भाषाको संरक्षण घरबाटै हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ
दमौली । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताएका छन् । तमु विद्यार्थी छोंज धींको आजदेखि दमौलीमा सुरु भएको बाह्रौँ महाधिवेशनको उद्घाटन गर्दै उनले भाषा लोप भए संस्कृति पनि लोप हुने भएकाले भाषा, संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताए ।
मन्त्री गुरुङले घरबाटै आफ्नो भाषामा बोल्ने संस्कृतिको विकास गर्नसकेमा भाषाको संरक्षणमा योगदान पुग्ने भन्दै छोराछोरीसँग बोल्दा आमाबाबुले मातृभाषामा बोल्नुपर्नेमा जोड दिए । सरकारका प्रवक्ता मन्त्री गुरुङले गुरुङ जातिको मात्र नभइ हरेक जातजातिको भाषा संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
उनले युवाहरू स्वदेशमै बसेर काम गर्नुपर्ने र त्यसका लागि आत्मनिर्भर बन्ने बाटोतर्फ अगाडि बढ्नुपर्ने धारणा राखे । “देशमै बसेर केही गर्न सकिन्छ भन्ने भावना बोकेर अगाडि बढ्न युवालाई मेरो आग्रह छ । त्यसका लागि प्राविधिक शिक्षा पढ्न आवश्यकता छ, जसले आफ्नो खुट्टामा उभिन सघाउ पुग्नेछ”, मन्त्री गुरुङले भने ।
एकअर्को प्रसङ्गमा उनले नेपालको निजामति, सुरक्षा निकाय, बैङ्किङलगायत सबै क्षेत्रमा गुरुङ समुदाय पछाडि परेको र यसमा लाहुरे संस्कृति बाधक रहेको जिकिर गरे । मन्त्री गुरुङको भनाइ थियो,“लाहुरे संस्कृतिले राज्यका निकायमा प्रतिनिधित्व कमजोर बन्यो । यस विषयमा गम्भीर भएर सोचौँ र गुरुङ जातिका सङ्घसंस्थाबाट आएका व्यक्ति नेपालको राष्ट्रिय राजनीतिमा आउनुपर्छ । यी सङ्घसंस्था हाम्रा शक्तिकेन्द्र हुन्, यहाँबाट उत्पादन भएका हरेक व्यक्ति नेपालको राजनीतिमा आउन सक्नुपर्छ । तमु विद्यार्थी सङ्गठनमा रहेका युवाले देशको प्रधानमन्त्री, मन्त्री, सचिव बन्ने सपना देख्नुपर्छ ।”
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले भाषा, संस्कृति संरक्षणका लागि एकजुट हुनुपर्ने बताए ।
तमु युवा छोंज धींका महासचिव मनराज गुरुङ, अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रवीण श्रेष्ठ, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, अखिल क्रान्तिकारीका उपमहासचिव सुदिन पौडेलले देशमै भविष्य देख्न गुरुङ युवाहरुलाई आग्रह गरे ।
तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले छोंज धींको नयाँ नेतृत्व चयन गर्नेछ । राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज तमुले महाधिवेशनमा एक हजार पाँच सय जनाको सहभागिता रहेको जानकारी दिए ।
तमु विद्यार्थी छोंज धीं गुरुङ विद्यार्थीको हकहित तथा अधिकार संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यसहित विसं २०५२ साल माघ २६ गते स्थापना भएको हो ।
विसं २०५२ साल माघ २६ र २७ गते बुटवलमा प्रथम महाधिवेशन, विसं २०५४ सालमा काठमाडौँमा दोस्रो सम्मेलन, विसं २०५७ मा चितवनमा तेस्रो सम्मेलन, विसं २०६० सालमा धरानमा चौथो सम्मेलन, विसं २०६३ सालमा पोखरामा पाचौँ सम्मेलन, विसं २०६६ सालमा पोखरामा छैटौँ सम्मेलन, विसं २०६८ सालमा बुटवलमा सातौँ, विसं २०७० मा काठमाडौँमा आठौँ, विसं २०७५ मा काठमाडौँमा नवौँ, विसं २०७९ मा काठमाडौँमा दशौँ सम्मेलन सम्पन्न भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण