आत्महत्या पछाडिका कारण र कारक पहिचान गरौँ र समाधान खोजौँ
सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस
‘आत्महत्या रोकथामबारे खुलेर संवाद गरौँ ः दृष्टिकोण बदलौँ’ मूल नाराका साथ यस वर्ष विश्व आत्महत्या रोकथाम दिवस (१० सेप्टेम्बर) मनाइँदै छ । यसरी दिवस मनाइरहँदासम्म नेपालमा पछिल्ला वर्ष आत्महत्याको दरमा वृद्धि भइरहेको देखिन्छ । तसर्थ यस सङ्कटलाई सम्बोधन गर्न सामूहिक जिम्मेवारीको बोध हुन आवश्यक छ ।
नेपाल प्रहरी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कले नेपालमा आत्महत्याको दर निरन्तर बढ्दै गएको देखाएको छ । सन् २०२३ मा सात हजार २२३ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । यस तथ्याङ्कलाई औसतमा हेर्दा प्रतिदिन २० जनाले आत्महत्या गरेको देखिन्छ । यो तथ्याङ्क अघिल्ला वर्षहरूको तुलनामा तीव्र रूपमा भएको वृद्धि हो, जसले बढ्दो मानसिक स्वास्थ्य सङ्कटलाई पनि उद्धृत गर्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देशहरूमध्येको नेपालमा प्रतिएक लाख व्यक्तिमा नौ जनाले आत्महत्या गर्ने गरेका छन् । आत्महत्याका घटना लुकाउनु र रिपोर्टिङ नै कम हुनुले यो सङ्ख्यामा यकिन तथ्याङ्क भने पाउन सकिँदैन । आत्महत्याबाट सबैभन्दा बढी युवाले ज्यान गुमाएको तथ्याङ्क छ, जसमा १५ देखि २९ वर्ष उमेर समूहका व्यक्ति पर्छन् ।
यस प्रकार नेपालमा बढ्दो दरमा रहेको आत्महत्याका पछाडि धेरै कारण कारक रहेका छन् । मानसिक स्वास्थ्य विकारहरू (जस्तै ः दुश्चिन्ता उदासीनता, डर, त्रास र अन्य मानसिक स्वास्थ्यमा आएका विचलन) नै आत्महत्याको जोखिम बढाउने महत्त्वपूर्ण कारक हुन् । विडम्बना, नेपालमा मानसिक स्वास्थ्य सेवाहरू सीमित छन्, प्रतिएक लाख व्यक्तिमा ०.१७ जना मनोचिकित्सक र मनोपरामर्शविद्हरू मात्र उपलब्ध हुनुले मानसिक स्वास्थ्य हेरचाहमा पहुँचको अभाव रहेको र मानसिक स्वास्थ्यका क्षेत्रमा विकराल समस्या रहेको दर्शाउँछ ।
आर्थिक कठिनाइ वा तनावका कारण पनि मानिसहरू आत्महत्याको तहमा पुगेको पाइन्छ । कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीले ग्रामीण तथा सहरी दुवै क्षेत्रमा थप आर्थिक सङ्कट र दबाब बढाएको छ, जसले गर्दा मानसिक रोगीहरूको सङ्ख्यामा वृद्धि भई आत्महत्याका घटनामा समेत वृद्धि भएको छ ।
हामीकहाँ मानसिक समस्यालाई नकारात्मक रूपमा हेरिन्छ, जस कारण मानसिक स्वास्थ्यमा विचलन आएका व्यक्तिले मद्दत खोज्न र आफूहरूले दैनिक गर्नुपरेको सङ्घर्षबारे खुलेर कुरा गर्न सकिरहेका हँुदैनन्, जसले मानिसमा झनै एक्लोपन र निराशा निम्त्याउँछ ।
विभिन्न सञ्चार माध्यमले आत्महत्याका बारेमा रिपोर्ट गर्दा उत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ । मुद्दालाई सनसनीपूर्ण बनाउन वा आत्महत्याको जोखिम निम्त्याउन सक्ने स्पष्ट विवरणहरू प्रदान गर्नबाट जोगिनका लागि सञ्चार आचारसंहिताजस्ता नैतिक दिशानिर्देश पालना गर्दै मानवीय संवेदनालाई समेत ख्याल गर्नुपर्छ ।
मादक पदार्थ वा लागु पदार्थको सेवन आत्महत्याको अर्को कारक हो । लागु पदार्थको सेवनले प्रायः मानसिक स्वास्थ्य अवस्थालाई बिगारी निर्णय क्षमतालाई कमजोर बनाउँछ र आत्महत्याको जोखिम बढाउँछ ।
मानवीय सम्बन्धमा दरार, वैवाहिक द्वन्द्व, घरेलु हिंसा र व्यक्तिगत समस्याहरू पनि आत्महत्याका अन्य कारण र कारक हुन् । विशेष गरी महिलाहरू यस्ता समस्याको जोखिममा हुन्छन् ।
