमा स्थापना भएका उद्योगलाई धितो राखेर बैंकले ऋण नदिने, जग्गाको भाडा दर पनि महँगो रहेको उद्योगीको भनाइ छ ।
भैरहवाका उद्योगी राजेन्द्र गुप्ताले सेजभित्र उद्योग चलाउन अन्य ठाउँमा भन्दा सहुलियत चाहिने बताए । तर सेजभित्र पानीको निकास, भन्सार सुविधा, पेट्रोल पम्पजस्ता सुविधा नहुँदा उद्योगीहरू आकर्षित नभएको उनको भनाइ छ ।
२०७१ सालमा उदघाटन भएको सेजको कार्यविधि २०७३ सालमा बन्यो । २०७६ सालमा सेजमा शक्ति मिनरलले पहिलो उत्पादन सुरु गरेको सेजका सहायक निर्देशक एवं इन्जिनियर सुमित डुम्रेले बताए ।
भैरहवाको सेजमा अहिले जय बुद्ध मेटल क्राफ्ट, पञ्चकन्या स्टिल ट्याङ्क, शक्ति मिनरल्स, भीस्टार ग्लोबल प्रालि, एस पोलिमर्स, तिरुपति मेटल क्राफ्ट र ब्रिलेन्ट लाइटिङ लगायत ११ उद्योग स्थापना भएका छन् ।
सेजमा अनुपम वेयर, गोल्ड स्टार सुज, माउन्टेन मरिङ्ग लगायत उद्योगहरू स्थापनाका प्रक्रियामा छन् । यहाँ स्थापना भएको उद्योगमध्ये पञ्चकन्याले बाहिर निकासी गर्न नसक्दा अहिले सञ्चालनमा छैन । जय बुद्ध मेटल क्राफ्टको उत्पादन आन्तरिक कारणले रोकिएको छ ।
सेजभित्र प्लट लिएका उद्योगीहरूले पनि उद्योग स्थापना गर्न रुचि देखाएनन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सेज सञ्चालन कार्यविधिको अस्पष्टता र उद्योगमैत्री पूर्वाधार नहुनु मुख्य कारण रहेको रातोपाटीलाई बताए ।
सेजभित्र उद्योग चलाएका पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले उद्योगले उत्पादनको ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने प्रावधान अव्यावहारिक रहेको भन्दै यसको परिमाण घटाउन पर्ने बताए ।
सेजका सहायक निर्देशक एवं इन्जिनियर डुम्रेले भाडा दर घटाउने, निकासी पनि कुल उत्पादनको ६० प्रतिशतबाट घटाएर ३० प्रतिशत ल्याउने प्रक्रिया भइरहे पनि ऐन बन्न ढिलाइ भएको रातोपाटीलाई बताए । उनले भने, ‘भाडा दर र निकासीको प्रतिशत घटाउने विषयमा कुनै दुई मत छैन तर त्यसको लागि ऐन सुधार गरेर ल्याउने तयारी गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण