एक भारतीय जसले र्याप संसारका हस्तीहरुलाई समेत उछिने
मुम्बई । ३१ वर्षीय भारतीय र्यापर र उनको एउटा र्याप गीतको अहिले विश्वभर चर्चा भइरहेको छ ।
केरलामा जन्मेका सुरज चेरुकुट, जसलाई हनुमानकाइन्ड भनेर चिनिन्छ, को गीत 'बिग डग्स' निक्कै छोटो समयमा विश्वव्यापी चार्टमा हिट बनेको हो । यसले प्रसिद्ध अमेरिकी र्यापर केन्ड्रिक लामरको ट्र्याक 'नट लाइक अस' लाई पनि पछाडि छोडेको थियो।
यतिबेला तरङ्ग मच्चाइरहेको सुरजको गीत ‘बिग डग्स’ को ‘मौत का कुवाँ’ मा छायाङ्कन गरिएको छ । यो ट्रयाकले रेकर्ड ब्रेकिङ भ्युजहरू प्राप्त गरेको छ।
‘मौत का कुवाँ’ (द वेल अफ डेथ) एउटा यस्तो प्रदर्शन हो जसमा चालकहरूले आफ्नो ज्यान जोखिममा राखेर ठुलो काठको गोलाकार संरचनाभित्र तीव्र गतिमा मोटरसाइकल र कारहरू चलाएर दर्शकहरूलाई मनोरञ्जन दिन्छन्।
कति हिट र भ्युज पाए ?
निर्माता कल्मी रेड्डी र निर्देशक बेजोय शेट्टीसँगको सहकार्यमा जुलाईमा रिलिज भएको सुरजको यो र्याप गीत स्पोटीफाइमा १३२ मिलियनभन्दा बढी पटक सुनिएको छ। यसले युट्युबमा १० करोडभन्दा भ्युज पाएको छ ।
सुरजको ट्र्याकले पाएको अत्यधिक प्रतिक्रियाका कारण हनुमानकाइन्ड विश्वभर लोकप्रिय बनेका छन् ।
सुरजका गीतहरू सामान्यतया हिप-हप टेम्प्लेट पछ्याउँछन् र सामान्य जीवनका कठिनाइहरूमा केन्द्रित हुन्छन्। यससँगै उनका गीतमा पनि छुट्टै शैली छ ।
सुरजको जन्म भारतको दक्षिणी राज्य केरलामा भएको थियो। तर उनको बाल्यकाल संसारका अन्य धेरै देशहरूमा बित्यो। उनका बुबा एक तेल कम्पनीमा काम गर्छन्, त्यसैले सुरज फ्रान्स, नाइजेरिया, इजिप्ट र दुबईमा बसेका छन्।
आफ्नो जीवनको प्रारम्भिक समय ह्युस्टन र टेक्सासमा बिताएपछि, सुरज बाल्यकालदेखि नै ह्युस्टनको हिप-हप संस्कृतिबाट प्रभावित थिए। यहीँबाट संगीत क्षेत्रमा उनको करियरको जग बसेको थियो ।
अमेरिकाको प्रसिद्ध पूर्वी र पश्चिम कोस्ट र्याप बिचको प्रतिद्वन्द्वताको विपरीत ह्युस्टनको हिप-हप संस्कृतिले छुट्टै पहिचान बनाएको छ ।
ह्युस्टनको हिप-हप संस्कृतिमा कफ सिरपको आफ्नै महत्त्व छ। यही कारणले ‘स्क्रू-अप’ रिमिक्सको सृजना भयो, जसमा कफ सिरपको प्रभावले बिस्तारै निद्रामा परेको छाप दिनको लागि धुनहरू अचानक सुस्त हुने इफेक्ट दिइन्छ ।
सुरज प्रायः आफ्नो कुराकानीमा उनी टेक्सास हिप-हपका महारथीहरू जस्तै डीजे स्क्रू, यूजीके, बिग बन्नी र प्रोजेक्ट प्याट सुनेर हुर्केको र त्यसैले उनको संगीत पनि उनीहरूलाई समर्पित रहेको बताउँछन् । सुरजको र्यापमा पनि उनीहरूको प्रभाव प्रस्ट देखिन्छ । तर २०२१ मा भारत फर्केपछि उनको शैली अझ विकसित भयो।
- र्यापलाई करियर कहिले बनाए ?
