रुसी आक्रमणमा युक्रेनमा ४१ जनाको मृत्यु
मङ्गलबार, १८ भदौ २०८१, १७ : ५३

किएभ । रुसले गरेको आक्रमणमा परेर युक्रेनी सहरमा ४१ जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको सहर पोल्टाभामा रुसले हानेको दुई वटा बालिस्टिक मिसाइल लागेको थियो ।
यस क्रममा कम्तीमा ४१ जना मारिएको र १८० जना घाइते भएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भनेका छन् । केहीलाई भग्नावशेषबाट तानेर बचाइएको पनि उनले बताए ।
मिसाइलले शैक्षिक संस्था र नजिकको अस्पतालमा लागेको बताइएको छ । यस आक्रमणमा शैक्षिक संस्थाको एउटा भवन पनि आंशिक रूपमा ध्वस्त भएको छ । उद्धारकर्मीहरूको समूहले करिब २५ जनाको उद्धार गरेको र यी मध्ये ११ जना भग्नावशेषमा पुरिएको बताइएको छ । अन्यको खोजी कार्य भइरहेको छ । पुष्टि नभएको रुसी स्रोतले भने पीडितहरू सेना भएको बताएका छन् ।