लामो फरम्याटमा अझ धेरै खेल खेल्नुपर्ने देखियो : कप्तान रोहित
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरको खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फरम्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन् । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक श्रृंखलामा खराब प्रदर्शन गरेको नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ ।
सो क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान रोहितले एकदिवसीयमा क्रिकेटमा नेपाली ब्याटर राम्रोसँग समालिन नसकेको उल्लेख गर्दै एकदिवसीय र दुई दिवसीय क्रिकेट खेलेमा सुधार हुने बताए । यी फरम्याटका क्रिकेट खेल्दा ब्याट्सम्यान परिपक्व हुने उनले विश्वास व्यक्त गरे ।
कप्तान रोहितले हारका बाबजुद टिमलाई सकारात्मक रूपमा अगाडि बढाउन टोलीका सबै सदस्यले सुधारका लागि राम्रो गरिरहेको उल्लेख गरे । आशा गरेजस्तो राम्रो नतिजा नआए पनि टोलीमा राम्रो बलिङ रहेको उनको भनाइ छ । उनले लिग–२ को तीन वटा श्रृंखलामा राम्रो नतिजा नआउँदा आगामी खेलमा चुनौती हुने बताए ।
कप्तान रोहितले ट्वान्टी–२० फरम्याट धेरै खेलेको उल्लेख गर्दै एउटा ब्याट्सम्यान भएपछि ५० ओभरमा पनि राम्रो गर्नुपर्ने धारणा राखे । अहिले टोलीले राम्रो गर्न नसके पनि आगामी खेलमा ध्यान दिने उनले बताए ।
कप्तान रोहितले क्यानडा र अमेरिकामा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको बताए । उनले क्यानडामा खेल्न केही असहज भएको बताए । तर अमेरिकामा टोली राम्रो आकारमा देखिए पनि ब्याटिङमा राम्रो गर्न चुकेको उनले उल्लेख गरे ।
कप्तान रोहितले नेपाल प्रिमियर लिग (एनपीएल) को यस संस्करणलाई लिएर उत्साहित रहेको बताए । सबै टोलीले तयारी गरिसकेको र यसपल्ट एनपीएल राम्रो हुने पनि उनले आशा व्यक्त गरे ।
नेपाली क्रिकेट टोलीको ब्याटिङ कन्सल्टेन्ट जगत टमटाले क्यानडाको कन्डिसनमा खेल्ने समस्या नै रहेको बताए । तर उनले अमेरिकामा पनि टोलीले राम्रो प्रयास गरे पनि नतिजा राम्रो आउन नसकेको उल्लेख गरे । अमेरिकामा पनि खेल्न राम्रो कन्डिसन नभए पनि एउटा ब्याट्सम्यान भएपछि सबै अवस्थामा खेल्न सक्नुपर्ने उनको धारणा थियो । उनले टोलीले सबै क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताए ।
घरेलु मैदानमा ५० ओभरमा नखेले पनि एउटा खेलाडीले राम्रो मानसिकताका साथ आफूलाई तयार गर्नुपर्ने बताए । घरेलु प्रतियोगितामा ५० ओभरका खेल भयो भने खेलाडी थप बलियो हुने उनले आशा गरे ।
उनले अबको २४ खेलमा राम्रो क्रिकेट खेल्दै नतिजा ल्याउने आशा व्यक्त गरे । नेपालले अमेरिकाको श्रृंखलामा एक खेलमा जित निकाल्दै दुई खेल गुमाएको थियो । स्कटल्याण्डसँग जित निकालेको नेपालको सोही टोलीविरुद्ध दोस्रो खेल भने वर्षाका कारण हुन सकेन । अमेरिकासँग भने दुवै खेल गुमाउन पुग्यो । लिग–२ को अंकतालिकामा नेपाल १२ खेलबाट ६ अंक बटुल्दै पुछारबाट दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माछापुच्छ्रे बैँकका एक सञ्चालकको राजीनामा स्वीकृत, दुई नियुक्त
-
बोपराको अर्धशतकसँगै चितवन राइनोजले कर्णाली याक्सलाई दियो १३१ रनको लक्ष्य
-
नेपाल प्रिमियर लिग क्रिकेटमा रवि बोपराले बनाए दोस्रो अर्धशतक
-
सिरियाको अर्को सहर पनि विद्रोहीको कब्जामा
-
सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन
-
राज्यको उपेक्षामा कर्णालीका ‘गेम चेञ्जर’ आयोजना !