डिग्री पूरा गरेपछि सुरजले गोल्डम्यान स्याक्स जस्ता कम्पनीमा पनि काम गरे । तर उनलाई चाँडै थाहा भयो कि उनी अर्कै कामका लागि बनेका हुन्। यो उनको जीवनको त्यो समय थियो जब उनले र्याप संगीतलाई आफ्नो पूर्ण-समय क्यारियर बनाउने निर्णय गरे।
यसअघि उनी र्यापको सौखिन थिए तर उनले यसलाई करियरको रूपमा ग्रहण गरेका थिएनन् ।
सुरजका गीतहरूले उनको व्यक्तिगत जीवन जस्तै, आफ्नो महानगरीय पहिचान र आफ्नो भारतीय जराहरूसँग पुनः जडान गर्ने प्रयासलाई झल्काउँछ।
उनका गीतहरू प्रायः दक्षिण भारतका आम जनताको जीवन संघर्षमा आधारित हुन्छन्। गीतको लयसँगै कडा हिटिङ डायलग डेलिभरीले यसलाई पूर्णतया फरक स्वरूपमा प्रस्तुत गरेको छ । बिचमा तबला र सिन्थेसाइजरको बिटले उनको र्यापलाई फरक पहिचान दिन्छ।
बैंगलुरुको सडकमा छायाङ्कन गरिएका आफ्ना गीतहरूमा, सुरजले देशले सामना गरिरहेका समस्याहरूलाई आक्रमण गर्छन्। उनको ‘चेन्जेज’ नामको एउटा गीतको शब्द यस्तो छ, ‘हाम्रो देशमा समस्या छ किनभने युद्धको समयमा पनि हामी आपसमा विभाजित हुन्छौँ ।’
समृद्धि र विलासिताको चित्रण गर्ने मुख्यधारा र्यापभन्दा 'बिग डग्स' पूर्णतया फरक छ। मुख्यधाराको र्यापमा प्रयोग हुने सुन्दर र महँगो कारहरूको सट्टा, सुरजले आफ्नो र्याप गीतहरूमा सानो सहरका स्टन्टम्यानको जीवनलाई हाइलाइट गर्छन्।
यी स्टन्टम्यानहरू गरिब परिवारबाट आउँछन् जसले ठुलो जोखिम मोल्दै ‘मौत का कुँवा’ मा काम गर्छन्। यो स्टन्ट कला अब भारतमा लगभग लोप हुने कगारमा छ।
स्टन्टम्यानको बारेमा कुरा गर्दै सुरजले कम्प्लेक्स वेबसाइटलाई भने , ‘यी मानिसहरू हुन् जसले वास्तवमा जोखिम लिन्छन् ... उनीहरू वास्तविक खेलाडी हुन्।"
प्रशंसासँगै आलोचना पनि
एकातिर सुरजको आक्रामक शैलीको र्याप म्युजिकले उनका फ्यानबाट तारिफ बटुलिरहेको छ भने अर्कोतर्फ कतिपयले उनको आलोचना पनि गरिरहेका छन् ।
कतिपयले स्थानीय भाषामा र्याप गर्ने अन्य स्थानीय र्यापरका गीतहरू जत्तिकै भारतीय श्रोताका लागि उनका गीतहरू चाखलाग्दो नभएको बताउँछन् । सुरज स्थानीय भाषाको सट्टा अङ्ग्रेजीमा गाउँछन्, त्यसैले अंग्रेजी नबोल्ने मानिसहरूलाई आकर्षित गर्न नसक्ने हुनसक्छ।
कतिपयले पश्चिमा कलाकारको नक्कल गरेर आफ्नो भारतीय पहिचानलाई प्रतीकात्मक रूपमा मात्र प्रयोग गरेकोमा सुरजको आलोचना गर्छन् ।
अमेरिकाको न्यु जर्सीमा पीएचडीका विद्यार्थी आबिद हक भन्छन्, ‘उनको गीतले भारतीय र दक्षिण एसियालीहरूलाई पश्चिमी र्यापको तुलनामा गम्भीर खेलाडी बनाएको छ, जुन धेरै राम्रो छ।ְ’
भारतीय संगीतको वास्तविकतासँग मेल नखाने अंग्रेजी गीतका कारण उनलाई सुरज अमेरिकी र्यापरजस्तो लाग्ने उनी बताउँछन् ।
यो पनि भारतीय भाषाहरू र गैर-भारतीय भाषाहरू बिचको द्वन्द्व हो जुन सुरजका गीतहरूमा देखिन्छ।
यो कुरा सुरज आफैँ पनि मान्छन् । उनी भन्छन्, ‘म भारतीय र्यापर होइन, तर म भारतको र्यापर हुँ।’
- सफलता र चुनौती पनि
आफ्नो फरक शैलीका कारण सुरजले जातीय टिप्पणीको सामना पनि गर्नु परेको छ ।एकातिर सुरजको ड्रेसिङ स्टाइलका कारण केही मानिस उनलाई भारतीय मान्न तयार छैनन् भने अर्कोतर्फ केही भारतीय श्रोताले सोही कारणले सुरजको खिल्ली उडाउँछन् ।
तर यी बाहेक सुरजका गीतहरूमा पनि केही विशेष विशेषता छन् जसका कारण यति ठुलो सङ्ख्यामा फ्यानले मन पराउँछन् ।
फ्यानहरूका लागि, सुरजका गीतहरू पुरानो हिप-हप परम्पराको प्रतिबिम्बका साथै समसामयिक सामाजिक अवस्थाहरूमा टिप्पणी हुन्।
सुरजका र्याप गीतहरू र त्यसको प्रभावबारे दिल्लीका मनोचिकित्सक अर्नब घोष भन्छन्, ‘उनका गीतहरू भारतीय दर्शकका लागि मात्र होइनन्। उनको सङ्गीत जहाँबाट र जुनसुकै देशको पनि हुन सक्छ। त्यसैले मलाई यो मनपर्छ।’
दक्षिण एसियाली र्यापरका रूपमा, जनताको अपेक्षाभन्दा बाहिर आफ्नो नाम र स्थान बनाउनु सुरजका लागि सफलता र चुनौती दुवै हो।
यसबारे सुरजले पनि एकपटक भनेका थिए– तपाईं आफ्नो जरासँग जोडिएर रहनुहुन्छ। तर साथसाथै आफ्नो इमानदारितामा सम्झौता नगरी वातावरणसँग मिल्ने कि प्रवाहसँगै चल्ने भन्ने कुरामा भर पर्छ।