आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

वन्यजन्तु असुरक्षित भएको भन्दै काँक्रेविहार क्षेत्रमा पिकनिक गर्न प्रतिबन्ध

बिहीबार, २२ कात्तिक २०८१, १३ : २४
बिहीबार, २२ कात्तिक २०८१

 सुर्खेत । कर्णालीकै प्रमुख पर्यटकीय स्थल काँक्रेबिहारलाई घुमघाम र पिकनिक समेतका  लागि आकर्षक गन्तव्य मानिन्छ । घना जङ्गलको बिचमा रहेको काँक्रेविहारको संरचना र जङ्गलभित्र पिकनिक तथा ठुलो आवाजमा गीत बजाएर नाचगान गर्दै रमाउनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । जसका कारण वन्यजन्तु असुरक्षित बनेका छन् । 

वन क्षेत्रभित्र मान्छेको उपस्थिति बढेको र होहल्ला बढ्दा वन्यजन्तु असुरक्षित भएको भन्दै अहिले काँक्रेविहार क्षेत्रमा पिकनिक मनाउन प्रतिबन्ध गरिएको छ । डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार क्षेत्रभित्र पिकनिक पाटी तथा अन्य हो–हल्लाका कारण वन्यजन्तु तथा जैविक विविधतामा नकारात्मक असर परेको भन्दै प्रतिबन्ध लगाएको हो । 

निमित्त डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले उक्त क्षेत्रमा अहिले त्यस्ता गतिविधि गर्न पूर्ण रूपमा निषेध गरिएको बताए ।

यदि त्यस्ता गतिविधिहरू गरेको पाइएमा वन ऐन, ०७६ अनुसार कारबाही गरिने समेत उनको भनाइ छ । 

राजधानी वीरेन्द्रनगरको दक्षिणतर्फ धना जङ्गलको बिचमा ठिङ्ग उभिएको पुरातात्त्विक संरचना काँक्रेविहार कर्णालीकै प्रथम पर्यटकीय गन्तव्यका रूपमा समेत चिनिन्छ । 

यद्यपि पछिल्लो समय उक्त क्षेत्रमा मान्छेको आवत–जावत अस्वाभाविक रूपमा बढ्दै जाँदा वन्यजन्तुहरू भने असुरक्षित बनेका हुन् । ०५९ साल वैशाखमा काँक्रेबिहारलाई पहिलो संरक्षित वन क्षेत्रका रूपमा घोषणा गरिएको थियो ।

१७५.५ हेक्टर क्षेत्रफल रहेको काँक्रेविहार संरक्षित वन क्षेत्र प्रायः जरायोको वासस्थानका रूपमा रहेको छ । यहाँ केही वर्ष अघिसम्म ८० वटासम्म जरायो रहेको भनिन्थ्यो । तर पछिल्लो समय विभिन्न तथ्याङ्क अनुसार ४४ वटासम्म रहेको बताइन्छ । निमित्त वन अधिकृत श्रेष्ठले वन हेरालुको भनाइ अनुसार कम्तीमा ४० वटासम्म जरायो रहेको रातोपाटीलाई बताए । 

‘काँक्रेविहारमा मुख्य रूपमा पाइने भनेको जरायो हो,’ उनले भने, ‘पछिल्लो समय वन क्षेत्र वरिपरि बस्ती बसे । वन क्षेत्रभित्र बाटोहरू बनेका छन् । मान्छेको आवत–जावत बढ्न थाल्यो ।’ 

मानव–वन्यजन्तुको द्वन्द्व बढेकाले जनावरहरू असुरक्षित बनेको उनले बताए । जरायो बाहेक बँदेल, खरायो, मृग, स्याल लगायतका जनावरहरू समेत रहेका छन् । यस्तै मयुर, कालिज जस्ता चराचुरुङ्गी पनि काँक्रेबिहारभित्र देखिन्थे ।

वनभोज तथा ठुलो आवाजमा नाचगान गर्ने कार्यक्रम बढेसँगै जनावरहरू त्रसित भएर वन क्षेत्र बाहिर निस्कने गरेका छन् । पछिल्लो समय कतिपय वन्यजन्तुहरू देखिन छाडेका छन् । वन अधिकृत श्रेष्ठ पनि पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा कमी आएको बताउँछन् । 

केही वर्षअघि एउटा जरायो बुलबुले तालमा घाइते अवस्थामा फेला परेको थियो । स्थानीयले बालीनालीमा पसेको भन्दै ढुङ्गामुढा गरेर लखेटेका थिए । 

काँक्रेविहार क्षेत्रभित्रको उक्त जरायोलाई तालको बिचमा फसेको अवस्थामा उद्धार गरिएको थियो । उपचारको क्रममा दुई दिनपछि उक्त जरायो मर्‍यो ।

कतिपय जरायो चोरी सिकारी गर्नेको निशानामा परेका छन् । ०८० असारमा काँक्रेविहार संरक्षित क्षेत्रभित्रको जरायो मारेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।

वन क्षेत्रसँग जोडिएको नयाँ गाउँमा पासोमा पारी जरायो मारेको र मासु भागबन्डा गरिरहेको अवस्थामा सुशील चौधरी, आशाराम चौधरी, मिनबहादुर ओली, डम्बरबहादुर थारुलाई पक्राउ गरिएको थियो ।

वन अधिकृत श्रेष्ठ भन्छन्, ‘जङ्गलभित्र मान्छेको अस्वाभाविक उपस्थिति, होहल्ला बढ्दा जनावरहरू त्रसित भएर बाहिर निस्कन थाले । मान्छेको बासस्थान पनि वरिपरि बढेकाले मानव–वन्यजन्तुबिच द्वन्द्व बढेको छ ।’

संरक्षित वन क्षेत्रभित्र मानवको हस्तक्षेप बढेपछि कतिपय जनावर बाहिर निस्केर विचलित भएर पनि मर्ने गरेका छन् । वन्यजन्तु असुरक्षित हुनुको अर्को कारण संरक्षित क्षेत्र वरिपरि पर्खाल नहुनु पनि हो । 

वन अधिकृत श्रेष्ठ त्यहाँ सुरक्षा शाखा राखिएको बताउँछन् । त्यसका अलवा तीन जना वन हेरालु राख्नुका साथै अहिले नियमित गस्ती समेत हुने गरेको बताउँछन् ।

अहिलेसम्म ७ किलोमिटरमा कम्पाउन्ड वाल लगाइएको उनले बताए । करिब ११ करोड लगानीमा उक्त वाल लगाउने काम भएको हो । वन क्षेत्रमा गत आवमा दुई हजार बढी बिरुवा रोपिएको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप

छुटाउनुभयो कि ?