आत्महत्या रोकथामका लागि हामी सबै (व्यक्ति, परिवार, समुदाय, सरकारी निकाय, गैरसरकारी संस्था र अन्य सरोकालवालाहरू)को बहुपक्षीय प्रयास अपरिहार्य छ । हाम्रा साना र ध्यान नपुगेका कार्यहरू आत्महत्याको जोखिममा रहेका मानिसका लागि ठुलो सहयोग हुन सक्छ । सरकारले विशेष गरी ग्रामीण र सेवा नपुगेका क्षेत्रमा मानसिक स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकता दिनुपर्छ । मानसिक स्वास्थ्यसँग सम्बन्धित परामर्शदाता स्वयंसेवक र कर्मचारीको सङ्ख्या बढाउने र मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवामा एकीकृत रूपमा समावेश गरिनुपर्छ । मानसिक स्वास्थ्य र आत्महत्यासँग सम्बन्धित सामाजिक अवहेलनाविरुद्ध लड्न सचेतना, शिक्षा र जागरुकता महत्त्वपूर्ण हुन्छ ।
सार्वजनिक अभियानहरूमार्फत मानसिक स्वास्थ्य साक्षरता प्रवद्र्धन गर्ने, मानिसलाई मद्दत खोज्न प्रोत्साहित गर्ने र मानसिक स्वास्थ्य समस्याहरू खुला रूपमा छलफल गर्न सकिने वातावरण सिर्जना गर्न सके केही हदसम्म आत्महत्याको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
संवेदनशील समूह वा जोखिममा रहेका व्यक्तिलाई परामर्श दिनका लागि सहायता समूह गठन गर्न सकिन्छ । उनीहरुका समस्यामा छलफल गरेर उनीहरुको आत्मबल बढाउन वा उनीहरुलाई जीवनको मूल्य बुझाउन सकिन्छ । उनीहरुलाई संकट कसरी व्यवस्थापन गर्ने भनी सिकाउने वा परामर्श दिने हो भने आत्महत्याको जोखिम कम गर्न मद्दत पुग्छ । परामर्शदाता स्वयंसेवक, कर्मचारी, स्वास्थ्यकर्मी र समुदायका नेतालाई आत्महत्याका संकेत पहिचान गर्ने तालिम दिने र पहिचान भएका व्यक्तिलाई उचित व्यवहार गर्न सिकाउने हो भने आत्महत्या रोकथाममा धेरै ठुलो सहयोग पुग्न सक्छ । यस्ता कार्यले जोखिममा रहेका व्यक्तिलाई पहिचान गर्न र आवश्यक सहयोग प्रदानका लागि स्रोतहरूसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।
विभिन्न सञ्चार माध्यमले आत्महत्याका बारेमा रिपोर्ट गर्दा उत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ । मुद्दालाई सनसनीपूर्ण बनाउन वा आत्महत्याको जोखिम निम्त्याउन सक्ने स्पष्ट विवरणहरू प्रदान गर्नबाट जोगिनका लागि सञ्चार आचारसंहिताजस्ता नैतिक दिशानिर्देश पालना गर्दै मानवीय संवेदनालाई समेत ख्याल गर्नुपर्छ । यस प्रकार गरिएको जिम्मेवारीपूर्ण रिपोर्टिङले समस्यालाई कम गराउन र जागरुकता बढाउन विशेष योगदान गर्छ ।
- निष्कर्ष
आत्महत्या रोकथाम गर्न सकिन्छ । यसलाई सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ । नेपालका जुन स्थानमा आत्महत्याको दर डरलाग्दो गतिमा बढिरहेको छ, त्यस स्थानमा कदम पहली गर्नु हामी सबैको साझा दायित्व हो ।
मानसिक स्वास्थ्य सेवाहरू बढाएर; सामाजिक लाञ्छना, दुव्र्यवहार र हेलाको भावना घटाएर; जोखिम समूहहरूलाई साथ–समर्थन दिएर; उदारता र मायालु वातावरण सिर्जना गरेर अनि खुलापन र हेरचाहको संस्कृतिलाई बढावा दिएर हामी आगामी दिनमा आत्महत्याको दर कम गर्न सहयोग गर्न सक्छौँ । हामीले यो बुझ्नु आवश्यक छ कि आत्महत्याभन्दा अगाडि मनोवैज्ञानिक, आर्थिक, सामाजिक लगायत धेरै कारण छन्, तसर्थ आजैबाट आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ ।
(लेखक ढकाल मनोसामाजिक परामर्शविद् हुन् ।)