राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेइ नोभिकोभले शिष्टाचार भेट गरेका छन् ।
आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत नोभिकोभले शिष्टाचार भेट गरेका हुन् । भेटमा उनीहरूबिच द्विपक्षीय सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदानप्रदानलगायत विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
भेटमा अध्यक्ष दाहालले नेपाल–रुसबिच विगतदेखि नै सरकार र जनस्तरसम्म सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबिचको सहकार्यले आगामी दिनमा यस सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
उनले नेपालको सङ्घीय संसद्मा नेपाल–रुस संसदीयमैत्री समूह गठन गरिएको र यस समूहले दुई देशबिचको संसदीय सम्बन्ध तथा अनुभव आदानप्रदान गर्न सहज हुने बताए । नेपाली विद्यार्थीलाई रुसमा अध्ययनका लागि छात्रवृत्तिको सङ्ख्या वृद्धि गर्न आग्रह गर्नुका साथै अध्यक्ष दाहालले काठमाडौँ–मस्को सिधा हवाई सुविधा सञ्चालनका लागि पहल गर्न आग्रह गरे ।
नेपालको कृषि, प्रविधि र ऊर्जाका क्षेत्रमा लगानीका लागि रुसी लगानीकर्तालाई प्रोत्साहित गर्न आग्रह गर्दै अध्यक्ष दाहालले नेपालको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउन बढीभन्दा बढी रुसी नागरिकले नेपाल भ्रमण गर्ने गरी वातावरण बताउन पनि अनुरोध गरे । यस्तै, रुस–युक्रेन युद्धपछि नेपाली युवा विभिन्न माध्यमबाट रुसी सेनामा भर्ती हुने गरेको घटनाप्रति चासो राख्दै उनले नेपाल सरकारले रुसी सरकारलाई गरेको आग्रहसमेत स्मरण गराएका थिए । त्यसअवसरमा राजदूत नोभिकोभले दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउन आपसी हितका साथै सहयोग आदानप्रदान र सहकार्य बढाउँदै जानुपर्ने बताए ।
उनले नेपालमा पर्यटनको सम्भावनाबारे चर्चा गर्दै लुम्बिनीमा बौद्ध गुम्बा निर्माण गरिरहेको र उक्त परियोजना सम्पन्न भएपछि रुसका धार्मिक पर्यटकहरूको सङ्ख्या वृद्धि हुने विश्वास व्यक्त गरे । नेपालले जलविद्युत् उत्पादनबाट राम्रो आम्दानी गर्नसक्ने र यस क्षेत्रमा लगानी गर्न रुसका लगानीकर्ता इच्छुक रहेको राजदूत नोभिकोभको भनाइ थियो । उनले जलविद्युत् उत्पादन, हवाई सेवा विस्तार, अन्तरिक्षमा संयुक्त उडान, प्रविधिलगायत क्षेत्रमा रुसले नेपालमा काम गर्ने र यसका लागि लगानीको वातावरण बनाउन नेपाल सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए । यस्तै नेपाली विद्यार्थीहरूलाई रुसमा छात्रवृत्तिको व्यवस्था गरिएकाले हाल ४२ जनाले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको र केही समयमै छात्रवृत्तिको सङ्ख्या बढाएर दुई सयसम्म पुर्याउने योजना राजदूत नोभिकोभले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण