सोमबार, २४ मङ्सिर २०८१
ताजा लोकप्रिय

एभरेष्ट महिला भलिबल लिग : भारतकी शिल्पा सिन्धुले गण्डकीबाट खेल्ने

मङ्गलबार, ०१ असोज २०८१, १५ : ५०
मङ्गलबार, ०१ असोज २०८१

काठमाडौँ । भारतीय महिला राष्ट्रिय भलिबल टोलीकी महत्त्वपूर्ण खेलाडी शिल्पा सिन्धुले नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘वात्साल्या एभरेष्ट महिला भलिबल लिग’ मा गण्डकी थन्डर्सबाट खेल्ने भएकी छन् ।

गण्डकी डन्डर्सले शिल्पालाई टोलीमा अनुबन्ध गरेको हो । शिल्पा भारतीय टोलीकी प्रभावशाली खेलाडी हुन् । उनले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएकी छन् । नेपालमै आयोजना भएको पहिलो र दोस्रो काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा पनि उनी टोलीको महत्त्वपूर्ण सदस्य थिइन् ।

२२ वर्षीया मिडिल ब्लकर शिल्पाले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभीसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् । शिल्पाले भारतमा हुने दानिकुट्टी डेविड मेमोरियल एन्डोमेन्ट अवार्ड–२०२३ पनि हात पारेकी छन् ।

गण्डकीले शिल्पालाई आफ्नो दोस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । यसअघि गण्डकीले रुसकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो । प्रतियोगिता असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ । गण्डकीले अब आफ्नो तेस्रो तथा अन्तिम विदेशी खेलाडी छिट्टै सार्वजनिक गर्ने जानकारी टोलीका प्रबन्धक विकास खेतानले दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप