कांग्रेसको चुनाव केन्द्रित सय दिने अभियान, प्रतिनिधि खटाउन कस्तो छ तयारी ?
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस ६ हजार ७४३ वटै वडामा पार्टीलाई बलियो बनाउने गरी अभियानमा जुटेको छ । भदौ १६ गतेको केन्द्रीय समिति बैठकले सय दिने साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सोही अभियान अन्तर्गत कांग्रेसका केन्द्रीय नेताहरू असोज १ गते सबै जिल्लामा जाँदैछन् । ०८४ को निर्वाचन आफ्नो एकल दममा लड्ने र बहुमत प्राप्त दल बनाउने निर्णय कांग्रेसको छ । यसका लागि सङ्गठन सुदृढ गर्नुपर्ने निष्कर्षमा पुगेको कांग्रेसले सोही क्रममा यस्तो अभियान सञ्चालन गर्न लागेको हो ।
०८४ को निर्वाचन लक्षित अभियान सञ्चालनमा पार्टी जुटेको राष्ट्रिय सभा सदस्यसमेत रहेका पार्टी मुख्य सचिव कृष्ण पौडेल बताउँछन् । असोज १ बाट सुरु भएर पुस १० गतेसम्म सय दिन चल्ने अभियानमा हाल कुन केन्द्रीय नेतालाई कुन जिल्लामा पठाउने भनेर पार्टीले तयारी गरिरहेको छ ।
महामन्त्री गगनकुमार थापाको योजनामा मुख्य सचिव पौडेल हाल नेतृत्वको जिम्मेवारी दिने गरी तालिका निर्माणमा जुटेका छन् । सम्भव भएसम्म २६ गतेसम्म लिस्ट तयार पार्ने र केन्द्रीय नेतालाई ओरेन्टेसन सहित भदौ ३१ गते जिल्ला पठाइसक्ने तयारी कांग्रेसको छ ।
‘कांग्रेस पार्टीका सिनियर नेताहरू, केन्द्रीय सदस्यहरू पठाएर पार्टीलाई गतिशील बनाउन हामीले काम गरिरहेका छौँ,’ मुख्य सचिव पौडेलले भने, ‘२७ गतेसम्म लिस्ट बन्छ । एक पटक पार्टी सभापतिले जिल्ला गएर के गर्ने भनेर आदेश/निर्देशन दिनुहुन्छ ।’
कांग्रेसले अभियानका लागि कार्ययोजना र कार्यक्षेत्र (टीओआर)सहित जिल्ला जिल्लामा प्रतिनिधि खटाउने तयारी गरेको छ । हरेक जिल्लामा फरकफरक टीओआर सहित प्रतिनिधि पुग्ने छन् । उनीहरूले सय दिनभित्र टोल समितिसम्मको वास्तविक रिपोर्ट लिएर केन्द्रमा फर्कने छन् ।
‘अहिले कुन जिल्लाको अवस्था के छ भनेर केन्द्रीय कार्यालयले बस्तुस्थिति बुझ्ने काम गरिरहेको छ । कुन जिल्लामा के–के काम गर्ने भनेर सोही बस्तुस्थितिको आधारमा हामी प्रतिनिधि पठाउँछौँ,’ पौडेलले भने । ७७ जिल्लाको स्थिति बुझेर केन्द्रीय कार्यालयले फाइल बनाउने काम अहिले गरिरहेको उनले बताए । साथै उनले पार्टी सभापतिले सम्बन्धित जिल्लामा खटिने व्यक्तिलाई सोही फाइल दिएर पठाउने पनि उनले जानकारी दिए ।
सय दिने अभियानमा कांग्रसले पार्टीको सबै तहका साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ । यस्तै क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिने तयारी गरेको छ ।
मुख्य सचिव पौडेलका अनुसार विधान बमोजिम वडा तहसम्मको कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माण लगायत काम भए/नभएको अनुगमन गरिनेछ । यदि समयमै यी काम नभए सबै कामलाई नियमित गराउन केन्द्रीय प्रतिनिधिले भूमिका खेल्नेछन् ।
‘कांग्रेसको प्रत्येक सङ्गठनमा बैठक बसेको छ कि छैन, नेतृत्वबिच सौहार्द सम्बन्ध छ कि छैन लगायत विषयमा पनि अनुगमन हुनेछ,’ उनले भने । अभियानका दौरान स्थानीय तहको जनप्रतिनिधि र पार्टीको प्रतिनिधिहरूको बिचमा समन्वय सद्भाव तथा पार्टीले जितेको स्थानीय तहमा जनचाहना अनुसार काम भए नभएको अनुगमन हुनेछ ।
‘मूल कुरा ०८४ को निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउने गरी जान पार्टीका सबै तहको संरचनालाई चुस्त दुरुस्त गतिशील र क्रियाशील बनाउने यस अभियानको लक्ष्य उद्देश्य हो,’ पौडेलले भने । कांग्रेसमा जिल्ला नेतृत्व र पार्टीबाट स्थानीय तहमा जितेका जनप्रतिनिधिबिच सुमधुर सम्बन्ध नभएको, पार्टीलाई जनप्रतिनिधिले नटेर्ने लगायतका गुनासाहरू केन्द्रीय समिति बैठकमा उठ्ने गरेका छन् ।
अभियानबाट आएका प्रतिवेदन बोकेर प्रतिनिधिहरू आएपश्चात् पार्टीले केन्द्रीय समिति बैठक राखेर त्यसमा छलफल गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्ट नेतालाई जनस्तरबाटै बहिष्कार गर्न प्रभु साहको आह्वान
-
हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० घाइते
-
मुम्बई इन्डियन्सद्वारा महेला जयवर्धने मुख्य प्रशिक्षकमा नियुक्त
-
सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको पाँचौँ परीक्षण सफल
-
स्कटल्याण्डलाई हराउँदै इंग्ल्याण्ड शीर्ष स्थानमा
-
भाइरल ज्वरो तथा डेंगुका बिरामी बढे, अस्पतालको भुईँमा राखेर उपचार