आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

विराट कोहलीलाई कप्तान नबनाउन आरसीबीलाई सञ्जय मांजरेकरको सुझाव

शुक्रबार, १६ कात्तिक २०८१, १० : ४६
शुक्रबार, १६ कात्तिक २०८१

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि अन्य क्लबले जस्तै रोयल च्यालेन्जर्स बेंगलुरु(आरसीबी) ले पनि आफूले रिटेन (आफैसँग राख्ने) र रिलिज (अन्य क्लबमा जान स्वतन्त्र छाडने) गर्ने खेलाडीको सूची सार्वजनिक गरिसकेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) क्लबहरुलाई रिटेन र रिलिज गर्ने खेलाडीहरुको सूची सार्वजनिक गर्न बिहीबारसम्मको समय दिएको थियो । सोही अनुरुप बेंगलुरुले विराट कोहली, रजत पाटिदार र यश दयाललाई रिटेन गरेको छ ।

विराट कोहलीलाई रिटेन गरेसँगै बेंगलुरुले उनलाई कप्तान बनाउन खोजेको अनुमान गरिएको छ । तर, भारतका एक पूर्वक्रिकेटरले विराट कोहलीलाई आगामी सिजनको आईपीएलमा कप्तान नबनाउन बेंगलुरुलाई सुझाव दिएका छन् ।

पूर्वक्रिकेटर संजय मांजरेकरले विराट कोहलीलाई कप्तान बनाए आगामी सिजन बेंगलुरुको प्रदर्शन खस्कने धारणा ब्यक्त गरेका छन् । ‘विराट कोहलीलाई कप्तान बनाउनु बेंगलुरुका लागि गलत निर्णय सावित हुनेछ । यस्तो स्थितिमा बेंगलुरुले विराटबाट उत्कृष्ट प्रदर्शनको आशा नगरे हुन्छ,’ मांजरेकरले भनेका छन् ।

मांजरेकरले विराटको काँधमा कप्तानको बोझ नथपी उनलाई स्वतन्त्र रुपमा खेल्न दिनु पर्ने धारणा ब्यक्त गरेका छन् । ‘बेंगलुरुले आगामी सिजनको आईपीएलमा विराटको क्रेजका पछाडि दौडनु हुँदैन । विराटको काँधमा कप्तानको जिम्मेबारी थप्दा उनले स्वभाविक प्रदर्शन गर्न सक्दैनन् । त्यसैले बेंगलुरु यसप्रति सचेत हुनु आवश्यक छ,’ उनले भनेका छन् ।

मांजरेकरले बेंगलुरुलाई विराटको यसअघिको प्रदर्शनलाई गहिरिएर हेर्न पनि सुझाव दिएका छन् । उनले भनेका छन्, ‘यसअघि पनि विराटले स्वतन्त्र रुपमा खेल्दा उत्कृष्ट ब्याटिङ गरेको तथ्याङ्क देखिन्छ । तर, कप्तानको जिम्मेबारी बोकेर क्रिजमा ओर्लँदा उनको प्रदर्शन निकै कमजोर हुने गरेको छ ।’

अघिल्लो वर्ष विराटले एक सय ५० को स्ट्राइक रेटमा ब्याटिङ गरेको र त्यसभन्दा अघि उनको स्ट्राइक रेट एक सय ३० भन्दा पनि कम रहेको तथ्याङ्क मांजरेकरले अगाडि सारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?