शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय
तेस्रो टेस्ट क्रिकेट

भारतविरुद्धको टेस्ट शृंखलामा न्युजिल्यान्डको ‘ह्वाइट वास’

आइतबार, १८ कात्तिक २०८१, १३ : ३०
आइतबार, १८ कात्तिक २०८१

काठमाडौँ । घरेलु टोली भारतविरुद्धको तीन टेस्टको क्रिकेट शृंखलामा भ्रमणकारी टोली न्युजिल्यान्डले ‘ह्वाइट वास’ गरेको छ । तेस्रो तथा अन्तिम टेस्टको तेस्रो दिन आइतबार न्युजिल्यान्डले भारतलाई २५ रनले हराएको हो ।

भारत आफ्नै घरेलु मैदानमा ह्वाइटवास भएको सन् १९९९–२००० पछि पहिलो पटक हो ।

जितसँगै न्युजिल्यान्डले तीन टेस्टको शृंखला ३–० ले नै आफ्नो पक्षमा पारेको छ । यसअघि खेलिएको पहिलो टेस्टमा न्युजिल्यान्ड आठ विकेटले विजयी भएको थियो । त्यसपछि दोस्रो टेस्टमा पनि भ्रमणकारी टोली न्युजिल्यान्डले भारतलाई एक सय १३ रनले हराएको थियो ।

तेस्रो टेस्टमा एक सय ४७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भारतीय टोली आफ्नो दोस्रो पालीमा २९.१ ओभरमै केवल एक सय २१ रन बनाउँदै अलआउट भयो । भारतका माथिल्लो क्रमका ब्याट्सम्यानहरुले निराशाजनक प्रदर्शन गर्दा भारत पराजित भएको हो ।

भारतका लागि पाँचौँ नम्बरमा क्रिज समाल्न आएका ब्याट्सम्यान ऋषभ पन्तले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै सर्वाधिक ६४ रन बनाए । उनले केवल ५७ बलको सामना गरी एक छक्का र नौवटा चौका पनि हिर्काएका थिए ।

वासिङ्टन सुन्दरले पनि १२ रन बनाए । कप्तान रोहित शर्मा ११ रन बनाउँदै आउट भए । भारतका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाल ६ तथा शुभमन गिल र विराट कोहलीले एक–एक रन बनाउँदै आउट भएका थिए ।

सरफराज खान पनि एक रनकै ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । रविन्द्र जडेजा पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् । किविज टोलीका बलर एजाज पटेल एक्लैले ६ विकेट लिए । उनले १४.१ ओभरमा एक मेडन राख्दै ५७ रन खर्चिए । ग्लेन फिलिप्सले पनि तीन विकेट हात पारे । म्याट हेनरीले एक विकेट लिए ।

त्यसअघि आफ्नो दोस्रो पालीमा न्युजिल्यान्डको टोली केवल एक सय ७४ रन बनाउँदै अलआउट भएको थियो । त्यसपछि घरेलु टोली भारतले दोस्रो पालीमा जितका लागि एक सय ४७ रनको सामान्य लक्ष्य पाएको थियो ।

दोस्रो पालीमा न्युजिल्यान्डका लागि विल योङ्ले ५१ रनको योगदान गरेका थिए । ग्लेन फिलिप्सले पनि २६ रन बनाएका थिए । ओपनर डेभोन कनवेले २२ रन बटुलेका थिए । ड्यारल मिचेलले पनि टोलीको खातामा २१ रन थपेका थिए ।

भारतीय टोलीका बलर रविन्द्र जडेजा एक्लैले पाँच विकेट लिएका थिए । उनले १३.५ ओभरमा तीन मेडन राख्दै केवल ५५ रन खर्चिएका थिए । रविचन्द्रन आश्विनले पनि तीन विकेट हात पारेका थिए । आकाश दीप र वासिङ्टन सुन्दरले पनि एक–एक विकेट लिएका थिए ।

त्यसअघि, भारतीय टोलीले आफ्नो पहिलो पालीमा दुई सय ६३ रन बनाएको थियो । पहिलो पालीमा भारतका लागि शुभमन गिलले ९० रनको योगदान गरेका थिए । उनले एक सय ४६ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काएका थिए ।

पहिलो पालीमा भारतका लागि ऋसभ पन्तले पनि ६० रनको योगदान गरे । उनले ५९ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । वासिङ्टन सुन्दरले अविजित ३८ रन बनाए । ओपनर यशस्वी जैसवालले ३० रन बटुलेका थिए ।

कप्तान रोहित शर्मा भने १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । विराट कोहली चार रनमै आउट भएका थिए । रविन्द्र जडेजाले १४ रन बटुलेका थिए । न्युजिल्यान्डका बलर एजाज पटेलले पाँच विकेट लिए । उनले २१.४ ओभरमा तीन मेडन राख्दै एक सय तीन रन खर्चिए । म्याट हेनरी, ग्लेन फिलिप्स र ईश सोढीले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि वानखेड स्टेडियममा टस जिती ब्याटिङको निर्णय लिएको न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा दुई सय ३५ रन बनाएको थियो । न्युजिल्यान्डका लागि पहिलो पालीमा विल योङले ७१ रनको योगदान गरेका थिए । उनले एक सय ३८ बलमा दुई छक्का र चार चौका पनि हिर्काए ।

पहिलो पालीमा न्युजिल्यान्डका लागि ड्यार मिचेलले पनि ८२ रनको योगदान गरे । उनले एक सय २९ बलको सामना गरी तीन छक्का र तीन चौका हिर्काए । कप्तानसमेत रहेका ओपनर टम लाथमले टोलीको खातामा २८ रन थपेका थिए ।

ग्लेन फिलिप्सले पनि १७ रन बनाएका थिए । पहिलो पालीमा न्युजिल्यान्डका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतीय टोलीका बलर रविन्द्र जडेजाले पाँच विकेट लिए । उनले २२ ओभरमा एक मेडन राख्दै ६५ रन खर्चिएका थिए । वासिङ्टन सुन्दरले पनि चार विकेट लिए । आकाश दीपले एक विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप